सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा भित्र को बलियो ? नेपाल–श्रेष्ठ कि, प्रचण्ड–ओली ?

नेकपाको असोज ५ मा बसेको केन्द्रीय सचिवालयको बैठकका निर्णय सम्बन्धमा सचिवालय सदस्यहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असहमति कायमै राखेपछि यो विषयलाई अब स्थायी समितिले निर्णय गर्नुपर्ने भएको छ । नेपाल र श्रेष्ठको असहमतिले नेकपाभित्र दुई गुट सिर्जना भएको छ ।

प्रचण्ड–ओली र नेपाल–श्रेष्ठको दुईओटा गुट देखिएपछी पार्टीभित्र कसको गुट बलियो भन्ने चर्चा पनि सुरु हुन थालेको छ । उसो त स्वभाविक रुपमा ओली र प्रचण्ड समायोजन पुर्व तत्कालिन पार्टीका पनि अध्यक्ष र समायोजनपछी एकिकृत पार्टीको पनि अध्यक्ष भएकाले बलियो हुनु स्वभाविकै हो ।

तर माधव नेपालले उठाएका मुद्दा र पार्टी नेता कार्यकर्ता जिम्मेवारीबिहिन भएकाले माधव–नारायणकाजी गुटलाई पनि कमजोर आँक्न सकिन्न । नेता नेपाल घाना र प्रवक्ता श्रेष्ठ चीन भ्रमणमा रहेका बेला असोज ५ को केन्द्रीय सचिवालय बैठकले सात वटै प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको चयन गरेपछी नेपाल र श्रेष्ठ रुष्ट बन्दै आएका छन् ।

सहमतिमा गर्नुपर्ने निर्णय आफू नभएको बेला गरिएको भन्दै बरिष्ठ नेता नेपालले २२ असोजको सचिवालय बैठकमा असहमति पत्र दर्ता गराएका थिए । नेपालको असहमति पत्रका सम्बन्ध कार्तिक ५ गते सोमबारको बैठकमा छलफल त भयो । तर उनले उठाएका माग पुरा भएनन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘यसअघि भएका निर्णय पूर्णतया कार्यान्वयन गरेर जाने निर्णय गरौँ’ भनेर कार्तिक ५ गतेको बैठक टुङ्ग्याएका थिए । त्यसमा बरिष्ठ नेता माधव नेपाल र प्रवक्ता श्रेष्ठले असहमति जनाएपछि अध्यक्षद्वयले ‘त्यसो भए स्थायी समितिमा छलफल गरौँला’ भन्ने जवाफ दिएका थिए ।

त्यसैले, अब यो विषय आगामी कार्तिक १२ र १३ मा बस्ने नेकपा स्थायी समितिमा पुग्ने भएको छ । ‘सचिवालयबाट टुङ्गो नलागेपछि अब यो विषय स्थायी समितिमा पुग्छ’ नेकपा केन्द्रीय सदस्य बिष्णु रिजाल भन्छन–‘के गर्ने भन्ने कुराको टुङ्गो अब स्थायी समितिले नै लगाउँछ ।’

नेकपाको स्थायी समिति ४६ सदस्यीय छ, जसमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी केन्द्रबाट १९ जना छन् । केन्द्रीय सचिवालयमा रहेका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र बिष्णु पौडेल स्थायी समितिमा पनि छन् ।

स्थायी समितिमा रहेका पूर्व एमाले नेताहरुमा सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, रघुवीर महासेठ, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र किरण गुरुङ छन् ।

यसैगरी पूर्व माओवादी केन्द्रबाट स्थायी समितिमा देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, मात्रिका यादव, गणेश साह, लेखराज भट्ट, देबेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा र मणि थापा छन्।

केन्द्रीय सचिवालयको कार्तिक ५ को बैठकमा नेपाललाई पूर्व माओवादी केन्द्रबाट आएका नारायणकाजी श्रेष्ठले मात्र साथ दिए । असोज ५ को निर्णयप्रति असहमति जनाउँदै १२ असोजमा नेपालले चियापान कार्यक्रम आयोजना गर्न सहभागी भएका वामदेव गौतम भने पछिल्लो बैठकमा मौन रहे ।

कार्तिक १२–१३ मा हुने स्थायी समिति बैठकमा पूर्व माओवादी पृष्ठभूमिका थोरैमात्र स्थायी समिति सदस्यले नेपाललाई साथ दिने सम्भावना छ । त्यसमध्ये प्रवक्ता श्रेष्ठलाई साथ दिँदै आएका गिरिराजमणि पोखरेलको मात्र नेपालले साथ पाउन सक्छन् । असोज ५ को बैठकबाट कुनै जिम्मेवारी नपाएका अन्य केहीले पनि नेपाललाई साथ दिन सक्छन् ।

स्थायी समितिमा नेपाल पक्षीय पूर्व एमाले पृष्ठभूमिका सदस्यहरु उल्लेख्य संख्यामा छन् । पछिल्लो समय नेपाललाई साथ दिँदै आएका स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल लगायतको साथ नेपालले पाउन सक्छन् ।

हुन त, अष्टलक्ष्मी शाक्य, भीम आचार्य पनि नेकपाभित्र नेपाल पक्षीय नेताकै रुपमा चिनिन्छन । तर असोज ५ को बैठकबाट जिम्मेवारी पाएकाले उनीहरुले नेपाललाई साथ नदिन सक्छन् । यसमध्ये शाक्यले प्रदेश–३ को ईञ्चार्जको जिम्मेवारी पाएकी छन् भने आचार्य प्रदेश–१ को ईञ्चार्ज बनाइएका छन् ।

मोटामोटी रुपमा हेर्दा के देखिन्छ भने, कार्तिक १२–१३ मा हुने स्थायी समिति बैठकमा नेपालले आफू सहित घटीमा १० जना स्थायी समिति सदस्यको साथ पाउन सक्छन् । उनले उठाएका एजेण्डा सही नै भएकाले उनलाई साथ दिने स्थायी समिति सदस्यहरुको संख्या बढेर २० सम्म पनि पुग्न सक्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्