पुर्वसांसद धिमालले किन गरे दशैंको बेला आत्महत्या ?
गत शनिबार मध्यराति बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका–२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा देखे । शव रहेछ, पूर्वराष्ट्रिय पञ्चायत सदस्य (पूर्वसांसद) कर्णबहादुर धिमालको ।
दशैंको मुखमा ७० वर्षे धिमालले आफ्नो एकतले घरको बुइँगलमा शनिबार राति डोरीको पासो लगाएर आत्महत्या गरेका हुन । धिमालले आफू जीवितै हुँदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका रहेछन । तर, धरानस्थित वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले उनको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइदियो ।
दशैंका बेला टाढा–टाढा रहेका परिवारजनको भेटघाट र मिलन हुने गर्छ । तर, यस्तो चाडबाडको मुखमा पूर्वसांसदजस्तो सचेत व्यक्तिले किन आत्महत्या गरे होलान् ? दशैंमा आफ्ना सन्तानलाई आर्शिवाद दिनुपर्ने बेलामा धिमालले आखिर किन सन्तानलाई रुवाउने बाटो रोजे ? धिमालको आत्महत्यापछि यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो ।
सोमबार धिमाल निवासमा पुग्दा बाटो छेउको पुरानो घर लगभग सुनसान थियो । झार पलाएको आँगनमा तीनरचारजना मानिस थिए । केही खाली कुर्सीहरु थिए । भित्र छोरा सेतो पहिरनमा बुबाको काजकिरिया गरिरहेका थिए । सहयोगीका रुपमा भतिज र भाञ्जा खटिएका थिए । भतिज कविन्द्रराजले घटना सविस्तार विवरण सुनाएः
शनिबार राति एम्बुलेन्स चालकले बाटैदेखि घरमा लास झुण्डिइरहेको देखेछन् । त्यसपछि त्यहीँबाट बेलबारी प्रहरीलाई फोन गरेछन् । प्रहरी गस्तीमा अन्तै निस्किएको रहेछ । पछि प्रहरी आइसकेपछि मलाई काकाकै मोबाइलबाट राति २ बजेतिर फोन आयो । म काकाको घरभन्दा अलि पर बस्छु । त्यहाँ हाम्रो धिमाल दाजुभाइहरुको गाँवै छ । यो घरमा चाहिँ काकामात्रै एक्लै बस्नुहुन्थ्यो । घरमा अरु कोही थिएनन् ।
प्रहरीको फोन आइसकेपछि मैले राति नै गाउँका अरु दाजुभाइलाई उठाएँ । काठमाडौंमा रहेका छोरा र श्रीमतीलाई पनि खबर गरें । हामी आइसकेपछि प्रहरीले लासको प्रकृति मुचुल्का उठायो । उहाँले राति कोठाबाट बाहिर निस्केर बुइँगलमा पासो लगाउनुभएछ । डोरी बाँध्ने ठाउँ अलि अग्लो भएकाले मुढा राखेर चढ्नुभएछ । लासको छेउमा मुढा पनि थियो ।
प्रहरीले लास उठाइसकेपछि पोष्टमार्टमका लागि धरान घोपा (वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान) पठायो । त्यो दिन शनिबार थियो, त्यत्तिकै भयो । हामी अस्पताललाई लास बुझाएर आयौं । छोरा अभिमन्युले म बेलुकासम्म आइपुग्छु भनेका थिए ।
उनी मोटरसाइकलमै काठमाडौंबाट आइपुगे । काठमाडौंमै बस्ने काकी (कर्णबहादुरकी श्रीमती) बिरामी हुनुभएकाले आउनुभएन । काठमाडौंमा रहेकी बुहारी पनि बच्चा सानै भएकाले आइनन् । छोरामात्रै आए । अहिले उनी कोरामा बसेका छन् ।
काका पहिले–पहिले किचनमा आफैं पकाएर खानुहुन्थ्यो । पछि भाञ्जाले नजिकैको होटलमा खाना खाने व्यवस्था गरिदिएका थिए, बिहान बेलुकै होटलमै खानुहुन्थ्यो । उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो । एक हप्ता पहिले उहाँलाई अलि गाह्रो भयो । छिमेकीहरु आएर अस्पताल लैजान्छौं भन्दा मान्नुभएन ।
