सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गर्लफ्रेन्ड, जागिर भन्दा पनि प्यारो के हो यो ‘पब्जी’

काठमाडौँ, मध्यबानेश्वरस्थित चिकेन स्टेसन रेस्टुरेन्टमा तीन जना युवा मोबाइलमा झुम्मिरहेका थिए । मोटो फ्रेम भएको चस्मा लगाएका एक जना युवा भन्दै थिए, ‘त्यसलाई हान–हान् !’ खैरो ज्याकेट लगाएर कुनापट्टि बसेका अर्का युवा थप्दै थिए, ‘मार–मार त्यसलाई मार !’

उनीहरू सारा दुनियाँ बिर्सेर मोबाइलमा मग्न थिए । उनीहरू अहिलेको लोकप्रिय इन्टरनेट गेम ‘पब्जी’ खेलिरहेका थिए । उनीहरूमध्येका एक हुन्, मिडिया स्टडिजमा ब्याचलर्स गर्दै गरेका काठमाडौँका मनीष कोइराला । साथीहरूसँग उनी भन्दै थिए, ‘केटाहरू हो, मलाई त यो गेम खेल्न थालेपछि ट्वाइलेट पनि जान नपरे हुन्थ्यो जस्तो लाग्छ ।’

दोलखाबाट फार्मेसी पढ्न आएका अर्का युवा निश्चल बस्नेत मनीषलाई जिस्काउँदै भन्दै थिए–‘ट्वाइलेट जान मन नलागे क्याथेटर लगाएर युरिन ब्यागमा पिसाब जम्मा गर न त ।’

इटहरीका युवा सुशान्त भण्डारी भने उनीहरूसँग दुखेसो पोख्दै थिए । ‘म सोझो मान्छेलाई पनि तिमीहरूको संगतले फसायो ।’ उनले भने–‘घरमा आमाबाउ छोरो पढेर बस्या होला भनेर मख्ख परेका होलान् । आफूलाई यहाँ पब्जी खेल्न पाए केही चाहिँदैन ।’ उनलाई उछिन्दै मनीषले भने, ‘खेल–खेल, केही हुँदैन । तँ आईटी इन्जिनियर बन्ने भनेको होइन ? त्यस्तो मान्छेले यो गेम खेल्नुपर्छ क्या !’

मनीष युद्धका फिल्महरू धेरै हेर्ने भएकाले पब्जी एकदमै मन पर्ने बताउँछन् । ‘साथीहरूसँग गु्रप बनाएर खेल्दा झन् मज्जा आउँछ,’ उनले भने ‘कहिलेकाहीँ खेल्दिनँ भनेर मन बाँधेर बस्छु । फेरि खेल्न मन लागिहाल्छ । खेल्दिनँ भनेर सय चोटि अनइन्सटल गरेँ होला । खेल्न मन लागेपछि फेरि इन्सटल गरिहाल्छु ।’

निश्चल यो गेम एकछिन खेल्न पाएन भने आफूलाई तलतल लाग्ने बताउँछन् । ‘पहिला–पहिला हजुरआमाले ‘चुरोटको तलतल लाग्यो’ भन्नुहुन्थ्यो,’ उनले भने, ‘यो तलतल भनेको के होला जस्तो लाग्थ्यो । अहिले थाहा पाउँदै छु ।’ यो गेममा लाइभ कुराकानी गर्दै खेल्न मिल्ने भएकाले आफूजस्ता युवा यतातिर आकर्षित भएको उनी बताउँछन् । ‘लाइभ च्याट गर्दै खेल्न मिल्ने भएकाले आफैँ त्यहाँभित्र छु जस्तो हुन्छ,’ उनले भने, ‘गोली ठोकेर आफ्नो दुश्मनहरूलाई मार्न पाउँदा कसलाई मज्जा नआउला ।’

