सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘मृत्यु मार्ग’ले परिचित सिद्धबाबामा सुरुङ बनाईने

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा सुरुङमार्ग बनाउन बजेट सुनिश्चित भएको छ । ‘मृत्यु मार्ग’का रुपमा चिनिने यो सडक पहिरोको उच्च जोखिमपूर्ण क्षेत्र हो । जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया थालेको थियो ।

सुरुङ मार्ग निर्माण गर्न अर्थ मन्त्रालयले १० अर्ब १५ करोड बजेटको सुनिश्चितता दिएको छ । मंसिर १ को अर्थमन्त्री स्तरीय बैठकले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेट स्वीकृति दिएको हो ।

बजेटको सुनिश्चिततासँगै केही दिनभित्रै निर्माण कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशव शर्माले यसै वर्ष निर्माण सुरु हुने बताए । उनले भने–‘एकाध महिनाभित्र ग्लोबल टेन्डर आह्वान गर्छौं, आर्थिक वर्षभित्रै निर्माण सुरु हुनेछ ।’

Siddababa Pahiro

सुरुङमार्ग साढे दुई वर्षभित्र बनाइसक्ने योजना छ । सिद्धबाबामा सुरुङ मार्ग बनाउने विषयमा केही वर्षयता बहस भइरहेको थियो । लुम्बिनी–पोखरा जोड्ने महत्वपूर्ण सडक भएकाले सुरुङ नै समस्याको समाधान भएकाले निर्माण प्रक्रिया थालिएको हो ।

प्रतिनिधिसभाका सांसद विष्णु पौडेलले सुरुङ मार्गसँगै डबल लेनको सडकसमेत निर्माण हुने बताउँछन् । पौडेलले भने–‘सुनौली–कोरला सडकको दीर्घकालीन सोचसहित सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निकालिएको हो ।’

रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोगमार्फत सुरुङ मार्गको भौगर्भिक अध्ययन गरिएको थियो । ड्रिलिप नेपालले प्लानेट टेस्ट प्रालिमार्फत गरेको अध्ययनले सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन दिएको थियो ।

सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुनेछ । चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब ११ सय मिटरको हुने अनुमान छ ।

सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रकै पहिरोका कारण असुरक्षित मानिन्छ । यहाँ पछिल्ला पाँच वर्षमा करिब डेढ सयको मृत्यु भएको छ भने सयौंको अंगभंग भएको छ ।

यो सडकमा पहिरो खस्नका लागि पानी पर्नुपर्दैन । दुई वर्षअघि मात्रै लुम्बिनी मेडिकल कलेजबाट बिरामीको उपचार गरेर फर्किंदै गरेका ३ डाक्टरको चर्काे गर्मीमा खसेको पहिरोमा च्यापिएर मृत्यु भएको थियो ।

सिद्धबाबा क्षेत्र पत्रे चट्टानको भएकाले पहिरो जाँदा पुरिएर धेरैको ज्यान गएको छ । ७ वर्षअघि एउटा बस पहिरोमा पर्दा ३२ यात्रु एकै चिहान भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्