यौन शक्ति बढाउन लाटोकोसेरोको तस्करी
लाटोकोसेरो किसानलाई गुनकारी पन्छी हो । यसले अन्नबाली खाएर दुःख दिने मुसाको संख्या नियन्त्रण गरी गुन लगाउँदै आएको छ । पर्यावरण सन्तुलनमा राख्न पनि महत्वपूर्ण योगदान रहेको विज्ञ बताउँछन् । तर, यसको संरक्षणको साटो कतिपयले तस्करी गर्दै आएका छन् ।
संरक्षणकर्मी राजु आचार्यका अनुसार नेपालबाट भारत, चीन, मध्यपूर्वी एसियासहित विभिन्न देशमा लाटोकोसेरो लैजाने गरेको पाइएको छ । तीन दशकदेखि संरक्षण तथा अनुसन्धानमा सक्रिय आचार्य भन्छन्–‘वर्षमा कम्तीमा २ हजार लाटोकोसेरोको अवैध कारोबार हुने अनुमान छ ।’
क्यान्सर निको हुने, भियाग्रा बराबरको औषधि बन्ने ‘विश्वास’ले अवैध कारोबार हुँदै आएको जनाइएको छ । विशेषगरी चीनमा यस्ता ‘अन्धविश्वास’ देखिएको अध्ययनले देखाउँछ । लाटोकोसेरोका विभिन्न अंगबाट आयुर्वेदिक औषधिसमेत बन्ने मान्यता छ ।
आचार्यका अनुसार सबैभन्दा बढी चीन र भारतीय बजारमा कारोबार भए पनि भियतनामसम्म पनि पुग्ने गरेको छ । भारतमा मुख्यतः तान्त्रिकले प्रयोग गर्छन् । लक्ष्मी खुसी हुने मान्यताले दिल्लीमा मात्रै लक्ष्मीपूजामा १ हजार ओटाको बलि दिने गरेको जनाइएको छ ।
जानकारका अनुसार तस्करले लाटोकोसेरोको मात्रै कारोबार गर्दैनन् । वन्यजन्तु तस्करीमा संलग्नहरू नै यो पन्छीको अवैध कारोबारमा लागेको अध्ययनले देखाएको आचार्यको भनाइ छ ।
आचार्य भन्छन्–‘तस्करहरूले मुख्यतः १४ वटा बोर्डर प्वाइन्ट र ३२ वटा रुट प्रयोग गरेको देखिन्छ । तल्लो तहमा गरिबहरू प्रलोभनमा परेको देखिएको छ । तर, गुँडबाट लाटोकोसेरो झिक्नेहरूले पाँच प्रतिशत पनि रकम पाउँदैनन् ।’ गाउँलेले ५ हजारदेखि १० हजारसम्म पाउने देखिएको उनको भनाइ छ । विगतमा ५० हजार रुपैयाँदेखि लाखौं कमाउने आशामा यसको अवैध ओसारपसार गरेको घटना देखिएका थिए ।
सुरुमा स्थानीयवासीले नै गुँडबाट लाटोकोसेरो झिकेर ल्याउँछन् । सदरमुकाम वा जिल्ला पु¥याउँछन् । त्यहाँबाट मुख्य सहरसम्म पु¥याइन्छ । पोखरा, विराटनगर, धनगढी, काठमाडौंजस्ता सहरबाट तस्करले अवैध व्यापार गर्छन् । तस्करीमा संलग्न व्यक्तिभन्दा अबैध रूपमा पाल्ने, एक ठाउँबाट अर्कोमा ओसार्नेहरू पक्राउ पर्ने गरेको जनाइएको छ ।