सुशान्तलाई गेम जितेपछि पाउने ‘विनर विनर चिकेन डिनर’ले गेम खेल्न झन् हौस्याउँछ । ‘त्यो चिकेन डिनर खान त मिल्दैन,’ उनले भने, ‘तर, खाएको भन्दा बढी मज्जा आउँछ । ब्रोन्ज, सिल्भर, गोल्ड, प्ल्याटिनम हुँदै डायमन्ड लेभलमा उक्लिन थालेपछि त झन् पब्जी छोड्नै मन लाग्दैन ।’

पब्जी अर्थात् ‘प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स’ । पब्जी अहिले नेपाली युवा पुस्तामाझ ट्रेन्डमा रहेको गेम हो । यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ । रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो । अहिले यो करोडौँ मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ ।

पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको यो गेमले त्यो बेला खासै सफलता हात पारेको थिएन । एन्ड्रोइड र आईओएस भर्सनमा प्रवेश गर्नेबित्तिकै यसको चर्चा ह्वात्तै चुलियो । गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ । ‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बन्न सफल भएको छ ।

भक्तपुर, ठिमीका रुकेश सुवेदी ‘पब्जी लभर’ हुन् । ‘साथीहरू गर्लफ्रेन्डबिना बाँच्न सक्दिनँ भन्छन्,’ उनले हाँस्दै भने, ‘आफू भने पब्जीबिना बाँच्न सक्दिनँ भन्ने स्थिति आएको छ ।’ उनले यो गेम खेल्न थालेको तीन महिना भयो । ‘सबै जनाले पब्जी पब्जी भन्थे,’ उनले भने, ‘के रहेछ भनेर खेल्न थालेको… खेलेपछि छाड्नै मन लागेन ।’

रुकेश पहिलादेखि नै फायरिङ गेमहरू खेल्थे । ‘फ्री फायर’, ‘काउन्टर स्ट्राइक’को पनि आफू फ्यान भएको उनी बताउँछन् । ‘पब्जी खेल्न थालेपछि बाँकी सबै गेम खेल्न छाडियो,’ उनले भने, ‘अरू गेममा त के नपुगेको, के नपुगेको जस्तो लाग्छ । धेरै गेम खेल्यो भनेर घरमा गाली गर्न थालिसके । गाली गरे पनि छाड्नै मन लाग्दैन ।’

काठमाडौँ, नक्सालमा बस्ने विकास थापाले पनि पब्जी खेल्न थालेको चार महिना भयो । उनी दिनमा आठ घण्टासम्म पब्जीमा बिताउँछन् । ‘गेम खेल्न थालेपछि कसैले बोलाए पनि सुन्दिनँ,’ उनले भने, ‘मोबाइलमा फोन आयो भने पनि उठाउन मन लाग्दैन ।’

पब्जी खेल्न थालेपछि गर्लफ्रेन्डसँग समेत झगडा सुरु भएको उनले बताए । ‘गेम मात्रै खेलेर बस्यो, मलाई समय दिएन भन्छिन्,’ उनले भने, ‘एक जना खेल्ने एक जना नखेल्ने भयो भने साह्रै झ्याउ हुँदो रहेछ । ब्रेकअप होला कि भन्ने पो पिर लाग्न थालेको छ ।’

काठमाडौँ, साँखुका सागर दाहाल पब्जीलाई अहिलेसम्मको उत्कृष्ट गेम मान्छन् । ‘यसको ग्राफिक्स एकदमै राम्रो छ,’ उनले भने, ‘गेम खेल्दा कन्ट्रोल गर्न एकदमै सजिलो छ । दुई जीबी र्याम भएको मोबाइलमा पनि चल्छ । तर, राम्रो चल्नका लागि चार जीबी र्याम हुनुपर्छ ।’ बेरोजगारीले गर्दा युवा पुस्ता यतातिर ढल्किएको उनको बुझाइ छ । ‘जागिर–सागिर पाइँदैन,’ उनले भने, ‘वर्षौंसम्म बेरोजगार भएर बस्नुपरेको छ । गेम नखेलेर के गर्ने त ?’

