सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तातोपानि भन्सारबाट चिनतर्फ निकासी खुल्यो

०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यसअघि भएको मौखिक सहमति अनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।

‘अहिले तत्काललाई तीन कन्टेनर चीनको खासा र ल्हासा क्षेत्र पुग्न लिपिङबाट मितेरी पुल पार गरेका छन्, आजबाट नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने । सोमबार मितेरी पुल पारीक्षेत्रको चीनको झाङ्मु पोर्ट, पार्किङ, पुनर्निर्माण भइरहेका बजार इलाका भेगमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा चिनियाँहरू बाक्लो रुपमा उपस्थित थिए ।

चीनबाट न्यालम प्रमुखसहित बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङजस्ता उच्च अधिकारीले चीन क्षेत्रमा कार्यक्रम गरेका छन् । नेपालबाट भूकम्पको आठ वर्षपछि निर्यात थालिँदा मितेरी पुलमा चीन र नेपालतर्फका सीमाक्षेत्रका सुरक्षाकर्मी र भन्सार अधिकारी उपस्थित भएर सामान्य कन्टेनर पठाइएको छ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोस श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए । मितेरी पुलमा चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान लगायतका अन्य अधिकारी पनि सहभागी भएको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए ।

‘नाकाबाट सुरक्षित रुपमा कन्टेनर जाँदै नाका खुलेको छ,यसले स्थानीयमाझ खुशीको लहर ल्याएको देखिन्छ,’ उनले भने । चीनको खासाका व्यापारीले खरिद गरेका तीन कन्टनेर यी सामाग्री खासा र ल्हासा पुग्नेछन् । मितेरी पुलउताका भौतिक संरचना अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीनले अत्याधुनिक प्रविधि प्रयोग गरी सक्दैछ ।

भूकम्प गएको चार वर्षपछि मालवाहक रुपमा बल्ल खुलेको तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सीआरसीसीले बनाइदिएका थिए । १५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्