सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालले भारतीय सेना भित्र्याउन खोजेको खुलासा

वि.स.२०४६ को फागुन २०÷२१ मा जनआन्दोलन निरन्तर बढिरहेकै बखत पाटनको च्यासलमा नेकपा मालेको केन्द्रीय समिति बैठक बस्यो । महासचिवले बैठकमा एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरूले थप एजेन्डाबारे आ–आफ्ना धारणा राख्ने चलन थियो ।

महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधव नेपालले सुरूमै प्रस्ताव राखे–“यो आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।”

महासचिव मदन भण्डारीले सोधे–“के सहयोग ?”
माधवले सगर्व भने– “हतियारको सहयोग ।”
मदनले फेरि सोधे–“हतियार चलाउन तालिम लिनुपर्यो । हामीसँग अनुभवी कार्यकर्ता छन र ?”

“हतियार चलाउने मानिस पनि आउँछन,” माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रमा पुर्याउन सहयोग स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए, माधवले ।

म र सीपीले बोल्न समय मागेका थियौँ । मदनले चुप लाग्न इसारा गरे । र, आफैं बोले–“होइन विवेक (माधवको भूमिगत कालको नाम) कमरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रीय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौँ ।

इतिहासको विकास क्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समय क्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।” माधवको प्रस्ताव माइन्युट त हुन पाएन नै, बोली नै फिर्ता लिन लगाए, मदनले ।

त्यसपछि चैत २ मा च्यासलमै मालेको केन्द्रीय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्वीकृत प्रस्ताव फेरि माधवले दोहोर्याए, “एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ । हतियार नेपालीहरूले नै प्रयोग गर्ने गरी ।”

“कसरी ?” मदनले सोधे ।
“भारतीय सेनामा कार्यरत नेपाली जवानहरूलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरूले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ,” माधवले निर्धक्क भने ।

यसपटक मदनले अघिल्लो पटकभन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै अडानले राष्ट्रघाती कदम रोकियो, त्यसबेला ।

(राधाकृष्ण मैनालीको नलेखिएको ईतिहास पुस्तकबाट)

फेसबुकबाट कमेन्ट गर्नुहोस्