खेलमा तल्लीन हुन थालेपछि मानिसहरू वास्तविक जीवनबाट टाढा हुँदै जाने मनोचिकित्सक रवि शाक्य बताउँछन् । ‘रातभरि नसुती गेम खेल्दा ‘स्लिपिङ डिसअर्डर’ हुन्छ,’ उनले भने, ‘यसले शारीरिक र मानसिक दुवै खालका समस्या निम्त्याउँछ । यसरी गेममा लीन हुने मानिसहरू झनक्क रिसाउने, अरूको कुरा नसुन्ने र आक्रामक खालका हुन्छन् ।’

पब्जी एडिकः कोही जाँच बिर्सिने, कोही जागिर छाड्ने
काठमाडौँ, धुमबाराहीका अजय लिम्बू प्लस टू साइन्सका विद्यार्थी हुन् । उनी पब्जीको ठूलो फ्यान पनि हुन् । उनले पब्जी खेल्न थालेको छ महिना भयो । ‘साथीहरूले त साह्रै ‘एडिक्ट नै भइसकिस्’ भन्छन्,’ उनले भने, ‘खेल्न थालेपछि मरिन्छ । मरेपछि अर्को गेममा अरूलाई पनि मार्न मन लाग्छ । जसरी पनि जित्नैपर्छ भन्ने हुन्छ । जितेपछि त झन् खेलेको खेल्यै हुन्छ ।’ उनीसँग दिनमा १६ घण्टासम्म लगातार पब्जी खेलेको अनुभव छ ।

‘कहिलेकाहीँ त खानासमेत खान बिर्सिन्छु,’ उनले भने, ‘वाइफाई नचलेको बेला र मोबाइलमा चार्ज नभएको बेला कता जाऊँ र के गरूँ हुन्छ । आफ्नोमा वाइफाई नभएको बेला रातभरि सिँढीमा बसेर छिमेकीको वाइफाई कनेक्ट गरेर चलाउँछु ।’ पब्जी खेल्न थालेपछि सुत्ने, उठ्ने, खाने, पढ्ने केही कुराको पनि ठेगान नहुने उनी बताउँछन् ।

‘एकचोटि त ‘पढे नि फेल, नपढे नि फेल’ भन्दै पब्जी खेलेर बसेँ,’ उनले भने, ‘रातभरि पब्जी खेलेर बिहानीपख भुसुक्कै निदाएछु । जाँच दिनै बिर्सिएँ । पब्जीले क्लासका टपरहरूको जाँच त ध्वस्त भएको छ, मेरो त के कुरा भयो र !’ अजयले अहिलेसम्म पब्जीमा दुई हजारभन्दा बढी गेम खेलिसके । एउटा गेम सक्न आफूलाई आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने उनी बताउँछन् । पुरानो मोबाइलमा पब्जी नचलेपछि घरमा आफूले नयाँ मोबाइल किन्न लगाएको समेत उनी बताउँछन् ।

काठमाडौँ, कपनका युनिक लामिछानेलाई पब्जीको लत लागेपछि उनी हुँदाखाँदाको जागिर छाडेर घरमै बसेका छन् । ‘एउटा एजुकेसनल कन्सल्ट्यान्सीमा काम गर्थें,’ उनले भने, ‘पब्जी खेल्न थालेपछि खेलेरै मात्र बस्न मन लाग्छ । रातभरि गेम खेलेर टाइममा अफिस जान नसकेपछि जागिरै छोड्दिएँ ।’ पब्जीबाट पनि पैसा कमाउन सकिन्छ भन्ने उनको धारणा छ ।

‘विदेशमा राम्रो खेल्ने प्लेयरहरूले कति पैसा कमाइसके,’ उनले भने, ‘लाइभ पब्जी खेलेर युट्युबमा करोडौँ सब्स्क्राइबर कमाउनेहरू पनि छन् । नेपालमा मात्रै केही नयाँ कुरा आउनेबित्तिकै नेगेटिभ कमेन्ट आउन थाल्छ ।’ यो गेमको नकारात्मक मात्र नभएर सकारात्मक पक्ष पनि भएकोे उनी बताउँछन् । ‘यसले जीवनदेखि डिप्रेस्ड र फ्रस्टे«टेड युवालाई कुलत र सुसाइडबाट बचाएको छ,’ उनले भने, ‘टेन्सन भएको बेला यो गेम खेल्न थाल्यो भने सबै टेन्सन दूर हुन्छ ।’

