सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्माण अन्त्यतिर तामाकोशी किन अड्काउँदैछ भारत

निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भारतीय कम्पनी टेक्सम्याकाको अटेरीका कारण समयमा सम्पन्न नहुने देखिएको छ । उक्त आयोजनामा हाइड्रोमेकानिकलका सामान आयात तथा जडान गर्ने जिम्मा टेक्सम्याकाले पाएको छ ।

आयात गर्नुपर्ने सामानको आधाजसो मात्रै हालसम्म आयोजना स्थलमा र्पुयाएको छ । उक्त कम्पनीलाई पेनस्टक पाइप जडान र ड्याम साइटका गेटहरु निर्माण गर्ने जिम्मा छ ।

आयोजना समयमै सम्पन्न भए भारतबाट वर्षायाममा बिजुली आयात गर्नु पर्दैन । त्यसबाट भारततर्फ बर्सेनि बाहिरिने रकमसमेत घट्छ । तर, समयमै निर्माण सम्पन्न गर्न भारतीय कम्पनी नै बाधक देखिएको छ ।

गत वर्ष विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गरेवापत १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको थियो । हिउँदमा भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात हुने गर्छ ।

टेक्सम्याकोले हालै आयातको काम अगाडि बढाएको छ । आयोजनाका पेनस्टक पाइपमध्ये केही सिमरासम्म आइपुगेका छन् । सामानहरु समयमै आयात नगर्दा आयोजना नै प्रभावित हुने देखिएको छ ।

केही समय अघिसम्म असार ०७५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, उक्त कम्पनीले समयमै काम अगाडि नबढाएपछि पुस ०७५ तिर मात्रै उत्पादन थाल्ने योजना बनाइएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार टेक्सम्याको कम्पनीले आवश्यक कामदार राख्न पनि आनाकानी गरिरहेको छ । सोही कम्पनीको ढिलासुस्तीका कारण सिभिलको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोको काम पनि ढिलो हुने देखिएको छ ।

सुरुङमा रहेको ‘भर्टिकल साफ्ट’मा पेनस्टक पाइप जडान गर्ने काम टेक्सम्याकोको हो । यसमा कन्क्रिटाइजेसन गर्ने जिम्मा भने सिनो हाइड्रको छ । कुल आठ दशमलव चार किलोमिटरको सुरुङमा दुई वटा भर्टिकल साफ्ट बनाइएको छ, जसमा पेनस्टक पाइप जडान गर्नुपर्छ ।

आयोजनाका अधिकारीहरुका अनुसार हालसम्ममा टेक्सम्याकोले कम्तिमा एउटा पेनस्टक पाइप र ड्याममा दुई वटा गेट जडान गरिसक्नुपर्ने थियो । आयोजनाको सुरुङ आइतबार बिहान ब्रेक थ्रु भइसकेको छ ।

तर, अहिलेसम्म न पेन स्टक पाइप जडान भएको छ, न त गेट नै । आगामी वर्षसम्ममा चार वटै गेट जडान गरिसक्नुपर्छ । हालसम्म दुई वटा गेट जडान भइसक्नुपर्ने हो ।

कामको गति यस्तै रहे माघ ०७५ मा पनि विद्युत उत्पादन सम्भव नरहेको अधिकारीहरु बताउँछन् । किनकि, पेनस्टक पाइप जडान गरेपछि त्यसमा कन्क्रिटाइजेसन गर्न कम्तिमा १० महिना लाग्छ ।

३५ अर्ब ३० करोड रुपैयाँमा निर्माणाधीन छ, उक्त आयोजना । डिसेम्बर २०११ मा भारतको पीटीसीसँग भएको विद्युत व्यापार सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट डेढ सय मेगावाट नेपालले आयात गर्नैपर्ने बाध्यता छ ।

माथिल्लो तामाकोशीको क्षमता चार सय ५६ मेगावाट हो । उक्त आयोजनासँगै अन्य निजी लगानीकर्ताका जलविद्युत आयोजना पनि सञ्चालनमा आउनेछन, जसका कारण केही वर्षमै नेपाल विद्युतमा आत्मनिर्भर बन्न सक्छ ।

माथिल्लो तामाकोशीको स्थलगत अध्ययनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब बाहिरबाट आयातीत ग्यासलाई प्रतिस्थापन गर्नुपर्छ, त्यसका लागि विद्युत नै हाम्रा लागि उपयुक्त विकल्प हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्