सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोरे ग्याङ्गद्वारा ४ बर्षमा ३८ क्विन्टल सुन तस्करी

सुन तस्करी काण्डमा भरिया भनिएका सनम शाक्यको हत्या भएको घटना बाहिरिएपछी बनेको सरकारी छानबिन समितिले सुन तस्कर गोरे ग्याङले ४ बर्षको अबधीमा झण्डै ३८ क्विन्टल अबैध सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अबैध सुन तस्करीमा उर्लाबारीका चुडामणी उप्रेती उर्फ ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा वि.स. २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार भएको छानबिन समितिको दाबी छ ।

सुन तस्करहरु बिरुद्ध परेको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ । पक्राउ परेकाबाट बरामद् भएका कागजात र फरार अभियुक्तहरूबीच भएको आर्थिक कारोबारका आधारमा समितिले यो परिणामको सुन तस्करी भएको निष्कर्ष निकालेको हो ।

समितिको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिलको कार्यालयले तस्करहरु बिरुद्ध १५३ पेज लामो अभियोग पत्र बनाएको छ । अभियोग पत्रमा गोरे भन्ने चुडामणि उप्रेती आफैं र निजको आपराधिक समुहले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्द प्रसाद निरौला, प्रहरी बरिष्ठ उपरीक्षक श्याम बहादुर खत्री, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई आपराधिक समुहको सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोवारमा सहयोग लिएको उल्लेख गरिएको छ ।

अभियोग पत्रमा भनिएको छ–‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत उल्लिखित प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स लगायत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षा गार्डहरुलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी÷झिकाई आपराधिक समुहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समूहभित्र समावेश भई गतिविधि सञ्चालन गरेको तथ्य बुझिएका बिष्णु कार्कीको बयान तथा कागज ब्यहोरा, सुरक्षा अधिकृतहरुले बरामद गरेका रजिष्टरबाट प्राप्त गरेको देखिने आर्थिक लाभको विवरण, सुरक्षा अधिकृत र आपराधिक समूहका नाइके चुडामणि उप्रेती एवं निजका सदस्यहरु बीचको कल डिटेल समेतका प्रमाणबाट तस्करीमा उल्लेखित प्रहरी अधिकारीहरुको संलग्नता पुष्टी भएको देखिन्छ ।’

प्रतिवादीहरु समेतको सहयोग र आपराधिक समूहको सञ्जालबाट नेपालमा चोरी पैठारी भएको सुनको परिमाण ३७,९९,५५९ ग्राम (सैतीस लाख उनान्सय हजार पाँच सय उनान्साठी ग्राम) भएको अभियोग पत्रमा दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालका प्रमुख पुण्यप्रसाद पाठकले दिएको जानकारी अनुसार प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ । तस्करी भएको सुनको मूल्यांकन राष्ट्र बैंकका कर्मचारीले गरेका थिए ।

कार्यालयले ६३ जनाविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीमध्ये ९ जना प्रहरी अधिकारी छन् । मुद्दामा प्रहरीले पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ ।

त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ ।

त्यस्तै सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि प्रहरीले बुधबार अदालत बुझाएको हो ।

त्यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतम लगायतकालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि तस्करीका नाईके चुडामणी उप्रेतीको ग्याङले सुनको खोजबिन सुरु गरेको थियो । उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

सनम शाक्यको हत्यापछी प्रहरीले शाक्यका हत्यारा भन्दै अभियुक्त घोषणा गरेका एकराज मल्ल, नरेन्द्र कार्की लगायतका आफन्तले प्रहरीको कार्यशैली शंकास्पद रहेको भन्दै गृहमन्त्रीलाई गुहारेपछी बनेको गृहमन्त्रालयको छानबिन समितिको अनुसन्धानबाट सुन तस्करीको यो जालो पर्दाफाँस भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्