पढेलेखेकी श्रीमती; छोरी च्यापेर ट्युसन पढ्न
प्रिया समाजशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित गृहिणी हुन । उनको विवाह एस.एल.सी. पछि तुरुन्त भएको थियो । प्रियाको जागिर खाने ठूलो धोको छ तर भाग्यले साथ दिइरहेको छैन । एक रुपैयाँ चाहिए पनि अर्काकै भर पर्नुपर्ने, भनाइ खानुपर्ने, मगन्तेले झंै हात पसार्नुपर्ने यथार्थता सम्झेर उनलाई अत्मग्लानि हुन्छ । आफूले कमाउन नसकेकोमा ।
प्रिया विगतलाई सम्झिन्छिन्, सुदूरपूर्वको विकट गाउँमै पढेकी भए पनि प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेकी थिइन । उतिबेला उनले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु अहिले जस्तो चानचुने कुरा थिएन । बिनापूर्वाधार सहरबाट खोजेर पुर्याइएका एस.एल.सी. र आई.ए. सम्म पढेका शिक्षकका भरमा पढ्नुपथ्र्यो ।
पूरै जिल्लाबाट दुई–चार जना विद्यार्थी मात्र प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे । अँझ केटीले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु त ऐतिहासिक नै हुन्थ्यो । आफ्नो जिल्लामा मात्र नभई छिमेकी जिल्लासम्म प्रियाको नाम चलेको थियो ।
रिजल्टपछि गाउँले तथा माइतीपक्षका मानिसहरूको भनसुन र दबाबका कारण उनका सासू–ससुराले छोरासँगै काठमाडौं गएर पढ्ने अनुमति दिएका थिए । ठूलो उत्साह, उमङ्ग र फुर्तीसाथ पढ्न भनेर उनी काठमाडौं आएकी थिइन । श्रीमान, नन्द, आमाजू र देवरका साथ ।
चार्टर एकाउन्टेन्ट बन्ने सपना थियो, उनको । त्यसैले कमर्स कलेजमा भर्ना भइन । काठमाडौंमा कोठाको बसाइ, ठूलो परिवार, बुहारीको जिन्दगी त्यसमाथि चार्टर एकाउन्टेन्ट बन्ने धोको । विवाहअघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाहपछि भोगेको वास्तविक जिन्दगीबीच आकाश–जमिनको फरक पाईन उनले ।
अपरिपक्व स्वभाव, केटाकेटीपन, सँधै आर्थिक समस्या अनि पारिवारिक दायित्व र कतव्र्यको पालना गर्दागर्दै उनले देखेको, कल्पिएको स्वणिर्म संसार एकपछि अर्को गर्दै भत्कदै गयो, चकनाचुर हुँदै गयो । तैपनि प्रियाले पढ्न छाडिनन र आई.कम. प्रथम श्रेणीमा उत्तीर्ण भइन ।
बी.कम. भर्ना हुँदासम्म उनी छोरीकी आमा बनिसकेकी थिइन । परिवार ठूलो भए पनि सबै पढ्ने भएकाले उनलाई कलेज जान पालो दिने कोही भएनन । बरू छोरी जन्मिएपछि उनी पक्का गृहिणी भइन । यसरी प्रियाको सपना एकएक गर्दै टुक्रँदै गयो सिसाको टुक्राझै कहिल्यै नजोडिने गरी ।
बी.कम. भर्ना भएपछि प्रिया एकदिन पनि कलेज जान पाइनन । बी.कम. एकाउन्ट ट्युसन पढ्न जाँदाको एउटा घटना सँधै सम्झन्छिन् । उनी ट्युसन जाँदा छोरी बोकेरै जान्थिन । बेलाबेला छोरी रुन्थी, ठ्यासठुस गर्थी । त्यो देखेर ट्युसन पढ्ने अरू साथीहरू खासखुस कुरा काट्थे, हाँस्थे ।
एकदिन विदुषीले भनिन–‘दिदी तपाईंले गर्दा हामीलाई डिस्टर्व भयो । छोरी लिएर नआउनुहोला । छोरीको रुवाइले हाम्रो पढाइ बिग्रियो । प्लिज हामीलाई शान्तिसँग पढ्न दिनुहोस्स् । छोरी भैसकेको मान्छेले किन यत्रो दुःख गर्नुहुन्छ ? छोरी हेरेर घरमै बसे भैहाल्यो नि । आखिर पास गर्न सक्नुहुन्न । लौ ! पासै हुनुभएछ रे । त्यसपछि के नै गर्नुहुन्छ ?!
