सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नागढुङ्गा सुरुङमार्गको निर्माण कहिले सकिन्छ ?

४२ महिनामा निर्माण पुरा गरिसक्ने लक्ष्य सहित निर्माण आरम्भ गरिएको काठमाण्डौ–सिस्नेखोलाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ । कोरोना महामारीका कारण केही महिना निर्माणको काम रोकिए पनि राजधानी उपत्यकालाई जोड्ने सुरुङमार्गको निर्माण समयमै सकिने निर्माण कम्पनिले जनाएको छ ।

सुरुङमार्ग निर्माणको झण्डै १२ महिना बितिसक्दा दुबैतर्फ करिब १५० मिटरको हाराहारीमा सुरुङ खन्ने काम सकिएको छ । जापानि कम्पनि हाज्मा आन्दो कर्पोरेसनले सुरुङ निर्माण कार्य समयमै सक्न अहिले २४ सै घण्टा निर्माण कार्य गरिरहेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशतको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको हो । सुरुङमार्ग निर्माणका लागि २२ अर्ब लगानि लाग्ने अनुमान छ । जाइकाले १६ अर्ब सहयोग गर्नेछ भने ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यहोरिने जनाइएको छ ।

सुरुङमार्गको लम्बाई २.८ किलोमिटर हुने बताइएको छ । प्रवेशमार्गसहित जोड्ने हो भने सुरुङमार्गको लम्बाई ५.५६ किलोमीटर हुनेछ । सुरुङमार्गमा दुई वटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने छ । सडक पूर्वाधारमा सुरुङमार्गमा निर्माण हुन लागेको ‘फ्लाई ओभर’ नेपालकै पहिलो हो ।

सुरुङमार्ग निर्माणका लागि गत असोज ६ गते जापानी हाज्मा आन्दो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत धादिङतर्फको सिस्नेखोला तर्फ स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने पनि आयोजनाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्