सुरुङबाट निस्केको लेदोमा हरायो मरिणखोला
सुरुङ निर्माण गर्दा निस्किएको लेदोका कारण मरिण खोला पूरै धमिलो भएको छ । जसका कारण संस्कृतिमा प्रभाव परेको र चौपायालाई समेत समस्या भएको स्थानीयले बताए । त्यसका निम्ति तत्काल निकास दिइनुपर्ने नत्र आन्दोलन गर्ने चेतावनी दिएका छन् । सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङ निर्माण गर्दा भित्रबाट आएको लेदालाई मरिण खोलामा मिसाउँदा खोलामा रहेका माछालगायतका जलचर पनि नासिएको उनीहरूको भनाइ छ ।
आयोजना निर्माणस्थल कमलामाई नगरपालिका–२ को कुसुमटारभन्दा तल मरिण दोभान, डाडीगुराँसे, कुँडुले खट्टार, ढकालगाउँ, रायडी, सातपत्रे, साङबाले, मिलनचौकलगायतका स्थान स्थानीयको सद्गत गर्ने घाट रहेका छन् । मृतकको सद्गतपछि आ–आफ्नो संस्कति अनुसारको काम खोलामा सम्पन्न गर्दछन् । तर खोलामा लेदा बगेकाले परम्परा संकटमा परेको ढकालगाउँका निकेश ढकालले गुनासो पोखे ।
‘मृतकका आफन्तले किरियाकर्म गर्दा पहिलो काम खोलामै हुन्छ,’ उनले भने, ‘मरिणमा सुरुङबाट निस्किएको लेदो मिसाएकाले मुख पखाल्ने ठाउँसमेत छैन । मलामी सिधै घर फर्किनुपर्ने बाध्यता छ ।’ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्दा (ईआईए) गर्दा ठूलो खाल्डा खनेर सुरुङबाट निस्किएको लेदोलाई हाल्ने र साइडबाट बग्न दिने भन्ने थियो । त्यो कार्यान्वयन भएन ।
‘सुरुङभित्रबाट आउने लेदो मरिण खोलामा मिसाउँदा अलिअलि बगेको जस्तो देखिन्छ, पानी त कता हो कता,’ अर्का स्थानीय सागरकुमार ढकालले भने, ‘यत्रो आयोजना चल्दा सामान्य कुरा पनि नगरिदिँदा दीर्घकालीन असर पर्ने देखिन्छ । साइडबाट कुलो नबनाई सिधै खोलामा हालिदिएका छन् ।’
स्थानीयले सुक्खा मौसममा घरपालुवा जनावरलाई खोलामा लगेर पानी खुवाउने र भैंसीलाई आहाल राख्ने गर्थे । चौपायालाई पानी खुवाउन खहरे खोजेर कुवा बनाउनुपर्ने अवस्था आएको कान्छामान गोलेले बताए । ‘मरिण खोला लेदोले थलथल भएको छ, मान्छे नै फस्ने हो कि भन्ने खतरा छ,’ उनी भन्छन्, ‘हिउँद महिनाभर सुरुङको लेदो खोलामा नहाल्ने व्यवस्था नगरे अब सहेर बस्न सकिँदैन ।’
मदन भण्डारी राजमार्गको मरिण पुलमुनि सुरुङभित्रबाट आएको लेदो माटो खसालिएको छ । सुरुङभित्रबाट आएको लेदोका कारण मरिण खोलाको झन्डै १० किलोमिटर क्षेत्र पूरै धमिलिएको छ । मरिणलाई बुदुना माछा पाउने खोला भनेर चिनिन्थ्यो । अहिले लेदोका कारण पूरै जलचर मासिएर वातावरण प्रभाव परेको छ ।
सागरले भने, ‘आयोजनाका कारण स्थानीयको रहनसहन, संस्कति, परम्परा, जलचर मास्न पाइँदैन ।’ कमलामाई नगर प्रमुख उपेन्द्र पोखरेलले ठूलो आयोजना भएकाले केही कमी कमजोरी सच्याउन आफूले भनेको बताए । ‘आयोजना पनि चल्नुपर्यो, स्थानीयको माग सुनुवाइ हुनुपर्यो,’ उनले थपे ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले सुरुङ खन्नका लागि भित्र पानी पठाउनुपर्ने र त्यो लेदो भएर बाहिर निस्कने गरेकाले समस्या भएको बताए । ‘शतप्रतिशत समस्या समाधान हुँदैन,’ उनले भने, ‘हामी न्यूनीकरण गर्छौं, केही समय हो त्यसपछि सुनकोशीकै पानी मरिणमा सलल बग्छ ।’
आयोजनाको १३ दशमलव ७ किलोमिटरमध्ये हालसम्म चार दशमलव ६६९ मिटर सुरुङ निर्माण भएको छ । सुनकोशी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ घनमिटर पानी कमलामाई नगरपालिका–२ कुसुमटारको मरिण खोलामा खसालिनेछ । त्यसबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको मुख्य उद्देश्य हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्