आचार्य भन्छन्–‘सात–आठ वर्षअघि पश्चिम नेपालमा व्यापक समस्या थियो ।’ तर, प्रहरी र वन कार्यालयको सक्रियताले खुला रूपमा लाटोकोसेरो लगायत पन्छी लिएर हिँड्नेहरू घटेको उनी सुनाउँछन् । लाटोकोसेरो पक्रने क्रममा सन् २०१० मा दोलखामा भएको दुर्घटनाको प्रसंग उनी यसरी सुनाउँछन्, ‘गुँडबाट लाटोकोसेरो झिक्न जाँदा भीरबाट लडेर तीन महिना अस्पताल बस्नुपरेको थियो। ’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतो एक वर्षयता लाटोकोसेरोमै अप्रेसन नगरिएको बताउँछन् । प्रवक्ता महतो भन्छन–‘म आएको करिब वर्षदिन भयो । लाटोकोसेरोमै अप्रेसन भएको छैन । विगतमा यसमै अप्रेसन भएका होलान ।’ कुनै पनि प्रकारका अवैध कारोबार गरेको भेटिए कानुनअनुसार दण्डित गरिने महतोको भनाइ छ । उनका अनुसार वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐनलगायत छन् ।
उनका अनुसार एक देश र अर्को देशको व्यापार जोडिए संकटापन्नसम्बन्धी ऐन लागू हुन्छ । वन र राष्ट्रिय निकुन्ज कार्यालयबाट आखेटोपहारहरूका मुद्दा चल्छन् । उनी भन्छन्–‘कुन ठाउँबाट पक्राउ गरिएको हो ? आरक्षित क्षेत्रतिरका मुद्दा नेपाली सेनाले हेर्छ । आरक्षण बाहिरका ठाउँमा डिभिजन वन कार्यालयहरूले हेर्दै आएका छन् ।’
आचार्यका अनुसार विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । २३ प्रकारका नेपालमा छन् । यिनीहरूको मरेपछि मूल्य हुँदैन । त्यसैले जिउँदै समाउने चलन छ । अन्धविश्वास र प्रलोभनमा परी अबैध कारोबार गर्नेहरूका कारण पन्छीहरू जोखिममा परेको उनी बताउँछन् । काठमाडौंबाट बेलायत लैजान लागेको अवस्थामा सन् १९७० तिर लाटोकोसेरो समातिएको थियो । यसले वर्षौंदेखि लाटोकोसेरोका अवैध व्यापार हुँदै आएको प्रष्ट्याएको उनको ठम्याइ छ ।
वातावरणको सूचकका रूपमा हेरिन्छ लाटोकोसेरो । जहाँ यी पन्छी हुन्छन् त्यस क्षेत्रलाई स्वस्थ मानिन्छ । उक्त क्षेत्रमा सबै वातावरणीय तत्वको अन्तक्रिया भइरहेको भन्ने बुझिन्छ ।
किन हुन्छ लाटोकोसेरोको अवैध व्यापार ?
भारतीय लेखक अबरार अहमदले लामो अनुसन्धानपछि लेखेको पुस्तकमा लाटोकोसेरो तस्करीको चर्चा गरिएको छ । लाटोकोसेरोको हड्डीको लेप लगाउँदा महिलामा लाग्ने थुनेलो रोग निको हुन्छ भन्ने विश्वास छ । हड्डीको माला लगाउँदा मसानघाटमा तर्साउँदैन भनिन्छ । लाटोकोसेरो घरमा झुन्ड्याउँदा भूतप्रेत छिर्दैन भन्ने मान्यता छ ।
पोखराको मुस्ताङचोकनजिकै २०७० सालमा झारफुकका लागि तान्त्रिकले प्रयोग गरेको भेटेको पनि आचार्यले उल्लेख गरेका छन् । नेपालमा अझै तान्त्रिकहरूले लाटोकोसेरोको प्रयोग गरिरहेको अनुमान आचार्यको छ । भारतमा उक्त संख्या ठूलो रहेको जनाइएको छ ।
अबरारले लाटोकोसेरो धनगढी, नेपालगन्जको बाटोबाट भारत पु¥याउने गरेको देखेको उल्लेख गरेका छन् । भारतीयहरूले स्थानीयवासीलाई प्रयोग गरेर पश्चिम नेपालका सिमानासम्म पु¥याउन लगाएको दाबी उनले गरेका छन् ।
