सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुध बेचेरै नातिनीलाई नर्स, छोरालाई गाडी

६८ वर्षकी नवसरा खत्री शनिबार सबेरै तुलसीपुर रजौरामा भेटिइन् । झिसमिसे अँध्यारोमा टर्च बालेर लम्कीरहेकी उनले पिठ्युमा झोला भिरेकी थिइन् । मंसिरको यो चिसोमा उनी मर्निङ वाक हिँडेकी होइनन् । उनी किसान हुन् । घरमै पालेको भैंसीको दूध विक्री गर्न सबेरै घर–घर पुग्ने गरेकी छन् ।

‘नानी, ए नानी ! ढोका खोल त दूध आयो,’ उनले यसैगरी घरघरमा पुगेर सबेरै भन्छिन् । सिरकमुनि तातो गरी सुतिरहेका मानिसहरू आँखा मिच्दै ढोका खोल्छन् । दूध बोकेर घरघर पुग्ने खत्रीको दिनचर्या नै बनेको छ । ‘हिजोआज १४ मानाजति दूध बेच्छु,’ उनले सेतोपाटीसँग भनिन् ।

उनको घर तुलसीपुर उपमहानगर १० गौरीगाउँ हो । दूध विक्री गर्न बजार आउजाउ गर्दा हरेक दिन करिब १४ किलोमिटर हिँड्नुपर्छ । उनले वर्षौंदेखि दूध विक्री गर्दै आएकी छन् । ‘पाँच रुपैयाँ माना हुँदादेखि दूध बेचेकी हुँ,’ उनले विगत सम्झँदै भनिन्, ‘अहिले मानाकै ४० पुगिसक्यो ।’

Agro Business
६८ वर्षकी नवसरा खत्री

उनलाई अरूलाई जस्तो शनिबार बिदा हुँदैन, हिउँद होस् या बर्खा दूध बेच्न सहर धाउनुपर्छ । उनलाई रोगले दुःख दिएको छैन । छ–सात वर्ष पहिले पत्थरीको शल्यक्रिया गरेकी थिइन् । त्यसयता कुनै रोगले दुःख नदिएको उनले सुनाइन् ।

उनका पतिले संसार छाडेको पनि ९ वर्ष भइसक्यो । सहारा दुई छोरा हुन् । तीमध्ये जेठो कमल जेलमा छन् । कान्छा पूर्ण साउदी अरब । ‘बुढा बित्नुभयो । कमाउने बेला जेठो छोरो जेलमा परिगो,’ उनले भनिन्, ‘नातीनातिनालाई खुवाउन र पढाउन त्यही दूध बेचेको पैसाले धानेकी छु ।’

खत्रीले भैंसीको दूध बेचेरै मासिक ११ हजार देखि १५ हजार हजार रूपैंयाँसम्म बचत गर्दै आएकी छन् । ‘दूध बेचेकै पैसाले एउटा नातिनीलाई नर्स र अर्की नातिनी र नातिलाई गाउँकै बोर्डिङमा पढाएकी हुँ,’ उनले भनिन् । उनले दूध विक्रीबाट आएको पैसा नातिनातिना पढाउने, घरखर्च चलाउने र भैंसी किनेको किस्ता तिर्दै आएकी छन् ।

उनले एक लाख १५ हजार रूपैंयाँमा भैंसी किनेकी थिइन् । पहिले नै भैंसी किन्दा लागेको ऋणको किस्ता गाउँकै समूहमा तिर्न बाँकी रहेको उनले सुनाइन् । उनले नयाँ पुस्ताका मानिस अल्छी भएको बताइन् । ‘अहिलेका मानिस अल्छी छन्, नजिकै जानुपरे मोटर चढ्छन्,’ उनले भनिन्, ‘म त दिनहुँ हिडेरै घरदेखि बजारसम्म पुगेर फर्किन्छु ।’

तुलसीपुरमा दूध विक्री गर्ने किसान अरू पनि छन् । तुलसीपुर १२ रझेनाका ५६ वर्षे डिल्लीबहादुर बस्नेत २०३२ सालदेखि दूध विक्री गर्दै आएका किसान हुन् । ‘मानाको ५० पैसामा दूध बेचिन्थ्यो,’ ४४ वर्षअघिका कुरा सम्झँदै उनले थपे । उनी साइकल चढेर दिनहुँ आठ किलोमिटर टाढा सहर पुगेर दूध विक्री गरेर घर फर्किन्छन् ।

Agro Business
तुलसीपुर १२ रझेनाका ५६ वर्षे डिल्लीबहादुर बस्नेत

‘तुलसीपुरका अञ्चलाधीशलाई पनि दूध बेचेको थिएँ,’ उनले भने, ‘त्यसबेला एक रुपैयाँ मानामा दूध बेचिन्थ्यो ।’ आफू सानो हुँदा नै बा बितेकोले धेरै दुःख पाएको उनले सम्झिए ।

‘घर नजिकै स्कुल थियो तैपनि पढ्न पाइएन,’ उनले भने, ‘बा हुनुहुन्थेन, एक्ली आमाले घर व्यवहार धान्ने कि मलाई पढाउने ?’ तर उनले गाउँकै इन्द्रबहादुर बस्नेतबाट कखरा भने सिकेका थिए ।

उनले हिजोआज आठ माना दूध विक्री गर्छन् । ‘कतै ३५ रुपैयाँ माना बेच्छु कतै त ४० मा,’ उनले भने । दूध विक्रीबाट संकलन गरेको पैसा उनले छोरालाई दिने गरेका छन् । ‘छोरालाई गाडी किन्न पनि सघाएँ,’ उनले खुसी हुँदै भने, ‘बुहारीलाई फेन्सी पसल खोल्न पनि सघाएको हुँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्