सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तपाईँ मानसिक तनावमा त हुनुहुन्न ? जानिराख्दा राम्रो

मानसिक तनावका थुप्रै कारणहरू छन् । हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौँ, त्यो चिजसँग हाम्रो तनाव निर्धारीत हुन्छ । कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ । जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन ।

मुख्य कुरा कुनै पनि घटनालाई हामी कसरी हेर्छौँ भन्ने हो । आफ्नो क्षमता कति छ ? कुनै पनि चिजलाई कसरी सम्हाल्नुहुन्छ ? जब आफ्नो क्षमताले आफ्ना समस्यालाई समाधान गर्न सकिँदैन तबसम्म तनाव भइरहन्छ ।

मानसिक तनाव भए के हुन्छ ?
मानसिक तनावका कारण मानिसलाई थुप्रै रोगहरू लाग्न सक्छ । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या हुन्छ । तनावमा मानिसहरूले रक्सी, गाँजा, बिभिन्न खालका लागुऔसध समेत प्रयोग गर्छन् ।

धेरै तनाव भयो भने कहिलेकाहीँ रक्सी खानेले पनि धेरै खान्छ । जस्तै भूकम्पका कारणले आफ्नो घर भत्कियो । अब बनाउने उपाय छैन । त्यसले गर्दा कतिपय मानिसलाई तनाव भइरहेको छ । त्यस्तै पागलपनको समस्या पनि तनावकै कारण हुन्छ । कतिपयलाई अलिकति तनाव भयो टाउको दुखि हाल्ने समस्या पनि हुन्छ ।

टाउको गह्रौँ भएजस्तो, भारी भएजस्तो, तातो भएजस्तो महसुस हुन्छ । दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराश हुने, छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ । कतिपय अवस्थामा मान्छेलाई मुटुकै समस्या भयो कि मलाई भन्ने पनि हुन्छ । डर लाग्ने, पेट पोलेको जस्तो हुने हुन्छ ।

कतिपयलाई ‘स्ट्रेस’ को कारणले ग्याष्ट्रिकको समस्या समेत हुन्छ । ग्याष्ट्रिकको दबाइ खाएको छ, तर पेटको समस्या समाधान भएको छैन । दिसा कहिले ढिलो हुने कहिले चाँडो हुने भएको छ । हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्ने हुन्छ ।

यस्तो बेलामा जचाउन गयो रिपोर्टमा केही पनि आउँदैन । यो सबै तनावका कारणले हुन्छ । शंका लाग्ने, मलाई केही भयो कि भन्ने खालका महसुस हुने हुन्छ । रक्सी, चुरोट, गाँजा लगायतका कुलतमा फस्ने पनि हुन्छ ।

उपाय के छ त मानसिक तनावबाट बच्ने ?
मानसिक तनावबाट बच्न दुई वटा उपाय छन । एउटा यसबाट कसरी जोगिने र अर्को यसको उपचार कसरी गर्ने भन्ने हो । सबैभन्दा पहिला आफ्नो जीवनलाई व्यवस्थित गर्नुप¥यो । जसरी शरीर स्वस्थ्य राख्न हामी व्यायाम गर्छौँ, त्यसैगरी मनको स्वस्थताका लागि पनि काम गर्नुप¥यो ।

आफ्नो विचारलाई कसरी स्वस्थ्य राख्ने ? विचार कतातिर गइरहेको छ । म आज कस्तो छु ? मेरो सोचाई कस्तो छ ? म स्वस्थ्य छु कि छैन ? आज म खुसी छु कि छैन ? अलि बढी तनावमा पो छु कि ? यस्ता कुरा बेलाबेलामा जाँच्नुपर्छ ।

पारिवारिक तनाव हो कि !, व्यवसायिक तनाव हो की !, जागीरको तनाव हो की ! यसलाई पत्ता लगाउनुपर्छ । कसैले मलाई आलोचना ग¥यो मैले माफी नदिएको हो की जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ । त्यो बाहेक निद्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ । बेलाबेलामा मनोरन्जन आवश्यक छ ।

आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफैलाई जाँच्नुपर्छ । आफ्नो सबैभन्दा ठूलो डाक्टर आफै हो । त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ ।

आधुनिकताले गर्दा व्यक्तीवादी चिन्तन हावी भएको छ । दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन । राति ‘डिउटी’ गर्नेहरुलाई अँझै बढी मानसिक तनावको समस्या हुन्छ । बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने रमाइलो गर्ने गर्नुपर्छ ।

बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन । आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्छ । यस्ता कुरालाई ध्यान दिने हो भने हामी एन्जाइटी, डिप्रेसन लगायतका समस्याबाट सजिलै बच्न सक्छौँ । तनाव बढी भएर मानसिक रोग पनि लाग्न सक्छ

यस्तो रोग नै लाग्यो भने मानसिक रोग बिशेषज्ञहरुसँग सल्लाह लिनुपर्छ । मनोवैज्ञानिकहरूसँग समेत छलफल गर्नुपर्छ । मैले चाहँदा चाहँदै पनि तनाव नियन्त्रण गर्न सकिनँ भन्ने भयो भने त्यतिबेला विशेषज्ञको सल्लाह लिनुपर्छ । सुरुमा ‘काउन्सिलङ’ बाट हेर्ने त्यति गर्दा पनि भएन भने औषधिको सहारा लिनुपर्छ ।

सुरूवाती चरणमा बिरामी आयो भने आठ, दस दिन औषधी खाएमा ठीक हुन्छ । अलि धेरै समयदेखि तनाव दिएको छ भने एक महिनादेखि ६ महिनासम्म पनि खानुपर्ने हुन्छ । कतिपय अवस्थामा लामो समयसम्म पनि औषधी लिनुपर्ने हुन्छ ।

सामान्यतया एन्जाइटी र डिप्रेशनको लागि ६ महिनादेखि नौ महिनासम्म औषधि खाएमा निको हुन्छ । सबै खाले मानसिक रोग औषधीबाटै निको हुन्छ ।

मानसिक समस्यालाई हेर्ने हेराई गलत
नेपालमा मानसिक समस्या भन्नासाथ हामीले एउटै कुरा ‘पागलपन’ बुझ्ने गर्छौँ । जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन तबसम्म यो समस्या रहिरहन्छ । बिरामी पनि पीडित भइरहन्छ र समाजले पनि कतै पीडाबोध गरेको हुन्छ ।

सबैभन्दा पहिला मानसिक समस्या भनेको पागलपनको मात्रै समस्या होइन भनेर बुझ्नुपर्छ । रसायनको गडबडीले गर्दा मानसिक समस्या हुन्छ । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ ।

मानसिक समस्या सामान्यदेखि डरलाग्दा खालका पनि हुन सक्छन् । डरलाग्दो मानसिक समस्या एक प्रतिशत, दुई प्रतिशत मात्रै होला । धेरै खालका मानसिक समस्याहरू घरमै बसेर समाधान गर्न सकिन्छ ।

मानसिक समस्यालाई लुकाउन हुँदैन
नेपाली समाजमा मानसिक समस्यालाई लुकाउने दबाउने चलन छ । डाक्टरकोमा गयो भने पनि यो त मानसिक डाक्टर भेट्न गयो यसलाई के भयो भनेर हेर्ने चलन छ । त्यो बिल्कुलै गलत काम हो । मानसिक डाक्टरलाई समेत यो आफैं पागल भयो कि भन्ने सम्मको आशंका गर्ने गरिन्छ ।

यो रोग होइन यो त मान्छे कमजोर भएर हो । डिप्रेशन कसरी रोग हुन सक्छ ? यो आफैं ठीक हुन्छ भनेर परिवारले भन्दै जाँदा बिरामीले आत्महत्या सम्म गर्न सक्छ । यसलाई सुरूमा नै ध्यान दिनुपर्छ । कहिलेसम्म यसलाई लुकाएर राख्ने ?

समस्या परिसकेपछि मात्रै सचेतता अपनाउने हाम्रो परम्परालाई बदल्नुपर्छ । यो सँगै बिरामीले पनि मैले डाक्टरको सहयोग लिनुपर्छ । डाक्टरको सहयोग लिएँ भने मात्रै मेरो समस्या ठीक हुन्छ भन्ने सोच्न जरुरी छ । म समाजको कुरा सुन्दिनँ, म अरूको कुरा सुन्दीनँ मलाई समस्या छ । म डाक्टरसँग सल्लाह लिन जान्छु भनेर बिरामीले पनि हिम्मत गर्नुपर्छ ।

कतिलाई छ मानसिक रोग ?
यो रोगीको संख्या यति नै छ भनेर भन्न त सकिँदैन, तर, विश्वमा बीसदेखि पच्चीस प्रतिशतलाई कुनै न कुनै खालको मानसिक समस्या रहेको हुनसक्ने बिभिन्न अनुसन्धानले देखाएको छ । नेपालमा यति नै छ भनेर कुनै पनि खालको डाटा अहिलेसम्म निस्किएको छैन र यसको अनुसन्धान पनि भएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्