हाल अस्ट्रेलियामा बस्दै आएका काठमाडौँ, वसुन्धराका रोशन अधिकारी काममा छुट्टी लिएर भए पनि पब्जी खेल्छन् । ‘खेल्ने लत लागेपछि अचम्म हुँदो रहेछ,’ उनले फेसबुकमार्फत भने, ‘म मात्रै होइन, कमाउनका लागि भनेर आफ्नो देश छोडेर आएका धेरै जना यहाँ पब्जी खेलेर बस्छन् ।’

डाक्टर, पाइलटदेखि बैंकरसम्म पब्जीका किरा
झापाको मेची अञ्चल अस्पतालमा कार्यरत डा. नरेश भण्डारी पब्जीका पारखी हुन् । काम र पढाइको तनाव कम गर्न बेलाबेला आफू पब्जी खेल्ने उनी बताउँछन् । ‘यो गेम रिलिज भएदेखि नै खेल्न थालेको हुँ,’ उनले भने, ‘सोलोभन्दा पनि साथीहरूसँग गु्रप मिलाएर खेलिन्छ । कामको व्यस्ताले भेट्न र कुरा गर्न नपाएका साथीहरू गेममा भेटिन्छन् ।’

डा. भण्डारी पहिला पनि क्यान्डी क्रसलगायत अन्य गेम खेल्ने बताउँछन् । तर, पब्जी भने अरू गेमभन्दा फरक र रमाइलो भएको उनको अनुभव छ । ‘फुर्सदको समयमा दिक्क लाग्दा पब्जी खेलेपछि रिफ्रेस भइन्छ,’ उनले भने, ‘यो गेममा पर्फेक्ट खालको कम्पिटिसन भएकाले कम्पिटिसनको भाव पनि जगाउँछ । एकले अर्कालाई कसरी हेल्प गर्नेदेखि अप्ठ्यारो समयमा कसरी लड्ने भनेर पनि सिकाउँछ ।’

सीता एयरमा कार्यरत को–पाइलट सागर गुरागाईं पनि फुर्सद मिलेको बेला पब्जी खेल्ने बताउँछन् । ‘मोबाइल गेमहरू म पहिलादेखि नै खेल्थेँ,’ उनले भने, ‘प्रायः गेम रमाइलोका लागि खेलिन्छ । पब्जी रमाइलो मात्रै होइन, एकदमै रमाइलो छ । साथीहरूलाई भेला पारेर खेल्न झनै रमाइलो ।’ यो गेम खेल्दा कुनै पनि सीप विकास नहुने उनी बताउँछन् । ‘तैपनि, खेल्न मन लागिहाल्छ,’ उनले भने, ‘पब्जीबाट केही समय ब्रेक पनि लिएँ । खेल्न नपाएको बेला एकदमै धेरे मिस हुन्छ । त्यसैले फुुर्सद मिलाएर खेलिहाल्छु ।’

काठमाडौँ, बौद्धकी सुनीता थापा नबिल बैंककी कर्मचारी हुन् । उनी पब्जी खेलाडी पनि हुन् । उनले खेल्न थालेको दुई महिना मात्र भयो । ‘सबैको मोबाइलमा देखेर मलाई पनि खेल्न मन लाग्यो,’ उनले भनिन्, ‘अफिसमा खेल्ने कुरा भएन । बेलुका घरमा आएपछि खेल्छु ।’ पहिला मोबाइलमा कहिल्यै गेम नखेलेको बताउने उनले खेलेको यो पहिलो गेम हो । ‘योभन्दा पहिला मैले कहिल्यै कुनै गेम खेलेको थिइनँ,’ सुनीताले भनिन्, ‘लाइभ कुराकानी गरेर खेल्ने भएकाले आफू नै त्यो गेमभित्र छिरेर खेलेको जस्तो लाग्छ । यो गेम खेल्दा अर्के दुनियाँमा पुगिन्छ ।’