चीनमा लाटोकोसेरो विभिन्न प्रयोजनका लागि प्रयोग हुने गरेको उनले बताएका छन् । यौनबद्र्धक औषधि बनाउन, दमको औषधिका रूपमा प्रयोग गर्न, मरेपछि घरबाट भूतप्रेत हटाउन प्रयोग गरिन्छ । लाटोकोसेरोको प्वाँख खल्तीमा राख्दा सेनाहरूले युद्ध जितिन्छ भन्ने अन्धविश्वास छ । लाटोकोसेरोलाई जिउँदै पानीको भाँडोमा एक साता डुबाएर त्यही पानी पिए सम्पूर्ण रोग हराउँछ भन्ने मान्यता रहेको जनाइएको छ । लाटोकोसेरो राखे व्यापार बढ्ने विश्वासमा होटलहरूले समेत लाटोकोसेरो राख्ने गरेको देखिएको छ ।
करिब १९८२ तिर पनि भारतको बाटो हुँदै अमेरिका, युके, स्वीट्जरल्यान्डतिर लैजाने गरेको बताएका छन् । नेपाल–भारत तथा भारत–बंगलादेशको बाटो भएर संसारभरका चिडियाघरमा समेत ओसारपसार भएको दाबी उनको छ ।
नेपाल पन्छी संरक्षण संघमा अनुसन्धानरत सन्तोष बजगाईं लाटोकोसेरो जस्तै अन्य पन्छीहरूको पनि अबैध व्यापार भइरहेको पाइएको सुनाउँछन् । उनका अनुसार ठूला चराहरूलगायत सुगा, मुनियाँ, लभबर्ड, फिन्चेस, मकाउ, परेवा, काक्रातौ लगायतको कारोबार हुने गरेको छ ।
तराईबाट भुँडीफोर (भुँडीफोरुवा) चराको गिदी भारतमा बेच्न लगिने गरेको उनको भनाइ छ । भुँडीफोरुवाको गिदी आयुर्वेदिक तथा झारफुकको काममा प्रयोग हुँदै आएको अध्ययनले देखाएको उनी सुनाउँछन् । भन्छन्, ‘सुगा, मुनियाँ, फिन्चेस प्रजातीहरू पाल्नका लागि समातिन्छ । मयूर प्वाँखका लागि । बगेडी चरा खाएमा जाडोमा शरीर न्यानो गराउँछ भन्ने विश्वास देखियो ।’
ठाउँअनुसार चराका मूल्य पनि फरक रहेको उनी सुनाउँछन् । जनकपुरमा चार सय पर्ने सुुगालाई काठमाडांैमा ४५ सयसम्म लिएको भेटिएको छ । काकातौको मूल्य १२ हजार ५ सय रुपैयाँसम्म छ । मुनियाँ ९५० सम्म पर्ने भेटिएको उनको भनाइ छ ।
अध्ययनका क्रममा नेपालबाट भारत लगिएको र भारतबाट नेपालको बाटो हुँदै कारोबार भएको घटना पनि छन् । तर, व्यापारको रुट अँझै स्पष्ट नभएको बजगाईंको भनाइ छ । ‘विगतमा अमेरिका, कतार, नेदरल्यान्ड्स लगायत मुलुकमा पनि व्यापार भएको देखिएको छ ।’
अबैध व्यापारकै कारण उपत्यकामा नयाँ चराहरूले पुरानालाई विस्थापित गरेको अवस्थासमेत आएको देखिएको छ । एलेक्जेन्ड्राइन प्याराकीट (कर्रा सुगा) को संख्या उपत्यकामा धेरै छ । यो प्रजातीको सुगा काठमाडौं खासै हँुदैनथ्यो । मानिसहरूले कुनै प्रयोजनमा लिएर हिँड्दा फुत्किएर संख्या बढेको हुन सक्ने बुझाई उनको छ। उनले भने–‘अन्य प्रजातीलाई विस्थापित गरेर ठूलो बथान बनाइसकेको छ ।’
खुलेआम रूपमा चराहरूको बिक्री पनि हुँदै आएका छन् । कन्ठे सुगा, (प्लम हेडेड) ट्वीसी सुगाहरू बजारमा बेच्न राखिएका भेटिएका छन् । फिन्चेस, मुनियाँ, लभबर्ड, बजरी चरा, काकातौ लगायतका चरा बजारमा देखिन्छन् ।
