सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साबधान ! जमिनमुनिको पानि निकाल्नु खतरानाक

जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी ’रिचार्ज’ हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ ? यसको पछिल्लो उदाहरण इरानको राजधानी तेहरानमा देख्न सकिन्छ ।

पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ । भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका केही भाग वर्षको २५ सेन्टिमिटरका दरले भासिँदै गएको बताएका छन् ।

जर्मन रिसर्च सेन्टरका भूगर्भ वैज्ञानिकहरूले सन् २००३ देखि २०१७ सम्मको स्याटलाइट तस्बिरका आधारमा यस्तो निष्कर्ष निकालेको ‘नेचर डटकम’ ले लेखेको छ । उक्त रिसर्च सेन्टरले तेहरान र वरिपरिको भौगर्भिक अवस्थितिबारे अध्ययन गरिरहेको छ ।

करिब १ करोड ३० लाख जनसंख्या रहेको तेहरानमा खानेपानी तथा सिँचाइ निम्ति भूमिगत पानीको व्यापक प्रयोग हुन्छ । जमिनमुनिबाट अत्यधिक पानी खिच्दा भूमिगत स्रोत रित्तिन गई भासिन थालेको वैज्ञानिकहरूले बताएका छन् ।

अत्यधिक कंक्रिट संरचना निर्माणले यो समस्या अझ बढाएको छ । कंक्रिट संरचनाले जमिनमुनि पानी ‘रिचार्ज’ हुने ठाउँ दिँदैन । यही कारणले तेहरानमा भूमिगत पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेकोबारे यसअघि पनि थुप्रै अध्ययन भएका थिए ।

जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनले नयाँ तथ्यांक सार्वजनिक गरेको हो । अध्ययनअनुसार तेहरानको पश्चिमी क्षेत्रमा भासिने क्रम सबभन्दा तीव्र छ । यो ठाउँ वर्षको २५ सेन्टिमिटरका दरले भासिँदैछ । यो राजधानी तेहरानको अत्याधुनिक स्याटलाइट सहर र कृषिजन्य भूमि भएको ठाउँ हो ।

सिँचाइ र निर्माण कार्यमा प्रयोग हुने पानी भूमिगत स्रोतबाटै निकालिँदै आएको छ । त्यस्तै, सहरको दक्षिणपूर्वमा पर्ने कृषिजन्य क्षेत्र पनि यही दरमा भासिँदैछ । यो पनि बढी भूमिगत पानी प्रयोग हुने ठाउँमा पर्छ ।

यसले के देखाउँछ भने, जमिन भासिनु र भूमिगत पानीको स्रोत बढी चलाउनुमा प्रत्यक्ष सम्बन्ध हुन्छ । जुन ठाउँमा जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तानिन्छ, त्यहाँको जमिन सुख्खा हुँदै जान्छ । जमिन भासिने र खाल्डो पर्ने समस्या बढी देखिन्छ । तेहरानका यी दुई क्षेत्रमा पनि ठाउँ–ठाउँ जमिन भासिएर खाल्डो परेका छन् ।

इरानको राजधानी तेहरानमा जमिनमा परेको खाल्डो ।

उता, तेहरानको दक्षिणपश्चिममा भासिने क्रम वार्षिक ५ सेन्टिमिटर छ । यो अन्र्तराष्ट्रिय विमानस्थल भएको ठाउँ हो । ‘तेहरानमा जमिन भासिने दर संसारकै सबभन्दा उच्चमध्ये पर्छ,’ स्पेनको एलिकान्ट विश्वविद्यालयका इञ्जिनियर रोबर्टो टोमसले भनेका छन् ।

भूमिगत पानी, तेल, ग्यास र अन्य खनिज पदार्थ अत्यधिक मात्रामा उत्खनन् गर्दा जमिन भासिएका उदाहरण अन्य सहरमा पनि पाइन्छ । जनसंख्या वृद्धि पनि जमिन भासिनुको अर्को कारण हो ।

स्याटलाइट तस्बिरका आधारमा भूभर्ग वैज्ञानिकहरूले इन्डोनेसियाको राजधानी जकार्ताका केही भाग वार्षिक २० सेन्टिमिटर भन्दा बढी भासिँदै गएको तथ्यांक निकालेका छन् । त्यस्तै, अमेरिकाको क्यालिफोर्नियास्थित सान हुआकिन उपत्यकामा त यो अझ बढी छ । यहाँ जमिन भासिने दर वार्षिक ६० सेन्टिमिटरसम्म पाइएको छ ।

जर्मन रिसर्च सेन्टरको पछिल्लो अध्ययनअनुसार जमिन भासिने समस्याबाट तेहरानको सहरी क्षेत्रका १० प्रतिशत भूभाग प्रभावित छन् । दक्षिणपूर्वी क्षेत्रमा रहेका स्याटलाइट सहर र गाउँमा पनि यो समस्या बढ्दै छ ।

‘यी क्षेत्रमा यसो हिँडडुल गर्दा पनि जमिन भासिएका दृश्य प्रशस्तै देखिन्छन्,’ अनुसन्धानकर्ता भूगर्भ वैज्ञानिक माहदी मोटागलाई उद्धृत गर्दै नेचर डटकमले लेखेको छ, ‘यहाँ ठाउँ–ठाउँमा सडकको सतह नै उबडखाबड छन् । पर्खालमा चिरा परेको देखिन्छ भने कतिपय भवनहरू ढल्किएका छन् । कतिपय ढल्किएका भवन पूरै भत्काउनुपर्ने अवस्था छ ।’

जमिन भासिने क्रम बढ्दै जाँदा तेहरानको दक्षिणपश्चिम क्षेत्रमा कयौं किलोमिटर लामो चिरासमेत परेको छ । यो चिरा चार मिटरसम्म फराकिलो र गहिरो छ । यसले बिजुली प्रसारण लाइन र रेल्वे ट्रयाकमा असर पार्ने सम्भावना बढेको छ ।

तेहरान र वरिपरिको क्षेत्रमा १ सय २० किलोमिटर लामो रेल्वे लाइन छ भने २ हजार ३ सय किलोमिटर सडक र २१ वटा पुल छन् । त्यस्तै, ३० किलोमिटर पेट्रोलियम पाइपलाइन, २ सय किलोमिटर ग्यास पाइपलाइन, ७० किलोमिटर लामो हाई–भोल्टेज विद्युत प्रसारण लाइन र २ लाख ५० हजारभन्दा बढी भवन छन् ।

लगातार जमिन भासिँदै जाँदा यी संरचना जोखिममा परेको भूगर्भ वैज्ञानिकहरू बताउँछन् । यति मात्र होइन, भूमिगत पानीको प्रयोग बढ्नाले जमिनमा खाल्डा परेका देखिन्छन् । केहीअघि त्यस्तै एउटा खाल्डोमा एक स्थानीय किसान घन्टौंसम्म अड्किएका थिए । त्यो खाल्डो लगभग छ मिटर गहिरो भएको उनको अनुमान थियो ।

भूमिगत पानीको दुरुपयोग रोक्न यहाँ सरकारी स्तरमा नियमन पनि हुँदै आएको छ । देशभरिमा करिब १ लाख गैरकानुनी इनारमा प्रतिबन्ध लगाइएको छ । अझै पनि ३० हजार इनार गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्