उनको प्रश्नको उत्तर दिन चाहन्थिन् प्रिया तर वाक्य फुटेन । बरु त्यो कटु वचनले प्रियाको मुटु घोच्यो, गहभरि आँसु भरिए । त्यति सजिलै आँसु झार्ने कायर र हुतिहारा त थिइनन् उनी । कुनै समय आँसु झार्नेहरूलाई हिम्मतिला कुरा गरेर सम्झाउँथिन । पिन्चे हुनुहुँदैन, दुःखलाई पचाएर हाँस्न सिक्नुपर्छ भनेर ढाडस दिन्थिन । हिम्मत गरे जे सोच्यो त्यही पुग्छ जस्तो लाग्थ्यो उनलाई । त्यही दिन बोध भयो । आँसु विकल्प नभएपछिको सहारा रहेछ ।
अरूलाई सम्झाउनु र आफै भोग्नुमा कति अन्तर हुँदोरहेछ ? जिन्दगीमा केही गर्न चाहन्थिन तर सहयोग र वातावरण शून्य थिइन उनी । श्रीमानलाई समस्या बताए तिमीलाई दुःख भए पढाइ छाडिदेऊ । तर उनी पढाइ छाड्न सक्दैनथिन । न त निस्फिक्री अघि बढाउन नै ।
उनीसँग सँधै छोरी र पुस्तक साथसाथै हुन्थे । त्यो देखेर सबै हाँस्थे, गिज्याउँथे । भात पकाउँदा, भाँडा माझ्दा, किनमेल गर्न जाँदा समेत आफूले बनाएको नोट रट्थिन । यत्रो मेहनत गर्दा पनि प्रियाले डिप्लोमा राम्रो डिभिजनमा उत्तीर्ण गर्न सकिनन । त्यसपछि त चार्टर एकाउन्टेन्ट बन्ने सपना त्यहीँ तुहियो ।
अब छोरीकै लागि प्रियाको पढाइ रोकियो । सबैलाई शान्ति मिल्यो । किनभने अब घरमा विश्वासिलो, भरपर्दो र बेतलवी नोकर उपलब्ध भइन । यसबीच अर्की छोरी पनि जन्मिइन । श्रीमान, सासू–ससुरा र समाजको इच्छा विपरीत । सबैको चाहना थियो प्रियाले छोरा जन्माइदियोस । सासू–ससुराले छोरा नै होस भनेर भाकलसमेत गरेका थिए तर प्रिया गर्न नै के सक्थिन् र ?
