युएस बंगला जहाज दुर्घटनामा पाईलट मुख्य दोषी
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औंल्याएको छ ।
दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषद्मा पेश गर्नेछन् ।
जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रूपमा भने उल्लेख गरेको छैन ।
आयोगका एक सदस्यका अनुसार छलफलमा धेरै विषयहरू आएको र विस्तृत अध्ययन गरिनेछ । ती सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको छ ।
उडान नम्बर यूबीजी २११ नम्बर जहाज दुर्घटनामा परी चालक दलका ४ जना सदस्यसहित ५० जनाको मृत्यु भएको थियो । बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो ।
जहाज अतवरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । मन्त्रिपरिषद्मा पेश नभएसम्म आयोगका कुनै अधिकारीहरूले यस विषयमा बोल्न भने तयार भएनन् ।
दुर्घटनाको दिनमा पाइलटको मात्रै गल्ती भनिए पनि प्रारम्भिक छानविनमा एटीसीले पनि सही निर्णय लिन नसकेको निष्कर्ष निकालिएको आयोगका एक सदस्यले जानकारी दिएका छन ।
विमानस्थलको एयर ट्राफिकको कन्ट्रोलरको जिम्मेवारीमा रहेका कन्ट्रोलरले पाइलटलाई जहाजलाई साउथ ०२ बाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले उत्तर २० तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेका थिए ।
पाइलटले उक्त कुरा भनेपछि जहाजमा केही समस्या हो भन्दा ‘आई एम ओके’ भनेको भन्दै विमानस्थलका अधिकारीहरूले दुर्घटना भएको दिन अडियो सार्वजनिक गरेका थिए ।
“छानविनको क्रममा पाइलटले अटेर गरेपछि जहाज ‘डाइभर्ट’ गराउनु पर्ने थियो अथवा सोही रुटमा फर्किएपछि मात्रै अवतरणको अनुमति दिनुपर्ने थियो,” आयोगका एक सदस्यले भने । अहिले नै अन्तिम निष्कर्ष नभएकोले अब आयोगले ‘फ्लाइट डाटा रेर्कर्ड’ (एफडीआर) र ककपिट भ्वाइस रेकर्ड (सीभीआर)को अध्ययनपछि अन्तिम निष्कर्ष निकालिने छ ।
कन्ट्रोलरले जहाजमा समस्या भएको हो ? भनेर पटक–पटक पाइलटलाई सोधेको तर, ओके भन्ने जवाफ आएको तर्क एटीसीले गर्दै आएको छ् । जहाज उत्तर गएर ल्यान्ड गर्नुपर्नेमा उत्तरपूर्व गएर तीन फन्को लगाएपछि पुनः कन्ट्रोलर किन अवतरण नगरेको भन्ने प्रश्न पाइलटलाई गरेको तर पाइलटले ‘म ठिक छु, ल्यान्ड गर्छु’ भनेका थिए ।
ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ नमिलेको कन्ट्रोलरले थाहा पाइसकेका थिए । त्यती थाहा पाएपछि जहाज डाइभर्ट गराउनु उपयुक्त हुनेमा अवतरणको अनुमति कन्ट्रोलरले दिनु गल्ति भएको आयोगका ति सदस्यको बुझाइ छ । कन्ट्रोलरले ल्याण्ड गर्ने बेला पाइलटले रेसपोन्स नआएको त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाहिनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आएको थियो ।
जहाज ल्यान्ड गर्दा रनवेमै गरेको भएपनि त्यसलगत्तै रन वे छाडेको थियो । रनवेको बाहिरपट्टी ५० मिटर पर रहेको खाल्डोमा परेपछि आगो लागेको थियो । जहाजको पूरै भागमा क्षति पुगेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा जहाजको अवतरण दक्षिणबाटै हुने गरेको तर पाइलटले उत्तरतर्फ लगेको तर पनि जहाजमा कुनै समस्या नभएको कन्ट्रोलरलाई जानकारी गराएकोले मुख्य दोषी पाइलट नै भएको प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ ।
आयोगका अध्यक्ष यज्ञप्रसाद गौतमले भने प्रतिवेदनको विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । आयोगले अन्तिम प्रतिवेदन तयार गर्न कम्तिमा पाँच महिना लगाउने छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्