सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यसबर्षको विजयादशमी हर्षोल्लासका साथ मनाईयो

dashain-tika-thali

सदाझैँ यसबर्ष पनि विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाई हर्षोल्लासका साथ मनाईएको छ । यस बर्ष टिका ग्रहणको सबैभन्दा उत्तम साईत ८ बजेर ४५ मिनेटमा रहेको थियो । विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत नै खोज्नु पर्ने भने थिएन ।

विजयादशमीको दिन मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र असुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैंको सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा विजयादशमीकै दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास रहेको छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा विजयादशमीकै दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने चलन रहिआएको छ ।

गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गाको टीका, जमरा लगाई उहाँहरुबाट यश, ऐश्वर्य एवं दीर्घायु प्राप्त होस भनी आशीर्वाद लिने गरिन्छ । विजयादशमीको दिन टिका लगाउन नभ्याएकाहरु कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनकोमा टीका र आशीर्वाद थाप्न हिँड्ने चलन छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्