सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुरको भुल्केमा भारतबाट आएका युवाबाट कोरोना

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतबाट आएका एक युवक भएको निष्कर्ष नजिक आफूहरु पुगेको प्रदेश सरकारका एक उच्च अधिकारीले बताएका छन् ।

भुल्केमा पहिलो पटक ५ वैशाखमा १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नुरी मस्जिदमा बसेका १६ जमातीमध्ये ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

अहिले बाँकी चार जमातीसँगै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । र, थप स्थानीयको थ्रोट स्वाब परीक्षणको क्रममा छ । कोरोना संक्रमित भारतीय जमातीहरुले आफूहरु चार महिनायता नेपालमै रहेको बताएका छन् ।

मोरङ, सुनसरी, सप्तरी हुँदै उदयपुर आइपुगेका हौं र, लडकाउन भएपछि यही छौं । त्यसो भए उनीहरुमा देखिएको कोरोनाको स्रोत कहाँ हो त ? यो प्रश्नले सरकारी अधिकारीहरुको टाउको खाएको थियो ।

मस्जिद आसपासको क्षेत्रमा गरिएको परीक्षणका क्रममा थप संक्रमित भेटिए । र, उनीहरु मस्जिद र जमातीहरुको क्लोज सम्पर्कमा भएकाहरु नै थिए । ९ वैशाखमा थपिएका ११ संक्रमितको सम्पर्क ट्रेसिङले भने नयाँ ट्वीस्ट ल्याएको छ ।

Corona

भारतको उत्तर प्रदेशबाट आएका एक युवक र उनको परिवारका थप चार जना संक्रमित भेटिएका छन् । लकडाउन हुनुभन्दा ६ दिन अगाडि अर्थात चैत ४ गते उनी घर फर्किएका थिए ।

रेलमार्गबाट जोगबनी र त्यसपछि सार्वजनिक सवारी चढेर उनी झुल्केस्थित आफनो घर पुगेका थिए । भारतबाट फर्किँदा नै उनलाई ज्वरो आएको थियो । स्थानीय मेडिकलबाट औषधी किनेर खाएको समेत खुलेको छ ।

लखनउमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका उनी मस्जिदमा आउजाउ गर्थे । स्थानीयको नमुना संकलन गरेर परीक्षण गर्दा उनको पोजेटिभ आयो । र, परिवारको सदस्यहरुको पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

‘युपीबाट आएका युवामा संक्रमण देखिएको छ,’ प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘उनको परिवारका सदस्यहरुमा पनि संक्रमण देखिएकाले उनीबाटै परिवार र समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको निष्कर्ष नजिक प्रदेश सरकार पुगेको छ ।’

अब १६ जना जमाती नुरी मस्जिद पुग्नुअघि बसेको मस्जिद र त्यस आसपासका क्षेत्रमा कोरोना परीक्षण गर्ने र त्यहाँ कसैमा पनि संक्रमण नभेटिए भुल्केमा देखिएको कोरोनाको स्रोत तिनै युवक मानिने उनले सुनाए ।

त्रियुगा नगरपालिका–३ को भुल्केमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएपछि बिहीबार पहिलो पटक प्रदेश सरकार ‘हटस्पट’ मा पुगेको छ । भुल्के पुगेर कोरोना संक्रमण नियन्त्रणका प्रयास, स्थानीय समस्याबारे सरोकारवालासँग छलफल गरेका सामाजिक विकासमन्त्री घिमिरेले युपीबाट आएका युवाबाट परिवार र समुदायमा संक्रमण फैलिएको निष्कर्ष नजिक आफूहरु पुगेको बताए ।

फागुन पहिलो साता दुबईबाट आएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको भए पनि उनीहरुको परिवारका अरु सदस्यको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

उदयपुरमा कोरोना उपचार केन्द्र बनाउन एक करोड छुट्याएको भन्दै उनले प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका थिए । छलफलमा जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्तिको अभाव रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले पनि प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको तर अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउने क्रम नरोकिएको बताए ।

प्रदेश सांसद नारायण बुर्जामगर, अम्बिका थापा, विमल कार्की, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिएको गुनासो गरेका छन् ।

बिहीबार नै थप ६० जनाको स्वाब संकलन गरी परीक्षणको लागि कोशी अस्पताल पठाइएको छ । प्रदेश सरकारको जनस्वास्थ्य टोलीले चौदण्डीगढी नगरपालिका–५ स्थित शिवाही क्षेत्रका ५८ जनाको नमुना संकलन गरेको हो ।

नुरी मस्जिदमा बसेका जमातीहरु त्यस क्षेत्रमा बसेकाले उनीहरुको सम्पर्कमा आएका मानिसहरुको थ्रोट स्वाब संकलन गरिएको मन्त्री घिमिरेले बताए । सिवाहीमा कुल ५३ घरपरिवार छन् र हरेक घरको एक जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरुमा संक्रमण देखिए परिवारका अन्य सदस्यको स्वाब परीक्षण गर्ने प्रदेश सरकारको तयारी छ । ‘आज संकलन गरेको नमुना रिपोर्ट भोलि आउँछ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले भने, ‘यो रिपोर्टले कोरोना कसरी समुदाय स्तरमा फैलियो भन्ने टुंगो लाग्छ ।’

गत विहीबार नुरी मस्जिदमा बस्दै आएका १६ जनाको थ्रोट स्वाब संकलन गरी कोशी अस्पताल, विराटनगरमा परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको टेष्टले कोशीको रिपोर्टलाई पुष्टि भयो ।

त्यसपछिको सात दिनमा संक्रमितको ट्राभल हिस्ट्री लिने, त्यस आधारमा सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने र सम्भावितहरुलाई परीक्षणको दायरामा ल्याउने काम गरिएको मेहताले बताए । उनकाअनुसार शुक्रबारसम्म संक्रमणको स्रोत पत्ता लाग्नेछ र धेरै प्रश्नको जवाफ पाइनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्