सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सबैभन्दा धेरै पुँजी कृषि बिकासको, अरुको कति ?

बैंक तथा वित्तीय संस्थामा पुँजीको आधारमा सबैभन्दा अग्र पाँच स्थानमा कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक रहेका छन् । कृषि बिकास बैंकसँग कुल पुँजी कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्टको १९ अर्ब ६६ करोड, हिमालयनमा ११ अर्ब ५२ करोड, एभरेष्टको ११ अर्ब ९ करोड र एनएमबीको १० अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ग्लोबल आइएमई बैंकको पनि १० खर्ब ३ करोड रुपैयाँ रहेको छ ।

बैंकहरुमा बिभिन्न माध्यमबाट उपलब्ध हुने पुँजी (निक्षेप बाहेक) हरुलाई बैंकहरुको कुल पुँजी कोषमा देखाइन्छ । यस्तो कोषमा रहने पुँजीलाई पनि टियर वान र टियर टु गरी दुई अलग शीर्षक मार्फत् देखाइएको हुन्छ ।

टियर वानमा सेयर पुँजी (चुक्ता पुँजी), अक्षय प्रकृतिको तर थपिदै नजाने अग्राधिकार कोष, अक्षय ऋण उपकरण लगायत राखिन्छन् । त्यस्तै टियर टुमा परिपक्व अवधि ५ वर्ष वा सोभन्दा माथी रहेका अग्राधिकार सेयर उपकरण, जनरल कर्जा नोक्सानी प्रावधान लगायतमा राखिने पुँजी हुन्छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार टियर वानमा बैंकहरुले कोर पुँजीको तुलनामा कुल जोखिम भारित कर्जा (सीसीएआर को ६ प्रतिशत बराबर रकम र टियर टुमा कुल पुँजी कोष तुलनामा कुल जोखिम भारित कर्जा १० प्रतिशत रकम अनिवार्य राख्नै पर्छ ।

यो सीमाभन्दा कम पुँजी भएमा बैंक तथा वित्तीय संस्थाले बोनस वा नगद लाभांश वितरण गर्न पाउँदैनन् । बैंकहरुले ऋणपत्र जारी गरेर पनि यस्तो कोष बढाउने गर्छन् । एनएमबी, हिमालयन, इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ लगायतले २०७७ देखि २०७८ सम्ममा परिपक्व हुने ऋणपत्र जारी गरेकोले पनि कुल पुँजी कोष धेरै देखिएको हो ।

कृषि बिकास र एभरेष्ट बैंकमा पनि अग्राधिकार सेयर मार्फत् लगानी भएको छ । यस्तो ऋणपत्र जारी गरेसँगै बैंकहरुले त्यो ऋणपत्र भुक्तानीको लागि अलग्गै कोष पनि खडा गर्नुपर्ने हुन्छ । र, परिपक्व हुने अवधिसम्म जारी गरिएको ऋणपत्रको रकम बराबर पुर्याउने गरि वार्षिक रुपमा केही रकम जम्मा गर्दै जानुपर्छ ।

यस्तो कोषमा रहेको रकम भुक्तानी गरेर बाँकी भएमा बैंकहरुले कोर पुँजीमा गणना हुने पुँजी समायोजन कोषमा राख्न सक्ने व्यवस्था छ । यसअघि चुक्ता पुँजी वृद्धि (वाणिज्य बैंकहरुको लागि २ अर्बको सीमा तोकिदा) ताका बैंकहरुले भने यसरी बाँकी रहने पुँजी साधारण बैधानिक जगेडा कोषमा राखेर बोनसको रुपमा वितरण गर्न सकिने सुविधा माग गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्