सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीको मिर्गौलामा समस्या, अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछी ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ ।

यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा भने यसबारे केही उल्लेख गरिएको छैन । प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको छ ।

KP Sharma Oli

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ । प्रधानमन्त्रीको सचिवालयले सूचना लुकाउन जोड गरिरहेको छ । प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुँदै गर्दा उनको सचिवालय टीमका सदस्यहरुले नियमित चेकजाँच गरेर अस्पतालबाट प्रधानमन्त्री फर्कन लागेको सञ्चारमाध्यमलाई बताएका थिए ।

तर नेकपाको उच्च स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलासिस गरिने जानकारी प्राप्त भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउनमा स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो । २ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा. सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्मिक रुपमा डायलासिस गरिएको छ । चिकित्सकहरुका अनुसार किड्नीले काम गर्न छाडेपछि डायलासिस गर्ने गरिन्छ ।

एक चिकित्सक भन्छन्–‘किड्नीले क्षणिक रुपमा काम नगरेको भए डायलासिस गरेपछि फेरि काम गर्न सक्छ । त्यस्तो भएमा फेरि डायलासिस वा ट्रान्सप्लान्ट गर्नु पर्दैन । नभए लगातार डायलासिस वा ट्रान्सप्लान्ट गर्नुपर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्