एकजना पूर्वसैनिकले छातीमा मालिस गरेपछि ठीक भयो र उठ्नुभयो । पहिले पनि मुटुको समस्याले अस्पताल लगिएको थियो । पछिल्लो समय उहाँलाई हर्निया पनि भएको थियो । उहाँ अत्यधीक पिउन थाल्नुभएको थियो ।
काकाको गोजीमा एउटा कागज भेटिएको थियो । उहाँले आफ्नो शरीर अस्पताललाई दान दिनुभएको रहेछ । त्यसैले अस्पताललाई दिइसकेको लास फिर्ता दिँदैन भन्ने लाग्यो । लास धरानमै थियो, अब कसरी सदगति गर्ने भन्ने समस्या भयो । यो हाम्रा लागि नयाँ विषय बन्यो ।
मलाई एकजना दमकको साथीले भन्यो कि हाम्रोमा पनि एकपटक यस्तै भएको थियो र हामीले कुशको प्रतिमा बनाएर सदगति गरेका थियौं । मैले यो कुरा सबैलाई सुनाएँ र कुशको बनाएर जलाउन सकिने कुरा गरेको थिएँ ।
हामी धरानबाट फर्कँदा कुशको शव बनाउन थालिसकेका रहेछन् । तर, शरीर दान गरे पनि पोष्टमार्टम गरेको लास अस्पतालले जिम्मा नलिन सक्छ र फिर्ता गर्न सक्छ भन्ने कुरा चल्यो । अहिले कुशको बनाएर जलाऔंला, भोलि अस्पतालबाट लास फिर्ता आयो भने दुईचोटि सदगति गर्नुपर्ने हुन्छ, त्यसैले आज नगरौं भन्ने निर्णय भयो ।
आइतबार हामी वीपी प्रतिष्ठानमा रजिष्ट्रारलाई भेट्न गयौं । त्यहाँ यही विषयमा बैठक चलिरहेको रहेछ । त्यहाँबाट इमर्जेन्सीमा जानोस भने । । इमर्जेन्सीमा पुग्दा शवगृहमा जान भने ।
शव गृहमा पुग्दाखेरि मोटरसाइकल दुर्घटनामा मृत्युभएका बेलबारीकै दुईजना भाइहरुको पोष्टमार्ट हुन लागेको रहेछ । उनीहरुको शव परिवारलाई बुझाएपछि काकाको पनि शव फिर्ता दिए । पोष्टमार्टम गर्नुपर्ने केस भएको लास अस्पतालले जिम्मा लिँदैनरहेछ । त्यसपछि हामीले साँझमा बेलबारीको लोहोन्द्र खोलामा उहाँको सदगति गर्यौं ।
को हुन् त पुर्वसांसद कर्णबहादुर धिमाल ?
कर्णबहादुर झापा–मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन् । उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन् । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निश्क्रिय र स्वतन्त्र थिए ।
लालभित्ती चोकै छेउमा सानो घरमा बसोबास गर्दै आएका उनी सामान्य जीवन यापन गरिरहेका थिए । स्थानीयका अनुसार उनी जीवनको उत्तरार्धमा अत्यधीक मादक पदार्थ सेवन गर्थे । पारिवारिक तनावमा भएकाले पनि उनी मादक पदार्थमा बढी लागेको स्थानीयको भनाइ छ ।
वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए । त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ ।
रापंस बनेपछि धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने । ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए ।
१६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने । ०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्चसमेत मनोनित भएका थिए ।
०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदान स्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए । उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए ।
धिमालले आत्महत्या गर्नुको कारण के थियो ? उनले आफ्नो सुसाइट नोटमा यसबारे खुलाएका छैनन् । शरीरमा भेटिएको कागजमा शरीर दानको कुरोमात्रै उल्लेख भएको आफन्तहरु बताउँछन् । तर, स्थानीय लालभित्तीका बासिन्दाहरु भने पारिवारिक तनाव र एक्लोपनका कारण धिमालले आत्महत्या गरेको हुनसक्ने बताउँछन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्