कहाँबाट आयो ‘निर्मलाको न्याय’का लागि पोस्टर छाप्ने पैसा ?
काठमाडौंसँगै देशका प्रमुख सहरमा ‘सरकार त भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर भाइरल भएको छ । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि भन्दै बनाइएको पोस्टर सहरका भित्ता र सार्वजनिक सवारीसाधनमा छ्याप्छ्याप्ती टाँसिएको छ । जुन सामाजिक सञ्जालमा भाइरल छ । निर्मलाको स्केचसहितको पोस्टर नै अहिले खास चर्चाको विषय बनेको छ ।
पोष्टर अभियानको आइडिया सरकारले नै दिएको थियो
सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा बिजुलीको पोल र दैनिक पत्रिकाको फ्रन्ट पेजमा ‘नयाँ युगको सुरुवात’ लेखिएको कभर विज्ञापन छाप्यो । अतिरञ्जित प्रचार गरेको भन्दै सरकारको व्यापक आलोचना भयो ।
सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फकाउँदै भने, ‘सरकार देखिनँ भन्नेलाई देखाउँन प्रचार गरेका हौं ।’
त्यसपछि निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही माग गर्दै आन्दोलन गरिरहेका मानव अधिकारकर्मीसँगै सर्वसाधारणले व्यङ्ग्य स्वरुप एउटा पोस्टरको कल्पना गरे । निर्मलाको स्केचसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर डिजाइन भयो । र, पहिला जहाँ जहाँ सरकारको प्रचार राखिएको थियो, त्यहाँ त्यहाँ न्याय नभेटिएको पोस्टर टाँसियो, टाँगियो ।
प्यासिफिक सम्मेलनका लागि विदेशी पाहुना आइरहेका बेला न्यायका अभियन्ताहरुले पोस्टर टाँसिरहेका थिए । त्यहीं बेला प्रहरीले केही ठाउँको पास्ट च्यात्यो । पोस्टर टाँस्ने केहीलाई नियन्त्रणमा लियो । त्यसपछि त झन् पोस्टर टाँस्ने अभियानले तिव्रता पायो । अहिले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर सहरमा भाइरल भएको छ ।
कसले टाँसिरहेको छ त निर्मलाको न्यायका लागी पोष्टर ?
सामाजिक सञ्जाल फेसबुमा एकलाख भन्दा आवद्ध एउटा ग्रुप छ, ‘मेन्स रुम रिलोडेड’ अर्थात् ‘एमआरआर’ भन्ने । त्यही ग्रपमा अfवद्धले सुरुमा पोस्टर डिजाइन गरेर सार्वजनिक गरे । अहिले त्यहीं फेसबुक ग्रपका सदस्यहरु पोस्टर टाँस्न खटिएका छन् ।
एमआरआर ग्रुपबाहेक अरु विभिन्न सामाजिक अभियान चलाइरहेका संघसंस्थाले पनि पोस्टर टाँस्ने काम गर्न थाले । कुनै संस्थामा आवद्ध नभएका युवाहरु स्वतस्फुर्थ पोस्टर टाँस्न लागि परे ।
अहिले जताततै उक्त पोस्ट टाँस्ने अभियान चलेको छ । पोस्टर वितरणमा वुद्ध एयरले सहयोग गरिरहेको छ ।
उसोभए कहाँबाट आयो पोष्टर छाप्ने पैसा ?
