सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सम्भवत; भोली केरुङ–काठमाण्डौ रेलमार्गको प्रस्ताव

नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधार मन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले शुक्रबार उनीसँग चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्नसक्ने भौतिक पूर्वाधारका परियोजनाहरुबारे जानकारी दिँदैछन् ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणबाट फर्केको आठौं दिनमा मन्त्री युआन काठमाडौं उत्रिएका हुन् । उपप्रधानमन्त्री वाङको भ्रमणका क्रममा नेपाल र चीनबीच तीन वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

एक अर्ब आरएमबी अनुदान र प्राविधिक सहयोग, अरनिको राजमार्गको स्तरोन्नती, तातोपानीस्थित मैत्री पुल र रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गर्ने सम्झौता छ ।

यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता पनि भएको थियो । र, नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने सम्बन्धि समझदारी पत्रमा पनि हस्ताक्षर भएको थियो ।

मन्त्री युआनको काठमाडौं यात्रा ती सम्झौताको कार्यान्वयन र सहयोगका विस्तृत क्षेत्र पहिचानमा केन्द्रत हुने छ । उपप्रधानमन्त्री वाङको भ्रमणका बेलामा सडक, सुरुङमार्ग, विद्युत प्रसारण लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्न सकिने प्रस्ताव नेपाली पक्षले अगाडि सारेको थियो ।

तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना मन्त्री युआनको काठमाडौं यात्रामा मुख्य रुपमा उठ्ने छ ।

नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र पर्छ, उक्त रेलमार्ग । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अगाडि बढाउन मन्त्री युआनलाई अनुरोध गर्ने भएको छ ।

उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग त्यस सम्बन्धि सम्झौता भएको छैन । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै उक्त रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् ।

चीनले गरेको अनुरोधअनुसार भौतिक पूर्वाधार मन्त्रालयले चीन सरकारको सहयोगमा अरनिको राजमार्ग, तातोपानी नाका र बाहिरी चक्रपथ निर्माणको परियोजना प्रस्ताव तयार पारेको छ । पूर्वयोजनाअनुसार काठमाडौंबाट तातोपानी नाका जोड्ने अरनिको राजमार्ग स्तरोन्नतिका लागि नेपाली पक्षले अनुरोध गर्नेछ ।

सडक विभागले उक्त राजमार्गअन्तर्गत धुलिखेल–बाह्रविसे सडकलाई चार र बाह्रविसे–तातोपानी सडक दुई लेनको बनाउने योजना तयार पारेको छ । यी दुई खण्ड निर्माणमा चीनले १४ अर्ब ९४ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । भूकम्पपछि तातोपानी नाका बन्द भएकाले प्रक्रिया अगाडि बढेको छैन ।

सरकारले चीनलाई काठमाडौंको बाहिरी चक्रपथ आयोजनामा पनि काम गर्न प्रस्ताव गर्ने भएको छ । करिब ७२ अर्ब रुपैयाँ लागतको उक्त परियोजनामा चीनले लगानी गर्ने इच्छा देखाइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्