सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रारा विमानस्थलको टर्मिनल टावर काठको टहरामा

रारा विमानस्थलको टर्मिनल टावर १८ वर्षदेखि काठको टहरोबाट सञ्चालन भइरहेको छ । पूर्वाधार निर्माणको काम अधुरो हुँदा पटकपटक जहाज अवतरणमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ । २०६० कात्तिक २ देखि उडान सुरु भएको विमानस्थलमा सुविधायुक्त टावर बनाउने योजना निकै अघिदेखिकै हो ।

विमानस्थलमा टर्मिनल भवनसमेत नबन्दा कर्मचारीले समेत जोखिम मोलेर काम गर्नुपरेको छ । धावनमार्गको माथिल्लो भागमा सल्लाका काठको फलेकले वरिपरि घेरेर बनाइएको एकतले टहरो हावाहुरी लागे हल्लिन्छ । त्यही टर्मिनल टावरमा बसेर कर्मचारीले नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट आउने जहाजलाई अवतरण र उडान अनुमति दिने गरेका छन् ।

पर्यटकीय विमानस्थल भए पनि लामो समयदेखि काठको टहरोमा बसेर जहाजको कनेक्सनमा जोडिनुपरेको विमानस्थल प्रमुख विशाल वरुणले बताएका छन् । उनले भनेका छन्–‘यही काठको टहरोभित्रै बसेर जहाज उडानको अनुमति दिन थालेको वर्षौं बित्यो ।’ उनले अगाडी भनेका छन्–‘पूर्वाधारसहितको टावर बने यात्रु र हामीलाई पनि सजिलो हुन्थ्यो ।’

Airport terminal tower

२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर भवन नबन्दा समस्या भइरहेको छ । टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ८ करोड ६० लाख रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेको थियो ।

तर एक वर्ष बित्दासमेत मुस्किलले ३० प्रतिशत काम मात्र पूरा भएको छ । आयोजनास्थलमा ठेकेदार नियमित नबस्नु, निर्माणको काम अर्कालाई जिम्मा दिनु र प्राधिकरणले कामको नियमित अनुगमन नगर्नुले काममा ढिलाइ भएको विमानस्थल सुधार आयोजना प्रमुख पुष्पराज न्यौपानेले बताएका छन् ।

आगामी कात्तिकसम्म टावर निर्माणको काम गरिसक्ने प्राधिकरणको लक्ष्य छ । न्यौपानेले भनेका छन्–‘अहिलेसम्म जमिनमा आरसीसी गर्ने काम मात्र सकिएको छ,’ उनले भने, ‘भवन निर्माणकै काममा ढिलाइ हुँदा अरू पूर्वाधार निर्माण पनि रोकिएका छन् ।’

दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई भवन निर्माण जिम्मा दिइएको हो । अहिले एकतले टहरोमा सुरक्षाकर्मीलाई राखेर यात्रुको मालसामान जाँच भइरहेको छ । ‘पूर्वाधार नहुँदा रारा घुम्न आउने यात्रुले पनि ठूलो सास्ती भोगिरहेका छन्,’ वरुणले भने, ‘जहाज पार्किङस्थलको माथिबाट बर्सेनि पहिरो खस्दा जोखिम उत्तिकै छ ।’

दुई वटा ट्वीनअटर जहाज अट्ने गरी बनाइएको पार्किङ पहिरोका कारण पुरिँदै जाँदा अहिले एउटा जहाज अट्न पनि मुस्किल छ । पहिरो पन्छाउन प्राधिकरणले गत साउनमा २२ करोड रुपैयाँ छुट्याएर मृत सञ्जीवनी÷गाल्भा एन्ड ओभान कम्पनीसँग ठेक्का सम्झौता गरे पनि कामले तीव्रता लिन सकेको छैन ।

चिसोमा कामदारले काम गर्न नसक्ने भएकाले गर्मी महिना सुरु भएपछि मात्र काम अघि बढ्ने आयोजना प्रमुख न्यौपानेले बताएका छन् । हिमपात, वर्षा, कोरोना महामारी जस्ता कारणले विमानस्थल निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्