सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तरकारीमा मनपरी, रु.११.५० मा किनेर ११० मा बिक्रि

गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेको थियो ।

दुई समूहमा रहेका अनुगमन टोलीमध्ये एउटाले ना.६ ख. ४५६६ नम्बरको ट्रकमा आएको तरकारीको विवरण र खरिद मूल्यको बिल माग्यो । मेचीनगर–१७, काँकडभिट्टा झापामा रहेको एसएसबी ट्रेड एन्ड सप्लायर्सको ट्रकमा काउली, भिन्डी, परवल र भ्यान्टा गरी कुल सात हजार पाँच सय किलो आयात भएको थियो ।

तर, बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो । किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटीस्थित जयसवाल एसके स्टोरले ल्याएको थियो ।

साढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिन्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो । उपभोक्ताले काउली १००, भिन्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तरकारीको मूल्य अस्वाभाविक रूपले बढेको बताए ।

‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए । ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो ।’

बजार मुल्य बढ्दा किसानले कस्तो मुल्य पाएका छन त ?

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकामा तरकारी आपूर्ति गर्ने पालुङटार, पाँचखाल, धार्के लगायतका स्थानमा पुगेर किसानले पाउने मूल्यको अनुगमन गर्ने बताएको छ । ‘अहिले तरकारीको भाउ आकासिँदा किसानले कति पाएका छन् भन्ने अध्ययन गर्नु आवश्यक भएको छ, त्यसैले चाँडै उपत्यकामा तरकारी आपूर्ति गर्ने स्थानमा पुगेर अनुगमन गर्छौं,’ उनले भने ।

बाढीलाई दोष दिएर उम्किए सरकारी कर्मचारी

कृषि विकास मन्त्रालय मातहतका कर्मचारीले मागअनुसार आपूर्ति नभएकाले मूल्य बढेको दाबी गरेका छन् । कृषि विभागका कार्यक्रम निर्देशक लक्ष्मणप्रसाद पौडेलले तराईमा बाढी आएर वर्षे तरकारी नष्ट गरेका कारण आपूर्तिमा समस्या भएको बताए । ‘यो बेला वर्षे तरकारी सकिएर हिउँदे तरकारी बजारमा आउनुपर्ने हो । तर तराईमा लगाइएको तरकारी बाढीले नष्ट गरेको छ र किसानले फेरि दोहो¥याएर लगाएको तरकारी निस्कन पाएको छैन ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले आपूर्ति कम भएका कारण मूल्य बढेको दाबी गरे । ‘कालिमाटीमा सामान्यतः दैनिक सात सय टन तरकारी आपूर्ति हुन्छ, तर अहिले पाँच सयदेखि साढे पाँच सय टन मात्रै आइरहेको छ ।’

बिचौलियाका कारण महँगिएको अधिकारकर्मीको दाबी

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले किसान र उपभोक्ताका बीचमा रहेका बिचौलियाले चर्को नाफा गरेका कारण मूल्य आकासिएको बताए । उनले अहिले जुनसुकै तरकारी किन्न गए पनि पाइने भएका कारण अभावले महँगिएको भन्ने तर्कसँग सहमत हुन नसक्ने विचार व्यक्त गरे । ‘धेरै पैसा हालेपछि जुनसुकै तरकारी किन्न पाइने अवस्था छ । बजारमा पैसा बोकेर तरकारी किन्न गएको कोही पनि खाली फर्किएको अवस्था पनि छैन ।’

व्यवसायी भेला भएर तोक्छन तरकारीको मुल्य

राति १२ देखि बिहान ३ बजेसम्म कालिमाटीमा तरकारी आइसक्छ । तरकारी मौज्दात गरेर थोक विक्रेता मूल्य तय गर्न व्यवसायी भेला हुन्छन् । उनीहरूले खरिद गरेको मूल्य एक–अर्कालाई भन्दैनन, तर बिक्री मूल्य समान राख्न सबै जुट्ने गरेको अनुगमनमा भेटिएको छ ।

‘थोक तरकारी व्यापारी करिब ५ बजे भेला भई सबै तरकारीको एउटा मूल्य तोक्छन् र सोही मूल्यमा खुद्रा बजारमा पठाउँछन,’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने । उनले तरकारीको भाउ तोक्न व्यवसायीलाई खुला छाडिदिए विकृति झन् बढ्दै जाने भएकाले नियन्त्रण गर्नुपर्ने बताए । थोक व्यापारीले दुई सय प्रतिशतसम्म तरकारीबाट नाफा खाइरहेको अनुगमनले देखाएको उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्