सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वगृहमन्त्रीको दुर्घटनाबारे पत्ता नलागेका तथ्य

accdent-car-of-madhav-prasad-ghimire

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित ७ जना सवार बा९च १५३१ नम्बरको जीप दुर्घटना भएको साढे दुई महिनापछि घटनाको कारणसहितको रिपोर्ट सार्वजनिक भएको छ । घटना भएपछि असोज ११ गते सरकारले पूर्व–प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सोही समितिले घटनाको ७५ औँ दिनमा बिहिबार घटनाबारेको प्रतिवेदन सरकारलाई बुझाएको हो । घटना घट्नुको सम्भावित कारणसहितको प्रतिवेदन बिहिबार समितिका संयोजक तथा पूर्व–प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएका हुन् ।

उक्त दुर्घटनामा घिमिरेका आमा चैतन्यकुमारी घिमिरे, अंगरक्षक प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की, काका नाता पर्ने नारायणप्रसाद काफ्लेको घटनास्थलमै मृत्यु भयो र उनीहरुको शव भेटियो । घटना भएको १४ औँ दिनमा पूर्व–गृहमन्त्री माधव घिमिरेका भाई नाता पर्ने काकाका छोरा मोहन घिमिरेको शव असोज २२ गते तनहुँको देवघाट नजिक बगइची भन्ने स्थानमा फेला प¥यो । तर, अहिलेसम्म पनि पूर्व–गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाई प्रकाश घिमिरेको शव भेट्न सकिएको छैन । न त दुर्घटनामा परेको उक्त जीप नै भेटिएको छ ।

के छ प्रतिवेदनमा ?
असोज ९ गते दुर्घटना भएपछि असोज ११ गते गठन गरिएको समितिका संयोजक कुवेरसिंह रानाले बुभाएको प्रतिवेदनमा उक्त दुर्घटना दुर्घटना मात्रै भएको र त्यसमा अरु केही शंका गर्ने ठाउँ नरहेको उल्लेख छ । दुर्घटना हुनुको मुख्य कारण अगाडि गुडिरहेको ट्रकलाई ओभरटेक गर्न खोज्नु रहेको प्रतिवेदनमा बताइएको छ । दुर्घटनामा परेको जिपले अगाडिको ट्रकलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट पनि अर्को ट्रक आइरहेको देखेपछि जिप नियन्त्रणमा नआएको र त्रिशुली नदीमा खसेको उल्लेख गरिएको छ ।
अझै पनि खुलेन ट्रकको नम्बर !

झण्डै २ महिना छानबिन गरेर प्रतिवेदन तयार पारेको समितिले ओभरटेक गर्न खोजिएको ट्रक र विपरीत दिशाबाट आएको ट्रक भने अझै पनि पत्ता लगाउन सकेन । समितिको प्रतिवेदनमा अझैपनि नम्बर नखुलेको ट्रक भनेर उल्लेख गरिएको छ । घटनाका प्रत्यक्षदर्शी बा५ख ९८१९ नम्बरका बस चालक विष्णु परियार र बसको क्याविनमा बसेका सुमन केसीसँग सोधपुछ गरेको बताएको छ । तर, उनीहरुले ट्रकलाई ओभरटेक गर्न खोज्दा जीप दुर्घटना भएको जानकारी दिएको समितिले जनाएको छ ।

चालक घिमिरे आफै थिए
दुर्घटनामा परेको उक्त जीपको चालक माधव घिमिरे आँफै थिए भनेर यसअघिनै उक्त दुर्घटनाका एकमात्र साक्षी सवारीचालक विष्णु राईको बयान आइसकेको थियो । अहिले आएको आधिकारिक प्रतिवेदनमा पनि सोही कुरा उल्लेख गरिएको छ । तनहुँको दमैलीको सीसीटीभीमा उक्त जीप माधव घिमिरेले नै चलाएको देखिएको उल्लेख छ भने मुग्लिनमा पनि उनी नै चालकको सीटमा रहेको सीसीटीभी फुटेजमा देखिएकाले दुर्घटनामा परेको जीप पूर्व–गृहमन्त्री माधवप्रसाद घिमिरे नै चलाएका थिए भनेर प्रतिवेदनमा भनिएको छ ।
ड्राइभर वा आपराधिक समूहको हात छैन

जीपका चालकमात्रै जीवित रहनुले कतिपयले यसलाई रहस्यमय दुर्घटनाको रुपमा लिए । अनि कतिपयले घिमिरे देशको महत्वपूर्ण पदमा आउन लागेकाले आपराधिक समूहले हत्या गराएको आरोपसमेत लगाए । तर छानबिन समितिको प्रतिवेदनले भने ती सबै आरोपहरु निराधार र झूटो रहेको बताइएको छ । उक्त दुर्घटनामा चालक विष्णु राई वा आपराधिक समूहको संलग्नता नरेको दाबी गरेको छ । दुर्घटना भइसकेपछि मात्रै चालक राईले थाहा पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एसपी र भाई बुहारीलाई फोन कसरी गयो ?
घटना भएको राती र भोलिपल्ट बिहानसमेत घिमिरेको मोबाइलबाट चितवनका एसपी र भाई बुहारीलाई फोन गएको प्रतिवेदनमा उल्लेख छ । तर फोन कसरी गयो भनेर प्रतिवेदनमा पनि स्पष्ट किटान गरिएको छैन । उक्त समय माधव घिमिरेले आइफोन सिक्स एस मोबाइल बोकेको र उक्त मोबाइलमा थम्ब प्रिण्ट रहेकाले अन्य व्यक्तिले चलाउन नसक्ने प्रतिवेदनमै उल्लेख छ ।

तर अन्य कसैले चलाउन नसक्ने मोबाइलबानट फोन गएको भने उल्लेख गरिएको छ र त्यो कल डिटेलबाट पनि देखिएको छ । ढुङ्गाको च्यापमा क्षतविक्षत अवस्थामा मोबाइल भेटिएको भनिएको छ, फेरि त्यस्तो क्षतविक्षत मोबाइलबाट कसरी फोन गयो, चित्त बुझ्दो जवाफ दिन सकेको छैन । तर अटो एन्सरिङ मोडबाट फोन गएको हुनसक्ने अनुमान गरिएको छ, जुन पत्यारलाग्दो विषय होइन ।

दुर्घटनास्थल ‘ब्ल्याक स्पोट’
घटना भएको स्थान ब्ल्याक स्पोट अर्थात् दुर्घटनाग्रस्त क्षेत्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि सरकारी निकायले नै उक्त स्थानलाई अत्याधिक दुर्घटना हुने क्षेत्र घोषणा गरि सकिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा केही मानवीय त्रुटी र असावधानी पनि दुर्घटनाको कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटनाको ७५ औँ दिनमा बिहिबार यसको प्रतिवेदन सरकारलाई बुझाइएको छ ।

प्रतिवेदनको मुख्य अंशमा घटना भवितब्य भएको र यसमा आपराधिक समूह वा चालकको संलग्नता हुनै नसक्ने उल्लेख गरेको छ । साथै उक्त प्रतिवेदनले दुर्घटना कम गर्न अपनाउनुपर्ने सडक सुरक्षाका उपायहरुबारे पनि उल्लेख गरेको छ । गृहमन्त्री विमलेन्द्र निधिले यस प्रतिवेदनलाई गम्भीर रुपमा लिँदै सुझावहरुलाई इमानदारिताका साथ पालना गर्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्