त्यो झुपडी, यो घर, धुर्मुस सुन्तलीले ल्याएको यो खुशी
मुसहर वस्तीकी १०८ बर्षीया मरानी सदाले सायद सपना पनि देखेकी थिईनन होला ! जिन्दगीमा एकदिन आफ्नो पक्की छर हुनेछ । जो चैते हुरीले उडाउने छैन, बर्षे झरीमा चुहिने छैन । जिन्दगीका १०८ वसन्त हुरी र झरीसँग बाझ्दै बिताएकी मरानी नयाँ बर्षको बिहानीसँगै त्यो झुपडीबाट चिटिक्क परेको पक्की घरमा सर्दैछिन ।
नयाँ बर्षको झुल्के घामसँगै १०८ बर्षिया मरानी सदा झैँ मुसहर वस्तीका ५२ परिवार साँघुरा झुपडीभित्र कुप्रिएर बस्नुपर्ने बाध्यतालाई विदाई गर्दै जीवनको नयाँ अध्यायको सुरुवात गर्दैछन । बर्ष २०७४ को पहिलो स्पर्श मुसहर समुदायले यसरी अनुभूत गर्दैछन, मानौं यो नयाँ बर्ष उनीहरुको निम्ति आएको हो ।
बर्दिबास बजारबाट मुसहरु वस्तीसम्म जोडिएको करिब डेढ किलोमिटर बाटो छिचोलिरहँदा यस्तो लाग्छ की, यहाँ नव दुलही भित्र्याउने तरखर भइरहेको छ । बाटोभरी स्वागतद्वार सजाइएको छ । यो वस्तीमा जो पाहुना आउँछन, बस्तीलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन् ।
परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध भएर उभिएका छन, मुसहर बस्तीका ५२ वटा घर । उस्तै बनावट, उस्तै रंग । प्रत्येक घरसँगै जोडिएको धारा, शौचालय, सानो बगैँचा, बार्दली । घरलाई दाँयाबाँया छाडेर लमतन्न परेको बाटो । बाल उद्यान, मन्दिर, चौतारो, सामुदायिक भवन । यो सबै हेरीरहँदा यस्तो लाग्छ, वस्ती सबै पुर्ण छ ।
करिब तीन महिना अघि सीताराम कट्टेल र कुञ्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ले आफ्ना साँघुरा झुपडी अघिल्तिर उभिएर तपाईहरुको घर बनाएर बैशाख १ गते बिहान ८ बजे हस्तान्तरण गर्छौँ भनिरहँदा मुसहरहरुलाई पत्यार लागेको थिएन । उनीहरुलाई लाग्थ्यो कि, हाम्रो गरिबीको फोटो भजाएर अरुले पैसा खान्छन ।
पुसको चिसोले कठ्यांग्रिएका बेला जब धुर्मुस र सुन्तली ओड्ने कम्बल, सिरक र खानेकुरा बोकेर मुसहर वस्तीमा पुगे तब उनीहरुलाई लाग्यो कि, यसपटक हाम्रा लागी कसैले केही गर्दैछन । अर्कोपटक उसैगरी धुर्मुस र सुन्तली आएर घर बनाउने कुरा गरे । उनीहरु खुसीले उफ्रिए । साँझमा दिपावली गरे । नभन्दै धुर्मुस–सुन्तलीले घर बनाइदिए ।
हेर्दै बसौं बसौं लाग्ने । झुपडीमै घामपानी झेलेका उनीहरुले कहिल्यै सोचेका थिएनन, यस्तो घरमा बस्न पाइएला भनेर । साँच्चै नसोचेको भइदियो । ९५ दिनमा नै झुप्रे बस्तीलाई ‘एकिकृत नमुना बस्ती’मा बदलिदिएका छन, धुर्मुस–सुन्तलीले । छिमेकीहरु भन्छन, ‘चमत्कारै भयो, जादु गरेजस्तै भयो । उनीहरु साक्षात राम र सीता रहेछन् ।’
बर्दिबास बजार नजिकैको यो मुसहर बस्ती हेर्नेको लर्को दिनदिनै लाग्छ, मानौ यो कुनै पर्यटनस्थल हो । बस्तीभित्र मुसहरको मन्दिर छ, जहाँ उनीहरु आफ्नो कुलको पूजा गर्छन् । बाल उद्यान र सँगै ठडिएको ३५ फिट अग्लो भ्यू टावर । यो भ्यू टावरमा आगन्तुकहरु शःसुल्क चढ्न पाउनेछन् ।
उनीहरुले बुझाएको शुल्क मुसहर समुदायको सामाजिक कोषमा जम्मा हुनेछ । धुर्मुस–सुन्तली पुगेपछि नै हो, बनीबुतो गरेर हातमुख जोर्दै आएका उनीहरुले ९५ हजार रुपैयाँको कोष खडा गरेको, मुसहर बालबालिका बिद्यालय जान थालेको ।
यो त्यही बस्ती हो, जहाँ पाइला टेक्न जो कोहि हच्किन्थे । बस्तीको कुरुप दृश्यले बिचलित बनाउँथ्यो मान्छेहरुलाई । तर, अहिले बस्तीको अनुहार १८० डिग्रीको कोणमा फेरिएको छ । मुसहरको झुपडी भएको स्थानमा ५० वटा आवासिय घर बनेका छन, जहाँ सबै खाले सेवा सुविधा छन ।
धुर्मुस–सुन्तलीको आह्वानमा देश–विदेशबाट मनकारी दाताहरुले सकेको सहयोग गरका छन । कसैले आर्थिक सहयोग गरे, कसैले भौतिक । बस्ती निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तलीले बताएका छन । आशा गरौँ, धुर्मुस सुन्तलीको अठोट, दाताको सहयोग र मुसहर समुदायको जीवन सबैको लागी प्रेरणाको स्रोत बन्नेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्