मकाउ नाम गरेको चरा अफ्रिकाबाट ल्याइएको भेटिएको उनको भनाइ छ । फिन्चेस चरा नेपालमा पाइन्न । भारतबाट ल्याएको भनिएको हुन्छ । लभबर्ड पनि नेपालमा पाइन्न । बजरी पनि उतैबाट आएको देखिएको छ । खुला सीमाबाट ल्याएको प्रतिक्रिया पाएको उनी सुनाउँछन् ।
विगतमा शाही बाज नेपालबाट कतार लैजाने गरिएको घटनाहरू पनि भेटिएको उनको भनाइ छ । सन् २०१८ मा काठमाडौंमा तीन सय स्पाइसी फिन्चेस पक्राउ परेको थियो । सन् २०११ मा मयूरको प्वाँख ३ सय १७ किलोजति पक्राउ गरिएको थियो । अमेरिका लैजान लागिएको भनिए पनि कता कुन प्रयोजनमा लैजान्छन् भन्ने स्पष्ट नभएको उनको भनाइ छ ।
नेपाल पन्छी संरक्षण संघकी कार्यकारी प्रमुख ईशाना थापा केही वर्ष पहिला अफ्रिकन ग्र्रे प्यारोट समातिएको प्रशंग सुनाउँछिन् । भन्छिन्, ‘सात सय डलरसम्म बिक्री हुन्छ रे । नेपालमा पनि महँगो पन्छी पाल्नेहरू छन् ।’
चराहरू पिंजडामा बोकेर हिँड्नु पनि अबैध काम भएको उनको भनाइ छ । कतिपयले लाइसेन्स लिएर पन्छी खोजे पनि लाइसेन्स दुरुपयोग गरेको आरोप उनी लगाउँछिन् । ‘तोकेको भन्दा फरक प्रजातीसमेत पालेका छन् । नियमन कसैले गरेनन्’, उनी भन्छिन्, ‘अनुगमनका लागि अलि विज्ञहरूको टिम बनाएर काम गर्न आवश्यक छ ।’
अबैध कारोबार गर्नेहरूले पन्छीलाई अत्यन्त दयनीय ढंगले एकठाउँबाट अर्को ठाउँमा ओसार्ने गरेको थापाको भनाइ छ । आँखा र मुख सिलाइदिने गर्छन् । गन्तव्यमा पु¥याउन उनीहरूले विभिन्न उपाय लगाउने गरेका घटनाहरू पनि भएको उनी बताउँछिन् । उनीहरू सजिलो रुटको पत्ता लगाउँछन् ।
कानुनको जानकारी नहुँदा समस्या
पोखरामा प्रकृतिका साथीहरू संस्थाले लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव आयोजना गर्दै आएको छ । त्यसको प्रभावस्वरूप घाइते भएका, चोरी शिकारीमा परेका लाटोकोसेरोको संरक्षणका लागि विभिन्न जिल्लाबाट सूचना आउने गरेको कार्यकारी निर्देशक राजु आचार्यको भनाइ छ । उनका अनुसार यस किसिमको उत्सव अमेरिका, इटाली र भारतमा आयोजना गरिन्छ ।
उक्त संस्थाका वन्यजन्तु अनुसन्धान निर्देशक यादव घिमिरेका अनुसार धेरै नागरिकलाई कानुनको जानकारी नहुँदा गैरकानुनी रूपमा पाल्ने, मार्ने र अवैध रूपमा बिक्री बढेको छ । यी पन्छीले रूखको टोड्को, भुइँमा तथा पहराहरूमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरका तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५ सय ग्रामसम्म हुने अनुसन्धानले पत्तालगाइएको छ । लाटोसकोसेरोको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्