पब्जीले जुराएको एउटा जोडी
‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजले केही दिनअगाडि एउटा पोस्ट सेयर गर्यो । पोस्टमा बेहुला–बेहुली थिए । बिहेमा दुवैले मोबाइलमा पब्जी देखाउँदै खिचेको फोटो केही दिनयता भाइरल बन्यो । उनीहरू पोखराका अमित बराल र विजया लक्ष्मी खनाल हुन् । उनीहरूको पब्जी खेल्दाखेल्दै प्रेम परेर बिहे भएको थियो ।

तस्बिरः रुटिन अफ नेपाल बन्दबाट ।

सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्दै अमितले भने–‘हाम्रो पब्जी खेल्ने क्रममा नै भेट भएको थियो । लाइभ कुराकानी गर्दागर्दै कति बेला माया बस्यो, पत्तै भएन ।’ उनीहरूको त्यो पोस्टलाई सामाजिक सञ्जालमा हजारौँले लाइक, सेयर र कमेन्ट गरेका छन् । कमेन्टमा सागर खत्री नाम गरेका व्यक्तिले लेखेका छन्, ‘लभ पर्नका लागि पब्जी खेल्नुपर्ने रहेछ, म भने जमानादेखि लुडो खेलेर बसिराको थिएँ । आजदेखि आफू पनि यसरी नै पब्जी खेल्न थालिन्छ ।’

पब्जी विरोधी पनि छन्
भक्तपुर, बालकोटकी इन्दिरा थापा पब्जीकी विरोधी हुन् । उनी पब्जीदेखि आफूलाई एलर्जी भएको बताउँछिन् । ‘एक जनालाई ‘पब्जी कि गर्लफ्रेन्ड ?’ भनेर सोधेकी थिएँ,’ उनले भनिन्, ‘पब्जी भन्ने जवाफ आयो । पब्जीले मान्छेलाई आफ्नो सम्बन्ध नै बिर्सिने बनाइसक्यो । पब्जीलाई यति माया र मेहनत गर्ने खेलाडीहरू वास्तविक जीवनसँग पनि लड्न सिक्नुपर्यो ।’

पब्जीले मनोरञ्जन दिएको मात्र होइन, मानिसहरूको समय बर्बाद पनि गरिरहेको उनको धारणा छ । ‘जसलाई फोन र्गयो ‘पब्जीमा बिजी छु, एकछिनमा फोन गर न है’ भन्छन्,’ उनले गुनासो गरिन्, ‘पब्जीको लागि खर्चिने समय आफ्नो र आफ्नो परिवारका लागि खर्चेको भए के–के भइसक्थ्यो ।

साथीहरूलाई नखेल न भनेर सम्झायो भने ‘जहाँ पब्जी, त्यहाँ सब चिज भन्छन् ।’ युवाहरू यसरी नै दिन प्रतिदिन पब्जीको पछाडि लाग्दा देशलाई घाटा हुने उनी बताउँछिन् । ‘आफू चाहिँ गेम खेलेर बस्ने, अनि समृद्धि चाहियो भनेर कहाँबाट आउँछ,’ उनले भनिन्, ‘अरूले बनाएको गेम खेल्नुपर्छ भन्ने चेत छ ।

त्यस्तै खालको प्रविधि हामी पनि विकास गर्नुपर्छ भन्ने अलिकति पनि छैन । यस्तै हो भने भोलि हातमा आएका अवसरहरू पनि गुमाउनुपर्ने स्थिती आउँछ ।’ यसरी अरूले बनाइदिएको गेम खेलेर बस्ने समय कुनै उत्पादनशील काममा लगाउन उनी सल्लाह दिन्छिन् । ‘पब्जीले न आफूलाई फाइदा गर्छ, न देशलाई,’ उनले भनिन् ।

