सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हजुरबा बेहुला, हजुरआमा बेहुली अनि छोरानाति जन्ती

हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती  । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै ।

सुन्दै अचम्म लाग्ने यो चलन रामेछापको टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । यो उनीहरुको युगौंदेखिको परम्परा । मगर समुदायमा भागी विवाह गर्ने चलन छ । करिब ९० प्रतिशतले भगाएकै हुन्छन् ।

त्यसैलाई औपचारिकता दिन उनीहरू समय मिलाएर समाजलाई साक्षी राखी धुमधामसँग बिहे गर्छन् । भागेर आएका जोडीले जति बूढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन् ।

स्थानीय शिक्षक निलबहादुर मगरले भने–‘अरूको के कुरा, मैले नै ३ जना छोरा लाठे भएपछि गत वर्ष बल्ल विवाह गरेँ । हाम्रो चलनै यस्तै छ ।’ अर्का स्थानीय पूर्णबहादुर मगरले ७० वर्ष कटेपछि बल्ल बिहे गरे । त्यतिबेला उनका नातिनातिना नै जवान भइसकेका थिए । बिहे गरेको केही समयमै उनको मृत्यु भयो ।

भागेर जाने चेलीलाई माइतीले सहजै नस्विकार्ने भएकाले विवाह गर्न ढिलाइ हुने गरेको हो । माइतीको सहमति पर्खंदासम्म उनीहरूको उमेर छिप्पिइसकेको हुन्छ । छोराछोरीका आमाहरू बेहुली बनेर श्रीमान र जन्ती साथै लगी माइत जान्छन् ।

बेहुलीले माइती पक्षलाई श्रीमान देखाउँदै दुलहा स्विकार्न अनुरोध गर्छिन् । माइती पक्षले दुलहा स्विकार्दा ठेकी समाउन दिने चलन छ । त्यसलाई शुभसगुन मानिन्छ । माइतीले ठेकी समाउन दिने सन्देश पठाएपछि मात्र दुलहा पक्ष बिहेका लागि जान पाउँछ ।

विवाहमा एक रात पूरै बित्छ । इष्टमित्र बोलाइन्छन । राँगा काटेर भोज हुन्छ । स्थानीय लवबहादुर मगरले भने–‘टीका लगाएर पैसा हाल्ने धेरै हुन्छन, चेलीबेटीले सगुन दिने चलन छ । ठूलो परिवारमा ८०–९० जनासम्म चेलीबेटी हुने भएकाले वैवाहिक कार्यक्रम लम्बिन्छ ।’

दुलही लिएर घर फर्केपछि फेरि दुलहा पक्षको भोज चल्छ । बाबुआमाको विवाहमा छोराछोरीले सघाउँछन् । दोरम्बा गाउँपालिकाको टोकरपुरका सिगार्चे, निङ्ग्रे, साल्मे लगायत क्षेत्रमा झन्डै ४ सय परिवार मगरको बसोबास छ । यि तीन ओटै गाउँमा यस्तो चलन छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्