बोल्नै नसक्ने भए अनसनरत डा.गोबिन्द केसी
उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरु हेरेरै फर्किन्छन् । २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ ।
उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किँदैन । मुस्किलले साउती गर्छन् । परेला पाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन् ।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ । सुत्न अप्ठेरो भएको छ । मुटुको धड्कनमा उतारचढाव आइरहेको छ । शरीरमा पोटासियम अत्यन्त न्यून छ । डा.श्रेष्ठले भने–‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ ।’
रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो । तर उनले नमानेको केसीका भाइ किशोरले बताएका छन् । प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ । डा.श्रेष्ठले भनेका छन्–‘डब्लुबीसी निकै कम छ । उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ ।’
डा.केसी गणेशमानसिंह भवनको साधारण शैयामा छन् । पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो ।
अनशन नगर्न डाक्टरहरुलाई अस्पतालको अपिल
डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले सामूहिक रिले अनशन सुरु गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि गणेशमान सिंह भवनको प्राङ्गणमा अनशन जारी छ । अस्पतालले भने उनीहरुलाई अनशन नबस्न अपिल गरेको छ ।
यसप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जनाएका छन् । अस्पतालमा कुनै धर्ना, विरोध, बन्द, हड्तालको कार्यक्रम नराखिदिन र मुलुकको ऐन नियम एवं चिकित्सकीय नैतिक दायित्व अनुरुप नियमित सेवा प्रदान गर्न उनले अपिल गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरु गरेको विरोध कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रिले अनशन बसेका चिकित्सकविरुद्ध सोमबार दिउँसो केही व्यक्ति मुठभेडमा उत्रिन थालेपछि प्रहरी संख्या बढाइएको छ ।
डाक्टर अनसन बसे पनि घटेनन् बिरामी
चिकित्सकहरु अनशनमा बसे पनि शिक्षण अस्पताल आएका बिरामीले सेवा पाइरहेका छन् । सोमबार १५ सय बिरामीले ओपीडी टिकट काटेर उपचार गराएका थिए ।
आइतबार एक हजार चार सय ९९ जनाले सेवा लिएका थिए । कार्यकारी निर्देशक खड्गाले सेवा प्रभावित नभएको बताए । उनले भने–‘बिरामी घटेका छैनन् । उपचार पाइनँ भन्ने गुनासो पनि सुनिएको छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्