गेम कुलत नबन्न मनोचिकित्सक डा. रवि शाक्यको सल्लाह
इन्टरनेट गेमको लत पनि धूम्रपान, मद्यपान र लागुपदार्थको जस्तै भयानक डरलाग्दो लत हो । प्रायः गेम एक पटक खेलेपछि खेलौँ–खेलौँ लाग्छ । त्यो पब्जी मात्रै नभएर अरू गेम पनि हुन सक्छ । यदि कसैले आफूलाई नियन्त्रणमा राखेर कुनै पनि गेम खेल्छ भने त्यो समस्या भएन । त्यसलाई रोग पनि भन्न मिल्दैन । तर, कोही व्यक्ति त्यसैमा तल्लीन भएर आफूलाई नियन्त्रण गर्न सकिरहेको छैन भने त्यो रोग हो । त्यसलाई हामी ‘इन्टरनेट गेमिङ डिसअर्डर’ भन्छौँ ।

यो विश्वव्यापी रूपमा फैलिएको रोग हो । नेपाल मात्र नभएर यो संसारभरिको समस्या र चासोको विषय हो । चीन, कोरिया, जापानजस्ता देशमा यो समस्या विकराल छ । छिमेकी देश भारतलाई पनि यो समस्याले गाँजिसकेको छ । अन्य विकसित देशमा त स्थिति झन् भयावह छ । गेममा दिन प्रतिदिन मानिसहरू ‘एडिक्ट’ हुँदै गइरहेका छन् ।

गेम भन्ने कुरा खेलुञ्जेल रमाइलो लाग्छ । खेल्छ छाडेपछि ‘के गरौँ गरौँ’ भनेर छटपटी हुन्छ । एडिक्सन हुँदा दिमागमा केही परिवर्तन आउँछन् । यस्तो अवस्थामा मानसिक र शारीरिक दुवै समस्या देखापर्छन् । टाउको दुख्यो, निद्रा लागेन, रिस मात्रै उठ्छ भनेर उपचार गर्न आउने प्रायःको मुख्य कारण मोबाइल, गेम र इन्टरनेट बनेको छ ।

खानपिन नै छाडेर गेम खेलेर बिरामी परेर उपचार गराउन आउने पनि छन् । विदेशमा त्यस्ता केसहरूले मानिसको मृत्युसमेत भएको सुनिन्छ । यो विषय मानसिक स्वास्थ्यको मुद्दा बनिसकेको छ । केही देशले लतबाट छुटाउन सुधारगृह खोलेको पनि पाइन्छ । त्यहाँ बिरामीलाई मोबाइल, कम्प्युटर र इन्टरनेटबाट टाढा राखिन्छ ।

जहाँ इन्टरनेटको सुविधा छ, त्यहाँ यस्तो खालको समस्या अवश्य भित्रिन्छ । नेपालमा पनि इन्टरनेटको पहुँच सहज बन्दै गएकाले यस्तो समस्या भित्रिएको हो । यस्तै रूपले अगाडि बढ्दै जाने हो भने बिस्तारै यसले एक दिन भयानक अवस्था लिने देखिन्छ ।

त्यसैले हामीले सुरुको अवस्थामा नै ध्यान दिनुपर्छ । आनीबानी, बोलीचाली र लवाइखवाई समाजको मूल्य–मान्यताअनुसार चल्छ । त्यस्तै, मोबाइल, कम्प्युटर र इन्टरनेट पनि कहाँ चलाउने, कति चलाउने भन्ने विषयलाई सामाजिक मूल्य–मान्यता र परिधिसँग जोड्नु जरुरी छ । यसो गरिएन भने भोलि मान्छे मान्छेसँग होइन, टेक्नोलोजीसँग बोल्न र साथी बनाउन थाल्छ । मानिस सामाजिक र व्यावहारिक हुनै छाड्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्