आईजीपी हुन कसले बुझाउला गह्रुंगो ब्रिफकेस ?
आगामी फागुन २ गतेदेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि समाप्त हुँदैछ । त्यसैले अबको तीनसाता विगतमा रमेश खरेलले भाषण गर्दा भनेझैं ‘ब्रिफकेस’ बोक्ने प्रहरी हाकिमहरुको सक्रियता बढ्ने सम्भावना छ ।
रमेश खरेलले हावाका भरमा ‘ब्रिफकेस’को कुरा गरेका थिएनन् । प्रहरी अधिकारीहरु नै भन्छन–‘त्यसरी ब्रिफकेस बुझाउने व्यक्ति अहिले पनि एआइजी पदमा काम गरिरहेका छन् ।’ दण्डहीनता मौलाएको देशमा त्यस्ता व्यक्ति कारवाही होइन, किस्साका पात्र बनेका छन् ।
संयोग कस्तो परेको छ भने अहिले सरकार सञ्चालनमा रहेका नेपाली कांग्रेस र माओवादी दुबै सरुवा–बढुवामा पैसा खान माहिर पार्टी हुन । प्रहरीको सरुवा–बढुवामा पैसा नखाइकन इमान्दारको पक्षमा कांग्रेसका नेताहरुले काम गरेको इतिहासै छैन ।
लोकमानसिंह कार्कीलाई जलस्रोत सचिव बनाउन तत्कालीन मन्त्री बलदेव शर्मा मजगैयाँलाई जिउँदो सहिद बनाउने पार्टी नेपाली कांग्रेस नै हो, जो अहिले सत्तामा छ र गृह मन्त्रालय पनि उसैको हातमा छ । ल्हारक्याल लामासँग पैसा खाएर सभासद बनाउने माओवादी पार्टी पनि अहिले सरकारमै छ ।
प्रधानमन्त्री पदमा माओवादी पार्टीकै अध्यक्ष प्रचण्ड बसेका छन् । पैसा खाएर नियुक्ति गर्ने संस्कारमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीले अबको तीन सातामा कस्तो व्यक्तिलाई कति पैसा लिएर आइजीपीमा नियुक्त गर्ने हुन् भनेर सबैले चासोका साथ नियालिरहेको अवस्था छ ।
प्रहरी र कर्मचारीहरुको नियुक्ति एवं सरुवा–बढुवामा नेतालाई ब्रिफकेस बुझाउने ‘बनाना लोकतन्त्र’ को जन्मदाता नेपाली कांग्रेस हो । माओवादी पनि त्यही संस्कारको ‘बाइ प्रोडक्ट’ हो । उसो त केही एआइजीहरु अहिले नै उपेन्द्रकान्तलाई विदामा पठाएर एआइजीबाटै आइजीपी बनाउने कसरतमा लागेका छन् ।
यसका लागि केही एआईजीले शेरबहादुर देउवा र नातेदारबाट सञ्चालित मिडियालाई समेत प्रयोग गरिरहेका छन् । एआइजीबाट आइजीपी बन्ने दाउमा रहेका केही प्रहरी अधिकारीमा लोकमानसिंह कार्कीका मान्छेसमेत छन, जसले विगतमा लोकमानलाई सघाउँदै आएका थिए ।
आइजीपी अर्याल भने आफूसँगै यी सबै एआइजीहरुलाई घर पठाउने र डीआइजीबाटै आइजीपी बनाउने दाउमा छन् । दोस्रो, एआइजीबाट आइजीपी बन्न नसक्ने र डीआइजीबाट खोज्नुपर्ने अवस्थामा समेत चलखेल हुन सक्ने अर्को सम्भावना छ ।
यो स्थितिमा केही डीआइजीहरु यतिबेला नेता खुशी पार्ने अभियानमा छन् । जसले गर्दा सुन तस्करीसँग जोडिएका व्यक्तिलाई कारवाही गर्ने जोखिम प्रहरी अधिकारीहरुले मोल्न गाह्रो बनेको छ । केही कनिष्ठ डीआइजी पनि सिनियरहरुलाई ‘मिटर ब्याजी’ र सुनकाण्डमा मुछिएका भन्दै ‘मिडिया म्यानेज’मा भित्रभित्रै लाग्न थालेका छन् ।
तसर्थ प्रश्न जरुर उठ्न सक्छ, आफूले चिनेको तस्करलाई समाउन नसक्ने प्रहरी हाकिमले कसरी संगठनको नेतृत्व हाँक्न सक्लान् ? कसरी देश हाँक्न सक्लान् ? पद र व्यक्तिगत लाभका लागि आफ्नै संगठन भित्रका साथीहरु विरुद्ध मिडियामा समाचार लेखाउँदै हिँड्ने प्रहरी अधिकारीले कसरी संगठनभित्र एकता र पारदर्शिता कायम राख्लान् ?
यो पनि पढ्न सिफारीस गर्दछौँ ;
आईजिपिको दौडधुपमा चन्दको सम्भावना बलियो
फेसबुकबाट कमेन्ट गर्नुहोस्