सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

थ्री गर्जेजको सर्तले पश्चिम सेती अन्यौलमा

संयुक्त लगानी गर्ने सम्बन्धी सम्झौता (जेभीए)मा प्रारम्भिक हस्ताक्षर भएको १० महिना बित्दा पनि पश्चिम सेती निर्माणका लागि ठोस काम अगाडि बढ्न सकेको छैन ।

गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि जेभीए भएको थियो ।

सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेको थियो । थ्री गर्जेजको बोर्डले भने यसलाई पारित नगरी लामो समय झुलाएर राखेको थियो ।

हालै मात्र जेभीएको प्रारम्भिक सम्झौता उक्त चिनियाँ कम्पनीले अनुमोदन गरेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । असोज पहिलो सातातिर थ्री गर्जेजले प्रारम्भिक सम्झौता अनुमोदन गरेको लगानी बोर्डलाई जानकारी दिएको हो ।

वाग्लेले भने, ‘२९ कात्तिकतिर जेभीए गर्ने तयारी गर्दैछौं, त्यसबारे थ्री गर्जेजलाई जानकारी गराएका छौं ।’ त्यसका लागि यसअघि थ्री गर्जेजले अगाडि सारेका केही सर्त सरकारले सम्बोधनको प्रयास गरेको छ ।

पश्चिम सेतीका लागि चीनमा भएको खर्च पनि ‘क्यापिटलाइजेसन’ गर्नुपर्ने माग थ्री गर्जेजले गर्दै आएको थियो । त्यसका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्थ्यो । गत जेठमा एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यसमा पनि बाटो खुला गरिदिएको छ ।

थ्री गर्जेजले अहिले अर्को सर्त अगाडि सारेको छ । त्यो हो, बहुउद्देश्यीय आयोजनासरह पीपीएको दर पाउनुपर्ने । लगानी बोर्ड भने जेभीए गर्ने क्रममै यसलाई टुंग्याउने सोचमा छ ।

तथापि, जेभीएका लागि अगाडि नबढी सर्तमाथि सर्त थप्दै गए उक्त सम्झौता पनि खारेज हुने सम्भावना बढेको छ । ‘लामो समय यसरी होल्ड गरेर बस्न पाइँदैन, अब विभिन्न सर्त अगाडि सार्दै जेभीए समयमा गर्न नआए सम्झौता खारेज गर्छौं,’ वाग्लेले भने ।

जेभीए अनुमोदनमै थ्री गर्जेजले गरेको ढिलाइले पश्चिम सेती आयोजनाको प्रगति शून्य छ । उक्त कम्पनीले आयोजनाको लाइसेन्स होल्ड गरेकै पाँच वर्ष बितिसकेको छ ।

फेब्रुअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो ।

कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । प्रदेश ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर टोलीले अध्ययन गरेको हो ।

एक खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा विद्युत प्राधिकरण र थ्री गर्जेजबीच प्राधिकरणले गर्नुपर्ने २५ प्रतिशत लगानीको विषयमा यसअघि नै भद्र सहमति भएको थियो ।

शुरुको तुलनामा अहिले पानीको बहाव घटेकाले सात सय ५० मेगावाट विद्युत उत्पादन हुन नसक्ने थ्री गर्जेजको दाबी रहँदै आएको छ । लगानी बोर्ड भने आयोजना क्षमता घटाउने पक्षमा छैन ।

वाग्लेले भने, ‘पानीको बहाव घटेका कारण उक्त परिमाण बराबरको क्षमताको आयोजना बन्न नसक्ने निश्चित भएर दुवै पक्षको छलफलपछि मात्रै क्षमता घटाउन सकिन्छ ।’

७५ प्रतिशत चिनियाँ कम्पनीले आफैं लगानी गर्ने र २५ प्रतिशतका लागिसमेत ऋण खोजिदिने सहमति भएको थियो । प्रारम्भिक जेभीएपछि थप जेभीए सम्झौता हुन जरुरी छ । तर, त्यसबारे उक्त कम्पनीले औपचारिक जानकारी पठाएको छैन ।

२१ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले स्मेकको इजाजत रद्द गरेको थियो । सोही कारण वर्षौंदेखि यो आयोजना चर्चामै सीमित छ ।

स्मेकसँग सम्झौता तोडेर सरकारले थ्री गर्जेजलाई जिम्मा दिएको थियो । सन् १९९३ मा स्थापना भएको थ्री गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्