छोरा त फर्किए तर लास बनेर काठको बाकसमा
सबै नेपालीको घर आगनमा दशैं सुरु भएको छ । परदेसीएकाहरु पनि घर फर्कने क्रम सुरु भईसकेको छ । कतिका घरपरिवार सबै परदेसीको बाटो कुरेर बसेका होलान । झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले पनि चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् ।
जीतबहादुरलाई छोरा झलकले असोज ८ मा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि झलकले दशैंमा होइन, मंसिरमा आउने भाका राखे । परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै घरपरिवारले चित्त बुझाए ।
तर, छोरासँग कुरा भएको केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका झलक दुर्घटनामा परे । उनको उतै मृत्यु भयो । बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए ।
छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् । जति पटक पुछे पनि उनका आँखाबाट आँशु खसिरहे । बुढेसकालको सहारा ठानेको छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए ।
परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका झलक दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । असोज ८ मा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि मंसिरको भाका सारे । आउन त भाका भन्दा अघि नै आए तर काठको बाकसमा लास बनेर आए ।
विमानस्थलमा छोराको लास बुझ्न आएका जीतबहादुर छोरा झलक श्रेष्ठको शव देखेपछी भक्कानिँदै ।
जितबहादुरले भक्कानिँदै भने–‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के–के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो ।’ झलकको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो । निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए ।
जीतबहादुरका अनुसार झलक तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए । यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो । जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर झलक साउदी गएका थिए ।
जेठीपट्टीकै छोरा हुन सृजल । उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्न सक्नेसम्म भएका छन् । आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन ।
झलक जस्तै धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका नेपालीले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन । औसतमा दैनिक ३ वटा शव विमानस्थलमा आउँछन । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने यो संख्या भयावह छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्