विवादकाबिच अन्ततः प्रधान्यायाधीशले दिए राजीनामा
लामो विवादका बिच अन्ततः न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए ।
उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै बालुवाटार पनि पुगेका थिए । तर, बिहीबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पराजुलीले राजीनामा दिएको पुष्टि गरेका छन ।
लगत्तै राष्ट्रपति कार्यालयले आजका मितिदेखि लागू हुनेगरी पराजुलीले राजीनामा दिएको जनाएको छ । न्यायपरिषदले भने बुधबार नै प्रधानन्यायाधीशलाई पदमा नरहेको लिखित जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई बोधार्थ दिएको थियो । न्यायपरिषदका अनुुसार पराजुली गत साउन २१ गतेदेखि नै उमेर हदका कारण पदमुक्त भइसकेका छन् ।
न्यायपरिषद र राष्ट्रपति कार्यालय जस्ता दुईवटा महत्वपूर्ण सरकारी निकाय बीचमै पराजुलीको बहिर्गमनको मिति कुन हो भन्नेमा द्विविधा उत्पन्न भएको छ । न्यायपरिषदले पदमुक्त भएको भन्दाभन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पराजुलीबाट सपथ ग्रहण गरेकी थिइन् ।
आफ्नो सपथग्रहणलाई वैधानिकता दिनकै लागि राष्ट्रपतिले हिजै पदमुक्त भइसकेका व्यक्तिको राजीनामा आजको मितिबाट लागू हुनेगरी बुझेकी हुन् । अन्यथा, गत साउन २१ मै पराजुली ६५ वर्ष पुगिसकेका हुन् भने उनको राजीनामा आज (चैत १) देखि मात्रै लागु हुने गरी राष्ट्रपति कार्यालयमा दर्ता हुनु हाँस्यास्पद त छ नै, यसले संविधानको संरक्षक संस्था राष्ट्रपतिको गरिमामाथि पनि प्रश्न उठाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्