सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

छानिछानि गरिव गाउँवस्तीमा किन खुल्छन चर्च ?

दुई वर्षअगाडि आएको भूकम्पले सोत्तर पारेको धादिङको रिचेत गाउँका अधिकांश बासिन्दा अँझै अस्थाई शिविरहरुमा बाँचिरहेका छन् । त्यहाँ केवल चर्च पुनर्निमाण भएको छ । यसका लागि क्रिस्चियन मिसिनरीहरुले खर्च गरेका छन, जसको प्रभाव हिन्दूबहुल राज्य नेपालमा निरन्तर बढिरहेको छ ।

धर्म परिवर्तनलाई कानूनले बन्देज लगाएता पनि विगत दुई दशकयता नेपालमा क्रिश्चियानिटी तीव्र रुपमा फैलिएको छ । गहिरोसँग जरा गाडेको छुवाछुत प्रथाबाट उन्मुक्तिको माध्यमका रुपमा पनि यसलाई धेरैले लिएका छन् ।

दुई शताब्दी भन्दा बढी समयदेखि हिन्दू राजतन्त्रले शासन गरेको देशमा सन् २००८ बाट गणतन्त्र आयो । यहाँ बौद्धमार्गीहरुको संख्या पनि उल्लेख्य छ, विशेषगरी उत्तरी पहाडी इलाकामा । तर, दुर्गम लापा भ्यालीमा, जहाँ रिचेत अवस्थित छ, अहिले क्रिस्चियनको दबदबा बढेको छ ।

पछिल्लो समयमा आफ्नो धार्मिक आस्था परिवर्तन गर्नेमध्ये रिका तामाङ पनि एक हुन, जो आफ्नी आमा बिरामी परेपछि र एक स्थानीय धामीको उक्साहटमा परेर बली दिएको जनावरको पैसा तिर्न नसकेपछि क्रिस्चियन बनेकी थिइन् ।

रिका तामाङले भनिन–‘मसँग जे थियो, त्यो सबै भगवानलाई चढाउनुपर्थ्यो ।’ उनी अहिले लापा उपत्यकाकी पादरी हुन् । उनले अगाडि भनिन, ‘जब म क्रिस्चियन बनेँ, त्यसपछि मैले केही पनि बली दिनुपरेन । मेरो ठूलो बोझ हलुका भयो,’ उनी भन्छिन् ।

सन् २०११ मा गरिएको जनगणना अनुसार नेपालको २ करोड ९० लाख जनसंख्यामा क्रिस्चियनको अनुपात १.५ प्रतिशत मात्रै छ । तर, क्रिस्चियन समूहहरुले आफ्नो समुदायको जनसंख्या ३० लाखभन्दा माथि पुगेको अनुमान गरेका छन् ।

स्थानीयहरुका अनुसार जनगणना गर्दा थरका आधारमा धार्मिक आस्थाको बर्गिकरण गरिएकाले धेरै क्रिस्चियनहरु हिन्दू धर्ममा पर्न गएका थिए । रिचेत धादिङको उत्तरी भागमा पर्छ, जुन क्रिस्चियानिटीले प्रभूत्व जमाएका नेपालका प्रारम्भिक क्षेत्रमध्ये पर्छ ।

चर्चहरुको सञ्जालको क्रियाशीलतासँगै क्रिस्चियानिटी नेपालभरि नै अहिले फैलिइरहेको छ । तर, केहीको भनाइ अनुसार गरिबीले आक्रान्त देशमा पैसाको लोभमा परेर क्रिस्चियन बन्नेहरुको संख्या ठूलो छ ।

रिचेतमा भूकम्पको हलचल साम्यमात्रै भएको के थियो, दक्षिण कोरिया र सिंगापुरका मिसिनरी समूहहरुको चहल–पहल सुरु भयो । उनीहरुले क्षतिको सर्भेक्षण गरे र हिँडे । केही महिनापछि गाउँमा रहेको चर्च पुनर्निर्माणका लागि सिमेन्टका बोराहरु आइपुगे ।

नजिकैको काचेत गाउँको कथा पनि यही थियो, जहाँ एउटा दक्षिण कोरियाली मिसिनरीहरुले लगानी गरेको चर्चको निर्माण सम्पन्न हुन लागेको छ । रिचेतका बासिन्दा अमन तामाङले भने–‘हामी खुशी भएका छौं कि अब चर्चमा प्रार्थनका लागि जाँदा खुला आकाशमुनि बस्नुपर्ने भएन । यदि हाम्रो घरको पुनर्निमाणका लागि पनि पैसा आएको भए हामी झन् खुशी हुने थियौं ।’

बुद्धिष्ट समुदायको बर्चश्व रहेको नजिकैको बोराङ गाउँका अगूवा प्रशान्त तामाङ मान्छे छानि छानि सहयोग वितरण हुँदा समुदायभित्र फाटो आएको बताउँछन् । अगुवा तामाङले भनेका छन–‘क्रिस्चियनहरुले गरिब मानिसलाई समस्या परेका बेलामा सहयोग गरेर धर्म परिवर्तनका लागि घुमाउरो दवाव दिँदा कहिलेकाहीँ विवाद आउने गरेको छ ।’

धर्मान्तरण नेपालमा लामो समयदेखि अवैध कुरा हो । तर, सन् २०१८ बाट कार्यान्वयनमा आउने नयाँ आपराधिक संहिताले यस्तो कार्यमा संलग्नलाई तीन वर्षदेखि पाँच वर्षसम्मका लागि जेल पठाउने व्यवस्था गरेको छ । यस्तो अपराधमा सजायँ पाएका विदेशीहरुलाई आफ्नो सजायँ भुक्तान गरिएपछि देशनिकाला गरिनेछ ।

अधिकारकर्मीहरुले यो कानूनले तीव्ररुपमा बढिरहेका क्रिस्चियन समुदायलाई धक्का दिन खोजेको बताएका छन् । उनीहरुले यो कानूनलाई पाकिस्तानको कडा धार्मिक कानूनसँग तुलना गरेका छन, जसको आडमा अल्पसंख्यक समूहहरुमाथि आक्रमण गरिन्छ ।

‘हामीले देखेका छौं कि पाकिस्तानमा त्यो कानूनमाथि कसरी खेलिन्छ । यदि नेपालमा पनि पर्याप्त सावधानी अपनाइएन भने यो कानूनको दुरुपयोग हुन सक्छ,’ क्रिस्चियन सोलिडारिटी वल्र्डवाइड एड्भोकेसी ग्रुपका दक्षिण एशिया विज्ञ स्टेभन सेल्भराजले भने ।

नेपालमा बढ्दो संख्यामा खुलेका चर्चहरुको सञ्जालले मानिसहरुलाई आकृष्ट गरिरहेका छन् र धेरैको चिन्ता छ कि नयाँ कानून तिनीहरुविरुद्ध प्रयोग हुन सक्छ । ‘नेपालमा रहेका चर्चहरुलाई यस्तो तवरबाट सिकाइएको छ कि सबै अनुयायीहरुले जिससको सन्देश बोकेर जाउन् र अरुलाई यो धर्मका बारेमा बताउन ।’ काठमाडौंका एक पास्टर टंक सुवेदीले भने, ‘उनीहरुलाई पक्राउ गरेर जेल हालिने वा जरिवाना गराइने खतरा नयाँ कानूनले पैदा गरेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS