सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विदेशमा कुन देशमा कति नेपाली कोमामा छन त ?

वैदेशिक रोजगारीका क्रममा घाइते भएर कोमामा रहेका नागरिकलाई स्वदेशमै ल्याएर उपचार गर्न सरकारले पहल सुरु गरेको छ । विदेशी भूमिमा मृत्युसँग लडिरहेका उनीहरूलाई ठूला सरकारी अस्पतालमा २० बेड आइसियू व्यवस्था गरेर नेपाल ल्याउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता बिरामी कामदारको उपचारका लागि मात्रै लक्षित गरेर ठूला सरकारी अस्पतालमा कम्तीमा २० बेड र मेडिकल कलेजमा १ बेड आइसियू अनिवार्य गर्न लागेको जानकारी दियो । मन्त्रालयका अनुसार पहिलो चरणमा वीर र शिक्षण अस्पतालमा २० बेड आइसियू थप्ने तयारी भएको छ ।

स्वास्थ्यका एक उच्च अधिकारीले भने–‘कोमामा रहेका नागरिक ल्याउने तयारी भइरहेको छ । तर, उनीहरूको उपचार गर्न आइसियू बेड छैन । त्यसैले हामीले वीर र शिक्षण अस्पतालमा छुट्टै २० बेड आइसियू सञ्चालनमा ल्याउने तयारी गरेका हौँ ।’

उनका अनुसार यी बेड वैदेशिक रोजगारीमा घाइते भएका कामदारको उपचारका लागि प्रयोग हुने भए पनि खाली रहेको अवस्थामा अन्य बिरामीले पनि उपभोग गर्न पाउनेछन् ।

सरकारले विदेशमा कोमामा रहेका नागरिकलाई स्वदेश ल्याएर परिवारको जिम्मा लगाउने योजना बनाएको छ । तर, बिरामीका परिवारले भने नेपाल फर्काएर सरकारले नै दायित्व लिनुपर्ने माग गरेका छन् । कतारका लागि श्रम सहचारीसमेत भइसकेकी गिरजा शर्मा पनि बिदेशी कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर व्यवस्थापन गर्न सजिलो नभएको बताउँछिन् ।

पहिलो त नेपालमा सुविधा सम्पन्न पूर्वाधार नै नभएको र दोस्रो उनीहरुको दैनिक स्याहार सहज नभएको उनले बताइन् । सरकारले जिम्मा नलिए उनीहरुको जीवन झन् जटिल हुने उनको भनाई छ ।

उनले भनिन्–‘उनीहरुको उपचार, खाना, सरसफाइ, रेखदेख लगायतको जिम्मेवारी राज्यले नै लिने गरी स्वदेश फर्काउनुपर्ने हुन्छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई मात्रै आर्थिक भार पार्नेभन्दा सरकारले नै जिम्मा लिँदा उपयुक्त हुन सक्छ ।’ कोमामा रहेका बाहेक बिदेशमा रहेका गम्भीर प्रकारका बिरामीको तथ्यांक नै छैन ।

विदेशी कोमामा १८ नेपाली रहेको तथ्यांक परराष्ट्र मन्त्रालयसँग छ । तर, अन्य गम्भीर प्रकृतिका बिरामीको तथ्यांक एकिन छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दूतावासहरूमा पत्र पठाएर सबै गम्भीर प्रकृतिका बिरामीको तथ्यांक पठाउन आग्रह गरिएको जनाएको छ ।

हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा कोमामा रहेका लगायत गम्भीर प्रकृतिका कामदारको उद्धारसम्बन्धी निर्देशिका नै छैन । बल्ल सरकारले त्यस्तो निर्देशिका बनाउने तयारी सुरु गरेको छ । गत बैशाखमा बसेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले कोमामा रहेका नेपाली कामदार फिर्ता ल्याउने विषय उठान गरेको थियो ।

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा घाइते भएर १८ नेपाली कामदार कोमामा छन् । सम्बन्धित देशमै उनीहरूको उपचार भइरहेको छ । रोजगारदाता कम्पनीले आफ्ना नागरिक लैजान पटक–पटक ताकेता गरेपछि सरकारले ल्याउने तयारी थालेको हो । तर, कहिले ल्याउने यकिन भने छैन ।

कुन देशमा कति नेपाली छन् कोमामा ?
साउदी अरब (रियाद)
–चण्डेश्वर विन मुखिया, धनुषा
–प्रकाश गुरुङ, धनुषा
–बाटुली सुनुवार, धनुषा
–धर्मनाथ पासवान, सिरहा

साउदी अरेबिया (जेद्दा)
–डोमा यादव (ठेगाना नखुलेको)

कतार
–बिन्दे मुखिया विन, धनुषा
–भक्तबहादुर रास्कोटी मगर, दाङ
–अनिलकुमार चौधरी, सप्तरी
–भरत राम लावड, बैतडी
–सन्तोषकुमार यादव, धनुषा
–ललित बुढा, रुकुम
–पूर्णबहादुर नेपाली सार्की, पाल्पा
–वीरबहादुर मगर, पाल्पा
–श्रीबहादुर नेम्वाङ, झापा

संयुक्त अरब इमिरेट्स
–कुमार फकामी पुन, पर्वत

बहराईन
–दीपक कार्की, ओखलढुंगा

कुवेत
–भगीरथ चापागाईं, नवलपरासी
–नितेशकुमार झा, सर्लाही

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS