पढ्नुहोस् निर्मला हत्याकाण्डको प्रतिवेदनको पुर्णपाठ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित कार्यदलले हत्या योजनाबद्ध भएको र त्यसमा प्रहरीको संलग्नता रहेको निष्कर्षसहित सरकारलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
प्रहरीले घटनामा उदासीनता देखाएको, निर्दोषलाई पक्राउ गरेको, आफैंले संकलन गरेको घटनाको मुचुल्का नमुना पुनः सच्याउन लगाएको तर पछि अघिल्लै मुचुल्का ठीक भएको, अनुसन्धानमा कुकुरको प्रयोग नगरेको लगायत कमजोरी प्रतिवेदनमा औंल्याइएको छ ।
हत्या भएको ठाउँमा बलात्कार हुन नसक्ने, निर्मलाका बुबा भारतबाट ११ गते मात्र कञ्चनपुर आए पनि १० गतेकै मितिमा उनको औंठाछाप लगाएको, हत्यापछि अम्बाको रूख काटिएको आदि शृंखलाले घटनाका प्रमाण नष्ट गर्ने योजना रहेको प्रतिवेदनले पुष्टि गरेको छ ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ७ भदौमा गठित पाँच सदस्यीय छानबिन समितिले मृतक निर्मलाको हत्या घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापर्बाही र हेल्चेक्र्याइँ देखिएको उल्लेख छ ।
निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा तत्काल खोजतलासका लागि सम्बन्धित प्रहरी उदासीन रहेको प्रतिवेदनमा उल्लेख छ । शव फेला परेको स्थानमा र आसपासको क्षेत्रमा प्रहरीले सुरक्षाकर्मी परिचालन र सुरक्षा व्यवस्थापन नगरेको समेत गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको निष्कर्षमा भनिएको छ–‘निर्मला पन्तको शव बरामद भएको स्थान, उनले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र यी सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि सहयोग हुन सक्नेगरी तालिमप्राप्त कुकुरको प्रयोग नभएको पाइयो ।’
प्रहरीले प्रमाणबिनै दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरेर सार्वजनिक गरेको तथा निर्मला हराएको भनिएको घरमा बस्ने बबिता भन्ने अनिता बम र रोशनी भन्ने आँचल बमलाई हिरासतमा लिएर अनुसन्धान गर्न परिवार र त्यहाँका जनसमुदायले आग्रह गर्दा अटेर गरेपछि जनआक्रोश बढेको समेत निष्कर्ष निकालेको छ ।
छानबिन समितिले निर्मलाको बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण पत्ता लाग्न सक्ने वस्तुहरू भित्री वस्त्र पानीमा चोबलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा उक्त वस्त्र नै लोप भएको उल्लेख गरेको छ । प्रतिवेदनमा मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले धम्कीका साथै अनावश्यक प्रभाव र दबाब दिएको पनि उल्लेख छ ।
साउन १० मा अनिता बम ट्युसन पढ्न गएको भनेर उनी र उनका बुबा ट्युसन सेन्टरमा गएर भनिदिन आग्रह गरेको विषय हत्यासँग सम्बन्धित शंकास्पद गतिविधि भएको प्रतिवेदनको ठहर छ । रोशनी बमको घरबाट अम्बा टिपेर लगिएको भनिए पनि प्रहरीले अम्बालाई बरामद नै नगरेको र घटनाको सात दिनपछि रोशनीका बुबाले अम्बासमेत काटेको पाइएको छ ।
छानबिन समितिले प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना पाउँदा घटनास्थलमा नगएको र घटनाको अनुसन्धानमा निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पालना नगरेको ठहर गर्दै छानबिन र कारबाहीको माग गरेको छ ।
समितिले दिलीप विष्टलाई केरकार र सोधपुछ गर्ने टोलीमा संलग्नलाई छानबिन गरी विभागीय कारबाही गर्न सुझावसमेत दिएको छ । समितिले शव फेला परेको स्थानको सुरक्षा र शव जाँच मुचुल्का एवं अनुसन्धान गर्न खटिएका टोलीले जिम्मेवारीपूर्ण भूमिका ननिभाएको भन्दै छानबिन र कारबाही गर्न सुझाव दिएको छ ।
निर्मला हत्या घटनाको अनुसन्धान तथा सहयोगीका रूपमा खटिएका प्रहरी तथा कर्मचारीको काम कारबाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिएमा त्यस्ता पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।
एसपी विष्टका छोराको जन्मदिन विवादित
छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एसपी विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ । किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन ।
तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको हो । विष्टले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन् ।
सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने ब्यहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ । छानबिन समितिसमक्ष उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई नचिनेको बताएका छन ।
पढ्नुहोस् निर्मला हत्याकाण्डको प्रतिवेदनको पुर्णपाठ:
[pdfjs-viewer url=”https%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2018%2F10%2F%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%B2%E0%A4%BE_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A4_%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AB%E0%A5%A4%E0%A5%AC%E0%A5%A4%E0%A5%AA_Corrected_final.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
फेसबुकबाट कमेन्ट गर्नुहोस्