थप छोरी जन्मिएपछि प्रियाका दिन अझ कठिन बन्दै गए । त्यसपछि पाँच वर्षजति घरमै थन्किइन । उनको लेख्ने–पढ्ने बानी छुट्यो । जब छोरी स्कुल जान सक्ने भए फेरि प्रियालाई पढ्ने भूतले गाँज्न थाल्यो । यद्यपि एम.बी.ए. गर्ने हिम्मत आएन । त्यसैले समाजशास्त्रमा भर्ना भइन । अब उनका सामु त्यत्रो ठूलो उद्देश्य पनि थिएन ।
पारिवारिक बोझ दिनहुँ बढ्दै गएको थियो । बूढा हुँदै गएका सासू–ससुरा यतै थपिएका थिए । जसोतसो पास गर्नु पनि ठूलो कुरा भैसकेको थियो । तैपनि मास्टर्स रामै्र डिभिजनमा उत्तीर्ण गरिन । पढ्न थालेपछि सबैले भन्थे–‘तिम्रो पढाइ राम्रो छ, ठूलै जागिर हात लाग्छ ।’
उनलाई आशा पनि थियो । पढाइ सकिएपछि सँगैका साथी एनजीओ, आइएनजीओतिर जागिरे भए । ती संस्थाहरूमा जागिर पाउन दुर्गम जिल्लातिर जानुपर्ने रहेछ तर प्रियालाई घर छाडेर टाढा जाने अनुमति थिएन । छोरीहरू सानै थिए ।
घरकलह गरेर जागिरका लागि टाढा गए बच्चाको पढाइ मात्र नभई पारिवारिक सम्बन्ध नै बिग्रिएला भन्ने चिन्ता थियो । त्यसैले परिस्थितिसँग सम्झौता गरिन उनले । मनलाई थुमथुम्याइन् । घरपायक जागिर कसो नपाइएला ? मनलाई ढाडस दिइन ।
त्यसपछिको समय घरपायक जागिर खोज्नैमा बित्यो । पत्रिकामा दिइएका वान्टेड कुनै बाँकी रहेनन् । फारम भर्ने र पैसा सिध्याउने बाहेक उपलब्धि शून्य रह्यो । जागिर खोज्ने सिलसिलामा उनलाई थाहा भयो चाकडी, चाप्लुसी र आफ्नो मान्छेको भूमिका कति हुँदो रहेछ । आफ्नो विषय मिल्ने कलेज र प्लस टुतिर पढाउने प्रयास पनि गरिन तर त्यहाँ त अझ ठूलो सञ्जाल रहेछ भेउ नै पाउन नसकिने ।
यसरी प्रियाको जागिर खाने सपना पनि तुहिँदै गयो दिन प्रतिदिन । विशेष त प्रियाले जागिर नखाइदियोस् भन्ने उनका श्रीमानको चाहना थियो । त्यसैले प्रियालाई जागिर खोज्न कहिल्यै सहयोग गरेनन उनले । बरु यही जागिरको विषयलाई लिएर धेरै पल्ट झगडा भयो, पिटापिट भयो ।
प्रियाका श्रीमानको भनाइ थियो–कमाउने, श्रीमतीलाई पाल्ने काम श्रीमानको हो । जो मैले सुखसाथ पालेकै छु । श्रीमतीले कमाएको दुई–चार पैसाले के नै हुन्छ र ? उनैलाई पाकेट खर्च पुग्दैन । श्रीमतीले जागिर खाए बालबच्चा, आफ्नो र आमाबुवाको स्याहार कसले गर्ने ? जागिर खाने आइमाईले घरको हेरचाहमा त्यति ध्यान दिँदैनन बरु बिग्रन सक्छन ।’
यसरी प्रिया र उनका श्रीमानको विपरीत सोचले गर्दा उनीहरूको सम्बन्ध केवल औपचारिकतामा मात्र सीमित हुँदै गयो । धेरै पल्ट सम्बन्धविच्छेदका कुरा पनि आए जो प्रियाले कहिल्यै चाहिनन् । उनलाई थाहा थियो सम्बन्धविच्छेद गर्नुको अर्थ छोरीको भविष्य अन्धकार बनाउनु हो । छोरीका चम्किला अनुहारमा विपत्तिको तुफान सिर्जना गर्नु हो । जिन्दगी बर्बाद पारिदिनु हो ।
समाजको नजरमा प्रियाका श्रीमान् एक आदर्श महिलावादी पुरुष । कहिलेकाहीँ साथीभाइमाझ फुइँहाँक्छन–‘मेरी श्रीमतीलाई यति पढाएको छु, उति पढाएको छु । शिक्षित महिला परिवार र राष्ट्रका सम्पत्ति हुन् । पुरुष शिक्षित भए केवल ऊ मात्र शिक्षित हुन्छ तर महिला शिक्षित भए त्यो परिवार नै शिक्षित हुन्छ आदि–आदि भनेर ।’
सबैले भन्छन–‘प्रिया तिमी त भाग्यमानी छौ जसलाई विवाहपछि पनि श्रीमानले यति धेरै पढाएका छन । उनी यो ढोंगी समाजको अगाडि यथार्थ बक्न नसके पनि मनमनै प्रश्न गर्छिन–‘यति आदर्शवादी ठहरिएका आफ्ना श्रीमान् त यस्ता छन भने अरू पुरुष कस्ता होलान ? जो हाँस्नै बिर्सिएका महिलाहरू छन उनीहरूको जीवन कस्तो होला ?’
