सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

उमेरहद ३२ बर्ष लागु भएपछी नेविसंघमा झट्का

नेविसंघको ११ औँ महाधिवेशनबाट स्वीकृत विधानमा उल्लेख भएअनुसार ३२ बर्षे उमेरहदलाई माउपार्टी नेपाली कांग्रेसले आइतबार सदर गरेपछी बुढ्यौलीसम्म बिद्यार्थी राजनिती गरेर बस्नेहरुको बिचल्ली हुने भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गर्दै विधान स्वीकृत गरिदिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा भन्दा फरक लाईनका रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायत नेताले नोटअफ डिसेन्ट लेखे पनि अन्तत; विधानको व्यवस्थालाई पार्टीले स्वीकृत गरिदिएको छ । ११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख गरिएको थियो ।

तर, महाधिवेशनबाट आएको नेविसंघको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गरेको थियो । यसको पछाडि उनीहरुको तर्क थियो, नियमित अधिवेशन हुने भएपछि ३२ वर्षे लागू गरौं । अहिले पार्टीको संस्थापन समूहले आफ्नो स्वार्थअनुकुल उमेर हद ल्यायो ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम राख्ने निर्णय कांग्रेसले नै गर्यो ।

११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । महरले भने, ‘अन्तिम अथोरिटी पार्टीको केन्द्रीय समिति हो । त्यो भन्दा माथि हाम्रो सुनुवाइ हुने ठाउँ छैन । नेविसंघको महाधिवेशन अब पार्टीले स्वीकृत गरेको विधानअनुसार हुन्छ ।’

नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । त्यसैले दशैं–तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबाव छ । तर, पौडेल र सिटौला समूहका नेताहरु भने यो अवधिमा महाधिवेशन नहुने दाबी गर्छन्न ।

‘विवाद नै नभएपनि हुम्ला, जुम्लाबाट दशैंतिहारको बीचमा कसरी प्रतिनिधि आउँछन ?’ एक नेताले भने–‘अहिले त पार्टीका वरिष्ठ नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन । यस्तो अवस्थामा नैनसिंहले अधिवेशन गर्न सक्दैनन ।’

युवाबाट प्रौढ उमेरमा प्रवेश गर्दा पनि विद्यार्थी नेता हुनेहरु नेविसंघमा थुप्रै छन । वर्तमान अध्यक्ष महर स्वयम ४० कटिसकेका छन । त्यसैले ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि उपयुक्त मात्र होइन, अनिवार्य भइसकेको देउवा, पौडेल, सिटौला सबै समूहका नेताहरु स्वीकार गर्दछन ।

त्यसो भए पौडेल र सिटौला समूहको गलफत्ति किन त ? नेविसंघंमा अहिले देखिएको ३२ वर्षे उमेर हदको समर्थन र विरोध आसन्न महाधिवेशनलाई हेरेर भएको छ ।

नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन । प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले देखिएका छन । हाल महामन्त्री रहेका उनी कृष्ण सिटौलासँग निकट हुन र चुनाव भएको अवस्थामा उनकै पल्ला भारी हुने नेताहरु बताउँछन ।

तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट बाहिरिएका छन । नेताहरुका अनुसार ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गर्नुको मुख्य कारण यही हो ।

रामचन्द्र पौडेल समूहको अवस्था पनि यो भन्दा फरक छैन । भावी अध्यक्षका रुपमा अघि सार्न खोजिएका नेताहरु ३२ वर्ष कटेका छन । उसो त शेरबहादुर देउवा समूहका सरोज थापाहरुलाई पनि ३२ वर्षे उमेर हदले रोक्छ ।

तर, यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सह–महामन्त्री प्रकाशशरण महत निकट उनलाई ३२ वर्ष उमेर हदले छैक्दैन ।

नेविसंघको पदाधिकारीमा ६ जनालाई उमेर हदले छुँदैन । उपाध्यक्षद्वय पवन यादव र सागर परियार, सह–महामन्त्रीत्रय प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल मात्र ३२ वर्ष उमेर नपुगेका छन ।

पवन यादव र चलाउने संस्थापन समूहकै हुन । सागर परियार महामन्त्री शशांक कोइराला निकट मानिन्छन । उनले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको दाबी गर्ने गरेका छन । यसैगरी कोषाध्यक्ष शिव रिमाल नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णका विश्वास पात्र मानिन्छन । कर्ण रामचन्द्र पौडेल प्यानलका हुन ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि प्रेमराज जोशीलाई निकै सहज भएको मानिएको छ । तर, रामचन्द्र पौडेल–कृष्ण सिटौला समूह मिल्यो भने उनीहरुले सोचे जस्तो सहज पनि हुने छैन । किनभने सिटौला समूहको बलमा नैनसिंह अध्यक्ष भएका थिए । यो पटक सिटौला समूह पौडेल समूहसँग मोर्चाबन्दी गर्ने रणनीतिमा छ ।

सिटौैला समूहले यदि ३२ वर्षे लागू भइहाल्यो र अधिवेशन हुने भयो भने कसलाई अघि सार्ने भन्ने समेत तय गरेको छ । स्रोतका अनुसार हाल आदिवासी जनजाति विद्यार्थी संघको अध्यक्ष रहेका दुजाङ शेर्पालाई सिटौला समूहले अघि सार्ने तयारीमा छ । पौडेल समूहमा भने व्यक्ति टुंगिएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS