सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँअघि मेलम्चीको पानी काठमाण्डौका घरघरमा

बहुप्रतीक्षित मेलम्ची खानेपानी दसैं अघि नै राजधानीमा वितरण हुने भएको छ । मेलम्ची आयोजनाको मंगलबार सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएपछि असोजमै दैनिक १७ करोड लिटर खानेपानी राजधानी आउने भएको हो ।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको तेस्रो एवं अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएको जानकारी दिएकी छिन् । उनले भनिन–‘मेलम्ची खानेपानीका लागि २६ किलोमिटर लामो सुरुङ खन्ने काम आज सकिएको छ, अब सुरुङको फाइनल फिनिसिङ गर्ने, हेडबक्र्स र अन्य केही काम बाँकी छन् तिनलाई लगभग चार महिनामा सक्ने लक्ष्य छ । अब राजधानीबासीले ढिलोमा दसैंअघि नै मेलम्चीको पानी पिउन पाउनेछन् ।’

फागुन ६ गते मन्त्रालय सम्हालेपछि मन्त्री मगरले स्थलगत निरीक्षण गरी रोकिएको काम अघि बढाउन सम्बन्धित व्यवसायी सिएमसी र आयोजना प्रमुखलाई निर्देशन दिएकी थिइन् । उनले २५ दिनभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिए पनि चार दिनअगावै ब्रेक थ्रु भएको हो ।

मेलम्चीको कूल लागत २७ अर्ब ७६ करोडमध्ये हालसम्म २४ अर्ब २२ करोड खर्च भइसकेको छ । बजेटको करिब ८० प्रतिशत एशियाली विकास बैंक र बाँकी सरकारले व्यहोर्नेछ ।

यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर ‘ब्रेक थ्रु’ भएको थियो । यो तेस्रो ब्रेक थ्रुले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने–‘निर्धारीत समयमै काम सकिए असोजको पहिलो साता र प्राविधिक समस्या भए असोजको अन्तिम साता अर्थात् दसैंअघि मेलम्चीको पानी राजधानीमा वितरण हुनेछ ।’

‘ब्रेक थ्रु’ बारेको जानकारी दिन मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने–‘दोस्रो चरणका याङ्ग्री र लार्के नदीबाट पनि दैनिक १७÷१७ करोड लिटर थप गर्ने गरी काम गर्न डिजाइन परामर्शदाता छनोट भई असारसम्ममा विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुँदैछ ।’ दुवैका लागि ११ किलोमिटर सुरुङ खन्नुपर्ने उनको भनाइ छ ।

विभिन्न दातृ निकायसँगको सहकार्यमा मेलम्ची आयोजना निर्माणका लागि लगानी जुटाउने गरी २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम अघि बढाइएको थियो । काम सुरु गरेको २० वर्षपछि मेलम्चीको पानी राजधानी आउने भएको हो । झन्डै तीन वर्ष काम अवरोध गरेपछि सन् २०१२ मा निर्माण व्यवसायी सिआसीसीसँग सम्झौता तोडिएको थियो ।

सरकारी अनुगमनको अभाव, ठेकेदारको लापर्वाही, निर्माण सामग्रीको अभाव र भूकम्पजस्ता कारणले आयोजनाको काम लम्बिएको हो । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सुरुङमार्फत् सुन्दरीजलमा पानी आएको बढीमा १५ दिनमा पाइपमार्फत् घरघरमा पानी पुग्ने बताएका छन ।

‘असोजदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर राजधानीमा आउनेछ भने प्रत्येक घरमा दैनिक ४ घण्टा खानेपानी वितरण हुनेछ’, उनले भने । उनका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा रिजर्भवेयर हुने र सोमध्ये आठवटा निर्माण भइसकेका छन् भने ६ वटा पुराना प्रयोग हुनेछन् ।

उनले भने, ‘एक हजार किलोमिटर पाइप बिछ्याउनु पर्नेमा एक सय किलोमिटरमात्र बिछ्याउन बाँकी छ भने बिछ्याइएकोमा ७० प्रतिशतमा पानी पठाएर परीक्षण पनि गरेका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्