यो ढोंगी समाजलाई देखाउनकै लागि श्रीमानको साथ (मेरैजस्तो) नक्कली मुस्कान छाड्ने महिलाहरूले के–कस्ता विपत्ति झेलिरहेका होलान् ? मन अस्थिर र अशान्त हुन्छ । साँच्चै प्रियाले अवसर पाएकी भए चार्टर एकाउन्टेन्ट बन्नसक्थिन । श्रीमान् भन्दा कता हो कता प्रतिभाशाली थिइन्, प्रिया । त्यस्ती प्रतिभाशाली प्रिया आज निरीह र हुतिहारा बनेकी छिन परिबन्दले ।
आफूले दुःख गरेर पढेकोमा खुसी भन्दा विस्मात बढी छ प्रियालाई । यही पढाइले गर्दा रातमा श्रीमानको पिटाइ खाए पनि दिनमा हाँसेको बहाना गर्नुपरेको छ । यदि नपढेकी भए श्रीमानले यसो गर्यो, उसो गर्यो भन्दै हिँड्न पनि मिल्थ्यो । ठुस्किएर दुई–चार दिन माइतै गए पनि सुहाउँथ्यो होला । दिनभर टेलिभिजन हेरेर बसे पनि मन भतभत पाल्दैनथ्यो ।
श्रीमानको खल्ती काटेर दुई–चार पैसा जोहो गरी लिपिस्टिक, पाउडर अनि गहनागुरिया जोरजाम गरे पनि आत्मग्लानि हुने थिएन । त्यसो गर्न शिक्षित मान्छेको विवेकले दिँदैन किनभने उनी पढेलेखेकी शिक्षित मान्छे । त्यसैले आफ्नो कर्तव्य उनले राम्रोसँग थाहा पाउनुपर्छ । मर्यादाको पालना एवं विवेकको सदुपयोग गर्नुपर्छ । श्रीमानसँग झगडा पर्नु, ठुस्किनु र बोलचालै बन्द हुनुको हिसाब–किताब निकाल्नुपर्छ ।
एकदिन ठुस्किनुको अर्थ, लोग्ने स्वास्नीबीच सरसल्लाह नहुनु हो । काम असरल्ल बन्नु हो, घरको चुल्हो नबल्नु हो । कलिला छोराछोरी, बूढा बाआमाको पेटमा चारो नपर्नु हो । छोराछोरीको स्वास्थ्य र अध्ययनमा बाधा पुग्नु हो । अर्थात् समग्रमा भन्नुपर्दा आफ्नो घरसंसार अलिकति भए पनि पछाडि धकेलिनु हो ।
त्यसैले दुवै आगो भए के बेर घरबार जलेर खरानी हुन । यस्तै जिन्दगीको जोड–घटाउले प्रियालाई पानी भएर बाँच्न बाध्य तुल्याएको छ । पढेलेखेकी स्वास्नी अर्थात शिक्षित गृहिणी भएर बस्न कर लागेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्