सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कहाँ हराउँछन नेपाल-भारत बीचका सिमा स्तम्भ ?

गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा निर्माण भइरहेको कल्भर्ट क्षेत्रमा नेपाल–भारत सीमा छुट्याउने २०० नम्बरको सीमास्तम्भ थिएन । उक्त स्थानको सीमास्तम्भ हराएको कारण भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा बनिरहेको कल्भर्टमा अवरोध पु¥यायो । अवरोधले झगडाको रूप लिँदा एक व्यक्तिको ज्यान गयो ।

सीमा यकिन नहुँदा भारतीय पक्षले पटक–पटक झगडा गर्दै आएको पुनर्वासका श्याम परियारको भनाइ छ । उनले सीमास्तम्भ नहुँदा सीमा क्षेत्रका बासिन्दा पीडित बन्नुपरेको गुनासो गरे । उनले भने–‘दुवै देशका नागरिकलाई आ–आफ्नो सीमाबारे पर्याप्त जानकारी गराउनुर्पयो ।’

परियारका अनुसार कञ्चनपुरका सबै सीमास्तम्भ जीर्ण बन्दै गएका छन् । हराएका सीमास्तम्भको खोजी र आवश्यक मर्मत नभए यस्तै घटना दोहोरिने उनको भनाइ छ । घटना भएकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र लखिमपुरका डिएम आकाश दीपले सीमास्तम्भ हराएकै कारण आनन्द बजारको घटना भएको निष्कर्ष निकालेका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पनि सीमास्तम्भ नहुँदा घटना चर्केको हुन सक्ने बताए । प्रजिअ खनालका अनुसार अब दुवै देशका सर्भे विभागको संयुक्त प्राविधिक टोलीले सीमास्तम्भ मर्मत–सुधार र हराएकोबारे टुंगो लगाउनेछ ।

यस्तो परिस्थितिमा संयुक्त प्राविधिक टोली बोलाएर सीमा विवाद टुंग्याउन दुवै देशबीच समझदारी भएकोसमेत प्रजिअ खनालले बताए । ‘संयुक्त टोलीलाई यहाँसम्म आइपुग्न धेरै समय लाग्छ,’ उनले भने–‘हामी दुई देशका सम्बन्धित निकायबीच सर्भे टोलीलाई यथाशीघ्र यहाँ बोलाएर सीमा यकिन गर्न सहमति भएको छ ।’

सीमास्तम्भ मर्मतमा किन हुन्छ बेवास्ता ?
कञ्चनपुरको डोके बजारदेखि उत्तर–पश्चिम ब्रह्मदेवसम्मका अधिकांश सीमास्तम्भ ढल्ने अवस्थामा छन् भने कतै स्तम्भ नै छैनन् । डोके बजारदेखि ब्रह्मदेवसम्म एक सय २९ दशमलव ५ किलोमिटर दूरीमा रहेका सबै सीमास्तम्भ कमजोर छन् । पुराना र हावापानीका कारण सीमास्तम्भ नाजुक भएको स्थानीयको भनाइ छ ।

सीमा स्तम्भ जीर्ण बने पनि सरकारी पक्षबाट मर्मत र संरक्षणमा बेवास्ता भएको स्थानीय करन भण्डारीको आरोप छ । ‘सीमाका स्तम्भ जोर भारत र बिजोर नेपालले पुनर्निर्माण गर्नुपर्ने भए पनि सम्बन्धित मुलुकले चासो दिएका छैनन,’ उनले भने–‘कञ्चनपुरको उत्तर–पश्चिम क्षेत्रका पिलर महाकालीमा आएको बाढीले ढालेको छ ।’

ढलेको सीमास्तम्भ तीन वर्षदेखि अलपत्र
तीन वर्षअघि दार्चुलामा आएको बाढीले ब्रह्मदेव खल्लामछेट्टीको ८१३ (एक) नम्बरको पिलर ढालेको थियो । ‘सो पिलर हालसम्म पनि पुनर्निर्माण गरिएको छैन,’ स्थानीय करन भण्डारीले भने–‘यही घटनाबाट थाहा पाउँछौँ, हाम्रो स्थिति कस्तो छ ।’

वनवासा–गड्डाचौकीको एच–०१ बाहेक अधिकांश सीमास्तम्भ ढल्न लागेका रूखजस्ता छन् । केही स्तम्भको माथिबाटै इँटा झरेको छ, केहीको बीच भाग नै छैन । जिल्लाको उत्तर–दक्षिण डोकेबजारमा रहेको ७२३((१७१) नम्बरको स्तम्भमा सतहका इँटा छैनन् । सतहदेखि नै सो स्तम्भका इँटा खुस्केर अलगिएका छन् ।

कञ्चनपुरका सीमास्तम्भको अवस्था र मर्मतबारे पटक–पटक माथिल्लो निकायमा जानकारीका साथै प्रतिवेदन पेस गरे पनि पुनर्निर्माणमा कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

कञ्चनपुरका ३४ सिमा स्तम्भ कहाँ हराए ?
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कुल तीन सय ९० सीमा पिलरमध्ये दुई सय २२ पिलर जीर्ण छन् । यसमध्ये नौवटा पुनर्निर्माण र ४५ वटा मर्मत मात्रै गरे हुने सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३४ पिलर हराएका छन् ।

त्यहाँ ६४ मुख्य, दुई सय २२ सहायक र एक सय चार साना पिलर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । सीमा सुरक्षा कार्यालयका अनुसार मुख्य पिलरमध्ये तत्काल १२ मर्मत, चार पुनर्निर्माण गर्नुपर्नेछ । यस्तै सहायक पिलरमा ३२ मर्मत र ५ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक इन्द्र कार्कीले बताए ।

जिल्लाका सीमास्तम्भको अवस्थाबारे माथिल्लो निकायका साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रतिवेदन पेस गरेको उनले बताए । ‘सशस्त्र प्रहरी बल सीमा कार्यालयबाट स्तम्भहरू पुनर्निर्माणका लागि प्रतिवेदन पेस गरिसकेको छ,’ उनले भने–‘तर, हालसम्म पुनर्निर्माणका काम हुन सकेको छैन ।’

उनका अनुसार सीमा र स्तम्भ सुरक्षाका लागि सशस्त्र प्रहरी बलले साप्ताहिक तथा मासिक अध्ययनका साथै उक्त क्षेत्रमा गस्ती गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्