सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाले झन बलियो चीन, चिनियाँ युगको प्रारम्भ

अहिले विश्वलाई आक्रान्त पारिरहेको कोरोना भाइरससँग कसरी लड्ने भन्ने ज्ञान आजको मानव जातिसँग छैन। त्यसैले पृथ्वीको ठुलो जनसङ्ख्या यसको चपेटामा पर्ने चिन्ता व्याप्त छ ।

मानिसलाई अहिले सेल्फ क्वारेन्टाइन, आइसोलेशन, पुरै सहर लक डाउन जस्ता शब्द अनौठा लागिरहेका छन् । यो एक अभुतपुर्व स्मृति बन्ने देखिँदै छ ।

अहिले हामी जे गरिरहेका छौँ त्यो कुनै पूर्वजको मार्ग निर्देशन बिना नै भइरहेको छ । अनि यो बेला विश्व शक्ति सन्तुलन कुन अवस्थामा रहेछ भन्ने समेत नयाँ तथ्य फेला परेको छ ।

विश्व एकातिर कोरोनासँग कसरी जुध्ने भन्ने चिन्तामा छ भने केही अर्थशास्त्रीहरु यो ‘२१ औँ शताब्दीको पहिलो र सबैभन्दा ठुलो विश्वव्यापी सङ्कटको सामना गरिसकेपछि विश्वले चीनमाथिको आफ्नो निर्भरताका आधारभूत आधारहरूबारे पुनर्विचार गर्नुपर्दछ ।’

यो त्यसै भनेको छैन किनकि चिनियाँलाई हेप्ने, चीनको सधैँ खिसीट्युरी गर्ने र मानव अधिकारको न्यूनतम मान्यताको समेत ख्याल नगर्ने जङ्गली र असभ्यहरूको देश भन्ने अमेरिकीहरू अहिले महसुस गरिरहेका छन् कि वास्तव मै ती सबै आरोप र अपहेलनका बवजुध चीनले के गरिसकेको रहेछ ।

China

मानव स्वास्थ्य देखभालका सबैभन्दा आधारभूत उत्पादन र औषधी जस्तैस् फेस मास्कदेखि फार्मास्यूटिकल औषधिहरू पेनिसिलिन र आईबुप्रोफेन समेतमा अमेरिका कसरी चीनमा भर परेको रहेछ भन्ने प्रमाणित भएको छ । हुन पनि तथ्यले के देखाएको छ भने अमेरिकामा प्रयोग हुने आधा जति एन्टीबायोटिक र लगभग पुरै आईबुप्रोफेन चीनले आपूर्ति गर्दै आइरहेको थियो ।

आफूलाई चीनका अनुभवी पर्यवेक्षक भनी दाबी गर्नेहरू पनि अहिले कसरी चित खाइरहेका छन् कि चीनको आर्थिक वृद्धि सुस्त भएको छ भन्ने उनीहरूको रिडिंग असत्य साबित बन्ने देखिंदैछ। विगतको एक सन्तान नीतिको कारण चीनमा काम गर्न सक्ने उमेरको जनसङ्ख्या कम र अशक्तको सङ्ख्या बढ्दै छ भनेर गरेका विश्लेषण सही त हुन् तर त्यो जनसङ्ख्यालाई कसरी उत्पादनमा जोडी राख्ने भन्ने चीनको नीतिबारे भने उनीहरू बेखबर छन् भन्ने देखिन्छ ।

चीनको कानुनी प्रणाली र तथ्याङ्कहरू नै अविश्वसनीय छन् भन्ने अर्को आरोप छ । त्यसबाहेक चीनको सार्वजनिक स्वास्थ्य सेवा सुस्त, असक्षम भन्ने आरोप र पश्चिमेली विश्वास देखिन्थ्यो यो पनि गलत प्रमाणित भएको छ ।

वास्तवमा चीनको यो रोग आफैमा एक अवसर बनेको छ । उसले विश्वव्यापीताको नयाँ अवसर प्राप्त गरेको छ । आफ्ना चुनावी भाषणमा चीनको सस्तो सामानले आफूहरूलाई गाह्रो र्पयो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई अहिले उनैलाई बोझिलो बन्ने देखिएको छ । किनकि अब अमेरिका चीनको सस्तो बस्तु समेत निकै सोचेर मात्र किन्नुपर्ने गरी आर्थिक रूपमा थला पर्ने सम्भावनालाई केही अर्थशास्त्रीले महत्वका साथ सार्वजनिक गर्न थालेका छन् ।

विश्वव्यापी आपूर्ति शृङ्खला (ग्लोबल सप्लाई चेन) मार्फत लागतलाई सधैँ घटाउने उद्देश्य राखेको देखिन्छ । तर के त्यो अब सम्भव छ ? यो प्रश्न यसकारण गरिँदै छ कि अरू देश पूराका पुरा शक्ति एकीकृत गरेर कोरोना विरुद्ध लडिरहेको बेला चीनले आफ्ना फ्याक्ट्रीहरू सञ्चालनमा ल्याइसकेको छ । उसले उत्पादन सुरु गरिसकेको छ । र, विश्वलाई आपूर्ति गर्न उ तम्तयार रहने देखिन्छ ।

अन्ततः चीनले फेरी एक पटक उ माथि भइरहेका शृङ्खलाबद्ध आक्रमणमा विजय प्राप्त गरेको छ । अमेरिकाले गरेको व्यापार युद्धमा उसलाई घुँडा टेकाएपछि चिनियाँले फेरी अर्को युद्ध जितेका हुन् । चिनियाँहरूकै शब्दमा भन्दा ‘अमेरिका द्वारा गरिएको जैविक आक्रमण’को उनीहरूले ‘जनयुद्ध’ मार्फत जवाफ दिएका छन् । अब चीनको युगको सुरुवात भएको छ । कोरोनाले युग परिवर्तन गरिदिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्