एमआरआरले ग्रुपमा आवद्ध साथीहरुबाट सुरुमा ६ हजार रुपैयाँ जम्मा ग¥यो । ग्रुपकै एकजनाले पोस्टर डिजाइन गरे । र, सुरुमा केही पोस्टर र फ्लेक्स प्रिन्ट गरे । र, राति नै पोस्टर टाँस्न सुरु गरे । यो कुराले सामाजिक सञ्जाल तात्यो ।
नागरिक सेन्टिमेन्ट बटुल्न मौका खोजिरहेका विभिन्न सामाजिक संस्थाले यसलाई मौकाको हिसाबमा लिए । र, पैसा उठाउँदै पोस्टर छाप्न थाले । संस्थामा आवद्धलाई पोस्टर टाँस्न ह्विप जारी गरे । पोस्टर टाँसिने क्रम बढ्दै गयो ।
पछि प्रहरीले पोस्टर च्यात्न र टाँस्नेलाई नियन्त्रणमा लिन थालेपछि अभियानमा सघाउनेहरु बढे । पोस्टर टाँस्ने अभियन्ताले स्वस्फुर्थ उठेको रकमले नै पोस्टर छाप्ने गरेको र भोलेन्टियरले नै पोस्टर टाँस्ने गरेको बताएका छन् ।
अहिले करिब ४० हजार पोस्टर छापिएको छ । पोस्टरसँगै फ्लेक्स र स्टिकर पनि छापिएको छ । समाजमा बढ्दो बलात्कार एवम् हत्या कम गर्न र अपराधीलाई कारबाही गर्न माग गर्दा सरकारले डराएर पोस्टर च्यात्नु निन्दनीय भएको कानुनकर्मीको बुझाई छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि यो स्वाभाविक भएको र शान्तिपूर्ण आन्दोलनबाट सरकार आत्तिएको उनीहरुको बुझाई छ ।
साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यार पत्ता लगाएर कारबाही गर्न्र सरकार असफल भएको भन्दै चौतर्फी आवाज उठिरहेको छ ।
निर्मला बलात्कार र हत्या प्रकरणमा सरकारका गल्तीमाथि गल्ती
निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसक्नु एउटा पाटो हो, तर सरकारले घटनाको अनुसन्धान एवम् हत्यारा पत्ता लगाउन गरेको प्रयास नै कमजोर छ । ‘निर्मला पन्त हत्या प्रकरण’मा सरकारले गरेका खासखास र विकसित घटनाक्रम यस्तो छः
१. सुरुमै प्रहरीले घटनालाई नजर अन्दाज गर्नु
२. उजुरी लिन आनाकानी गर्नु
३. प्रहरीले नै प्रमाण नष्ट गर्नु
४. प्रहरीले मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई अभियुक्त भनेर सार्वजनिक गर्नु
५. प्रहरी प्रमुखले आफ्नै संगठनप्रति विश्वास नलाग्नु
६. सस्तो लोकप्रियताका लागि प्रहरी अधिकारी बर्खास्थ गर्नु
७. गृहमन्त्री घटनाप्रति संवेदनशील नहुनु
८. प्रधानमन्त्रीले घटनालाई राजनीतिक हिसाबमा सोच्नु
९. अनुभवहीन निजामती कर्मचारीलाई छानबिनको जिम्मा दिनु
१०. न्यायका लागि भएको आन्दोलनमा प्रहरी दमन हुनु
यसरी सरकारले गल्तीमाथि गल्ती गरिरहेको छ । अब, निर्मलाको हत्या, हत्यापछि उठेको जनआवाज, बलात्कारी एवम् हत्यारालाई कारबाहीसँगै निर्मलाको न्याय लागि भएका आन्दोलन र हत्यारा पत्ता लगाउन भएका प्रयासको श्रृङ्खला हेरौं ।
साउन १०ः बलात्कारपछि हत्या
साउन ११ः शव भेटियो
साउन १४ः अनुसन्धानका लागि सिआईबीको टोली परिचालन
भदौ ४ः दिलिपसिंह विष्ट सार्वजनिक
भदौ ५ः आन्दोलन चर्कियो
भदौ ६ः एसपी विष्ट र सिडियोको सरुवा
भदौं ७ः छानबिन समिति गठन
भदौं ८ः शनी खुनाको मृत्यु
भदौ ९ः एसपी विष्ट निलम्बित
भदौ २६ः दिलिपसिंह विष्ट रिहा
भदौ ३०ः पाँच प्रहरी निलम्बित
असोज ९ः छानबिन समितिले अन्तिम प्रतिवेदन बुझायो
कात्तिक ८ः एसपी विष्ट बर्खास्त
कात्तिक २५ः निर्मलाका बाआमा धर्नामा
मंसिर ७ : निर्मलाका बुबा बिरामी
मंसिर १२ः ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्ने अभियान सुरु
न्युज २४ टिभिबाट साभार
फेसबुकबाट कमेन्ट गर्नुहोस्