सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आउँदो मनसुनमा ३५ देखि ५५ प्रतिशत कम वर्षा

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मलाई मनसुन अवधि आकलन गरेको छ । यो समय सरदरभन्दा ३५ देखि ५५ प्रतिशतले कम वर्षा हुने विभागको भनाइ छ ।

विभागकी उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भाग, वाग्मतीका दक्षिण पूर्वी र मधेसका अधिकांश भागमा सरदर वर्षाको सम्भावना रहेको बताइन् । कर्णालीको धेरैजसो भू–भाग, सुदूरपश्चिमका मध्य तथा उत्तर, लुम्बिनीका पश्चिमी तथा मध्य भू–भागमा पानी नपर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । ‘धेरैजसो स्थानमा औसत र औसतभन्दा कम मात्र होइन, विषम मौसमसमेत देखिने सम्भावना छ,’ उनले भनिन्, ‘कुनै स्थानमा अधिक वर्षा पनि हुन सक्ने आकलन छ ।’

२० वटा मापन केन्द्रका आधारमा मनसुनमा औसत वर्षा १४ सय ७२ मिलिमिटर रहने विभागले जनाएको छ । अघिल्लो वर्षको मनसुनमा १३ सय २८ दशमलव ५ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए । गत वर्ष विभागका ९२ वटा मापन केन्द्रमा औसत अवस्थामा पानी परेको पाइएको थियो । ९७.२ प्रतिशत क्षेत्रमा सामान्य वर्षा भएको थियो । गत वर्ष २०२२ सेप्टम्बरमा सुर्खेतमा सबैभन्दा बढी २६०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो ।

Rain in Nepal, rain in kathmandu nepal, Heavy rainfall

विभागले पश्चिम नेपालमा अधिकतम तापक्रम ४५ देखि ५५ प्रतिशतसम्म बढ्ने पनि प्रक्षेपण गरेको छ । यस्तै, न्यूनतम तापक्रमको अवस्थामा पनि वृद्धि हुने देखिएको छ । न्यूनतम तापक्रम सुदूरपश्चिमका मध्य भाग, कर्णाली, गण्डकी, वाग्मती र लुम्बिनीमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । मनसुनका लागि औसत अधिकतम तापक्रम २९.४ र औसत न्यूनतम तापक्रम २१.० डिग्री रहेको छ ।

विभागले सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा आधारित भएर मौसमको पूर्वानुमान गर्दै आएको छ । यो प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानीको तथ्यांक, विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तय गरिएको वरिष्ठ मौसमविद् कँडेलले बताइन् । उनका अनुसार नेपालको मनसुनलाई पूर्वी प्रशान्त महासागरमा विकास हुने एन्सो (एल निनो साउर्दन अस्किलेसन) तथा हिन्द महासागरमा विकासित हुने दुई ध्रुवीय प्रणालीले प्रभाव पार्छ ।

‘प्रशान्त महासगरको पूर्वीय क्षेत्रमा तापक्रम वृद्धि हुनु एल निनोको अवस्था हो, यस्तोमा नेपालमा कम वर्षा हुन्छ,’ कँडेलले भनिन्, ‘अहिले एल निनोको अवथा न्युट्रल छ । मनसुनमा एल निनोको अवस्था देखिने प्रक्षेपण भएकाले त्यसले नेपाललाई पनि प्रभाव पार्छ ।’ ला निनाले चाहिँ मनसुनमा नेपालमा धेरै पानी पर्नमा सहयोग पुर्‍याउँछ ।’ अघिल्लो वर्षको मनसुनमा ला निनाको अवस्था हुँदा वर्षा औसत नै भएको थियो । नेपालमा जुलाईमा औसत ४८३.९ मिलिमिटर वर्षा हुने गरेपनि गत वर्ष ३२५.८ मिलिमिटर मात्रै मापन गरिएको थियो ।

जलवायु विज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयका विज्ञान संकायका डिन सुदीप ठकुरी नेपालमा मनसुन बदलिँदो क्रममा रहेको बताउँछन् । मनसुन बाहिरिने समय धेरै हुँदा जलवायुमा विश्वव्यापी तापक्रम वृद्धिको असर हुन सक्ने उनको भनाइ छ । ‘अहिले मनसुनी वर्षा बाहिरिने समय पनि ढिलो हुँदै गएको छ, यसको असर भूमण्डलममा आएको प्रभावका कारण त कतै होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने । विभागले सन् २०२१ देखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने प्रक्षेपण गरेको थियो । दुई वर्षदेखि भने मिति परिवर्तन भएको छ । ‘मनसुनको समयमा सिफ्ट भएको हो कि भन्ने त हो तर क्लाइमेट चेन्ज नै भन्न सकिँदैन,’ ठकुरी भन्छन्, ‘मनसुन भेराइबिलिटी पनि भएको हुन सक्छ ।’

नेपालमा पर्ने कुल वर्षामध्ये मनसुनमा ८० प्रतिशत, हिउँदमा ३.५, प्रिमनसुनमा १२.५ र पोस्ट मनसुनमा ४.२ प्रतिशत हुने अनुमान गरिन्छ । मनसुनमा कम वर्षा हुने भएकाले त्यहीअनुसारको पूर्वतयारी गर्न पनि विभागले कृषकहरूलाई आग्रह गरेको छ । कम वर्षाले खाद्य उत्पादन तथा चक्रमा असर पर्ने भएकाले रणनीति बनाउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले यसबारे सरकारले आवश्यक रणनीति बनाए काम गरिरहेको बताए । धान रोप्ने बेलामा आकाशे पानीको भर पर्ने कृषकहरूलाई लक्षित गरेर सिँचाइमा विशेष जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

खाद्य उत्पादन कम हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिदैन : विज्ञ

कृषि मौसमविद् रामेश्वर रिमाल विभागले निकालेको बुलेटिनलाई आधार मानेर खाद्य उत्पादन कम हुन्छ भन्ने ग्यारेन्टी गर्न नसकिने बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने,‘ पानी कम पर्छ भन्दैमा खाद्य उत्पादन कम हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिदैन । धानलाई चाहिने समयमा पानी पर्‍यो र अरु बेला परेन भने पनि उत्पादन राम्रो हुन्छ । त्यसैले ग्यारेन्टी नै गरेर भन्न सकिदैन । ’ उनले सुख्खा सहने जातका धान रोप्न कृषकहरुलाई सुझाव दिएका छन् ।

धान रोप्ने समयमा वर्षा नहुँदा कृषि उत्पादनमा असर गर्छ । कृषकले समयमा नै धान रोप्न नपाएको खण्डमा उत्पादनमा ह्रास आउने उनको भनाइ छ । मल राख्ने बेलामा सुख्खा हुँदा,माटोमा मोइस्चर नहुँदा, धानको फुल फुल्ने समयमा पानी पर्दा, बाली भित्र्याउने समयमा पानी परेको खण्डमा असर गर्ने उनले बताए । ‘कृषिको हिसाबले कुन अवस्थामा हुँदा कति पाानी पर्यो भन्नेकुराले उत्पादनमा प्रभाव पार्छ । धान काट्ने बेलामा धेरै वर्षा भयो भने त्यसले असर गर्छ,’ रिमालले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्