सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डले फायर खोल्दा उपेन्द्र यादव अलमलमा

केपी ओलीलाई हटाएर मधेसी दलको समेत समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले बुधबार साँझ बालुवाटारबाट संविधान संशोधनको रोडम्याप सार्वजनिक गरेका छन । प्रचण्डको यो रोडम्यापमा मधेसी मोर्चाका नेताहरुको प्रतिक्रिया आएको छैन । विहीबार बसेको संघीय गठबन्धनको बैठक समेत प्रचण्डको प्रस्तावमाथि लगभग मौन देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अगाडि सारेको संविधान संशोधनको रोडम्याप यस्तो छः

१. नागरिकताः यसबारे मधेसी मोर्चाले मागे अनुसार अन्तरिम संविधानमा रहेको प्रावधानलाई नै नयाँ संविधानमा राख्ने गरी संशोधन गर्ने ।

२. भाषाः सरकारले भाषा आयोग बनाएको छ । त्यसले दिने सुझावलाई संविधानको अनुसूचीमा राख्ने गरी मधेसी दलहरुसँग सहमति गर्ने

३. राष्ट्रिय सभाः यसमा प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधि रहने संवैधानिक व्यवस्थालाई संधोधन गरेर केही संख्या बराबरीका आधारमा र केही जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व हुने व्यवस्था गर्ने ।

४. सीमांकनः नेपाली कांग्रेस र एमालेले यसअघि सार्वजनिक गरेको सात प्रदेशको खाकाअनुसार अघि बढ्ने र सोही अनुसार सात प्रदेश भित्रै सहमति गर्ने ।

५. थप व्यवस्थाः माथि व्यवस्था गरिएका चारवटा संशोधनबाट पनि थारु, लिम्बुवान र मधेसीहरुलाई चित्त नबुझे अधिकार सम्पन्न संघीय आयोग गठन गर्ने । त्यो आयोगले सात प्रदेशलाई घटाउन वा बढाउन समेत सक्ने । साथै प्रदेशहरुको सीमांकन समेत फेर्न सक्ने अधिकार संघीय आयोगलाई दिने ।

र, त्यस्तो आयोगले कम्तिमा ४÷५ वर्षपछि बुझाउने प्रतिवेदनका आधारमा प्रदेशको संख्या फेरबदल गर्ने । त्यसो गर्दा मधेसमा थप प्रदेश पनि बनाउन सकिने वा लिम्बुवानको अलग्गै प्रदेश बनाउन पनि सकिने । थारुले पनि बेग्लै प्रदेश पाउन सक्ने संवैधानिक व्यवस्था गर्ने ।

prachanda-and-madheshi-morcha

प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको माथि उल्लेखित यो रोडम्यापमा कांग्रेस र एमाले दुबै दल सहमतिको नजिक रहेको र मधेसी दलले पनि यसलाई मान्ने विश्वास व्यक्त गरेका छन । तर, मोर्चाले यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने माग गर्दै आए पनि अहिलेसम्म आफ्नो रोडम्याप सार्वजनिक गर्न सकेको गरेको छैन । यो अवस्थामा प्रधानमन्त्रीले सरकारका तर्फबाट ‘फायर’ खुल्ला गरेका छन् । अब यसको जवाफ दिने पालो मधेसी मोर्चाकै हो ।

सीमांकन र राज्य पुनसंरचनाको खाका के हो भन्नेबारेमा चुइँक्क नबोलेकाले मधेसी दलहरु सहमतिमा आउँछन् कि आन्दोलनमा जान्छन् भन्नेमा अन्योल र दोधार देखिएको छ । मधेसी दलले छठपछी आन्दोलनमा जाने घोषणा गरिसकेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्