यसरी तुहाइयोे नेपाललाई सिक्किम बनाउने योजना
पञ्चायतकालमा मात्रै होइन, ०४६ सालताका पनि धनी कम्युनिष्ट भनेर चिनिन्थे, अमिक शेरचन । उच्च मध्यमवर्गीय परिवारमा जन्मेका उनी कम्युनिष्ट नेताहरू मध्ये धनीमै गनिन्थे ।
जनपक्षीय उम्मेद्वार बनेर ०४२ सालमा चुनाव लडेका शेरचन पटक–पटक सांसद भए । ०६२÷०६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारमा उनले उप–प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले ।
नेकपा माओवादीसँग शान्ति वार्ता गराउन महत्वपूर्ण भूमिका खेलेका शेरचनलाई प्रधानमन्त्री र राष्ट्रपति बन्ने अफर पनि आयो । तर, लाभको पदमा पुग्न उनी लालायित भएनन् ।
०६२–०६३ को जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका शेरचन राजनीतिक बैठकमा भाग लिन जाँदा भने रमाइलो दृष्य देखिन्थ्यो । सरकारी परिभाषाअनुसार ज्येष्ठ नागरिक भइसक्दा पनि उनी हरेक बैठकमा चाइनिज मोटरसाइकलमा पुग्थे ।
उनी साढे तीन दशकदेखि मोटरसाइकल चढ्ने गरेको बताउँछन् । सुरक्षाकर्मीविना हिँड्न पाइने, जाममा नपर्ने जस्ता फाइदा छन्, मोटरसाइकल चढ्नुको । तर, उनको मोटरसाइकलकै कारण एक दिन आठ दलको बैठक पनि रोकियो ।
जनआन्दोलन सफल भएपछि भारतले नेपाललाई सिक्किमजस्तै बनाउन कस्तो प्रस्ताव ल्याएको थियो ? भन्ने प्रसंगबारे नेकपाका नेता अमिक शेरचनको बयान जस्तोको त्यस्तैः
अन्तरिम सरकारका बेलामा गिरिजाबाबु नेतृत्वको सरकारमा उप–प्रधान तथा स्वास्थ्य मन्त्री थिएँ । विश्व स्वास्थ्य संगठनको एउटा कार्यक्रममा सहभागी भइरहेका बेला तुरुन्त आउनुपर्यो भन्नुभयो । म उहाँको घर पुग्दा एक्लै हुनुहुँदो रहेछ । मुलुकका लागि गम्भीर संकट देखा पर्न थाल्यो भन्नुभयो ।
परराष्ट्रसम्बन्धी नीति निर्माण गर्दा दिल्लीसँग सरसल्लाह गर्नै पर्ने थालनी तँपाईले शुरु गर्नुपर्यो भन्ने प्रस्ताव भारतले गरेको रहेछ । भारतले भुटानी करणको प्रस्ताव राख्यो । मेरो विचारमा यो अल्टिमेट्ली सिक्किमीकरणको प्रस्ताव हो ।
यसमा तपाईको अहम भूमिकाको खाँचो छ । मेरो क्याबिनेटमा तपाईलाई मात्रै विश्वास गर्नसक्छु यो कुरामा भन्नुभयो । तँपाईले पनि एक, दुई जना विश्वासिलो मान्छे बोलाउनु । म पनि एक दुई जना विश्वासिलो साथीहरू बनाउँछु । अनि एउटा नीति बनाउनुपर्यो । भारतले यस्तो प्रस्ताव राखीसकेपछि त हामीले दबाव दिनैपर्छ भन्दा नभन्दै उहाँले म त कसैलाई बोलाउँदिनँ भन्नुभयो ।
मैले किन भनेको ? उहाँले यो नेपाली कांग्रेस पार्टी भए पो बोलाउने । नाम मात्रै नेपाली कांग्रेस हो । यहाँ त भारतीय कांग्रेस, दरबारिया कांग्रेस, अमेरिकन कांग्रेस, पाकिस्तानी कांग्रेस, हुँदाहुँदा अहिले त चाइनिज कांग्रेस पनि छन् भन्नुभयो । सबै कांग्रेस भएपछि एक सेकेन्डमा सबै ठाउँमा सूचना पुग्छ, म त बोलाउँदिनँ भन्नुभयो ।
डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलालाई त बोलाउनुस भनेको उहाँले मान्नुभएन । मेरो सुझाव मान्नुहुन्छ भने तपाईले पनि कसैलाई नबोलाउनुस् भन्नुभयो । हाम्रो पार्टीका साथीहरूको विषयमा पनि उहाँलाई केही सूचना थियो होला ।
मन्त्रिपरिषद् बैठकमा यस्तो प्रस्ताव आयो भने तपाईले विरोध गर्नुस् । यो प्रस्तावमा छलफलै नगर्ने वातावरण बनाउनु पर्छ भन्नुभयो । नभन्दै मन्त्रिपरिषदमा यो प्रस्ताव आयो । र, मैले गिरिजाबाबुसँग भएको पूर्वसहमति अनुसार अहिलेको मुख्य एजेण्डा शान्ति प्रक्रिया हो ।
त्यसैले एक सुत्रीय शान्ति प्रक्रियाको एजेण्डामा केन्द्रित होउँ । शान्ति स्थापना भएपछि विकास, आर्थिक वा अरु कुरामा छलफल गरौंला भने । त्यसपछि गिरिजाबाबुले अमिकजीको कुरा ठिकै हो अहिले छलफल नगरौं भन्नुभयो ।
अर्को मन्त्रिपरिषद् बैठकमा फेरि उही प्रस्ताव आयोे । हामीले त्यसरी नै डिफ्युज गर्यौं । सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको मलाई याद छ । मलाई गिरिजाप्रसाद राजनीतिक रुपमा इमान्दार मात्रै होइन, नम्बर वन देशभक्त पनि रहेछन् भन्ने लाग्यो ।
त्यतिबेला गिरिजाप्रसादले अर्को पनि बचन लिनुभएको थियो । म विरामी छु । कुनै पनि बेलामा उपचारको खाँचो पर्नसक्छ । साथीहरूले भारतमा लगेर मार्छन् । उनीहरू उपचार गर्न लैजान्छन अनि पक्कै मेरो सास भारतमा जान्छ ।
मेरो अन्तिम अवस्थामा भारत लान खोजियो भने तपाईंले रोक्नुस् भन्नुभयो । नेपालकै माटोमा मर्न चाहन्छु भन्ने उहाँको भनाइ थियो । गिरिजाबाबुको निधन हुनुभन्दा केही समय पहिला शिक्षण अस्पतालमा उपचार चलिरहेको थियो । एअर एम्बुलेन्समा राखेर भारत लैजाने तयारी पनि चलीरहेको थियो । गिरिजाबाबुलाई भेटेर त्यो कुरा भनौ भनेर सोधेँ ? उहाँले भन्नुहोस् भन्ने इशारा गर्नुभयो ।
त्यसपछि मैले गिरिजाबाबु विदेश जान्न भन्नुभएको छ । त्यहाँ रामचन्द्र पौडेलजी लगायत सबै हुनुहुन्थ्यो । छोरीलाई समेत नभनेको कुरा तपाईलाई मात्रै भन्नुभएछ भनेर सबैले अचम्म माने । तर, अन्तिम इच्छा विपरीत उहाँलाई भारत लगिएन । र उहाँको नेपालमै निधन भयो ।
उहाँ भारतपरस्त पनि होइन र देशभक्त हो भन्ने पनि प्रमाणित भयो । मलाई लाग्यो कुनै पनि नेतालाई चिन्न लामो समयको सहकार्य आवश्यक पर्दो रहेछ । कुनै पनि नेताको विषयमा एकचोटि धारणा बनाइहाल्न नहुने रहेछ भन्ने लाग्यो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्