एकजनाले गर्दा जापानबाट आएका २१२ क्वारेन्टिनमा
कोरोना भाइरसको महामारीका कारण बन्द भएको ६ महिनापछि सरकारले केही सीमित गन्तब्यमा गत मंगलबारबाट व्यवसायिक अन्तरराष्ट्रिय उडान सञ्चालन गर्यो । त्यसमध्येको एउटा गन्तब्य हो, जापानको नारिता ।
नारिताका लागी गत बुधबार राति काठमाडौंबाट उडेको जहाजले बिहीबार साँझ २१२ जना यात्रुलाई काठमाडौं ओराल्यो । नारिताबाट जहाज चढ्ने बेला जहाजमा सबै जना पीसीआर परीक्षण गरेका यात्रु मात्र भएकाले सबै जना घर जान पाउनेमा ढुक्क थिए । सरकारी नियम पनि त्यस्तै छ ।
तर, काठमाडौं झरिसकेपछि सेनाले कसैलाई घर जान अनुमति दिएन । कारण थियो, एक यात्रुसँग पीसीआर नभएर आरडिटी मात्र गरिएको रिपोर्ट भेटिनु । नेपाली सेनाले नेपाल एयरलाइन्सलाई नियम मिचेको भन्दै होटल खोजेर सबैलाई क्वारिन्टिन गर्न भन्यो ।
ती यात्रु कसरी आरडीटी रिपोर्टका भरमा काठमाडौं ओर्लिए भनेर सोधखोज गर्दा विमानस्थलमा गम्भीर जाँच नभएको र यात्रुले पनि आफ्नो रिपोर्ट आरडीटीको भएको नबताएको पाइएको छ ।
नियमित उडान बन्द भएको र तत्काल व्यवसायिक उडान सम्भव नभएपछि विदेशमा तलव मात्र खुवाएर कर्मचारी राख्न उपयुक्त नदेखेपछि नेपाल एयरलाइन्सले जापानको नारितास्थित कार्यालयका कर्मचारीलाई काठमाडौं बोलाएको थियो । उनी फर्किर्एका थिएनन् ।
जापानमा नेपाल एयरलाइन्सले बुधबारको उडानको व्यवस्थापन स्थानीय जीएसएलाई दिएको थियो । नारिता विमानस्थलमा २१२ जना यात्रुलाई जहाज चढाउने बेला सबै यात्रुले रिपोर्ट देखाए ।
तर, एक यात्रुले चतु¥याइ गरे । ती यात्रुले आरडीटी परिक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र देखाइदिए । जीएसए र विमानस्थलका कर्मचारीले त्यसैलाई पीसीआर सम्झिएर मान्यता दिए र जहाज चढाइदिए ।
सरकारले पीसीआर रिपोर्ट नेगेटिभ आएका र परीक्षण नै नगरेका यात्रुलाई एउटै जहाजमा ल्याउन नपाउने निर्णय गरेको छ । आरडीटी रिपोर्ट बोकेर आएका यात्रुबाट अन्यलाई जोखिम हुने अवस्था मूल्यांकन गरेर सेनाले होटल क्वारिन्टिनमा राख्न निगमलाई भन्यो ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का भन्छिन्, ‘प्रमाणपत्र हेर्दा नेगेटिभ देखेपछि जहाज चढ्न अनुमति दिएजस्तो देखिन्छ, हामीले एजेन्सीलाई विश्वास ग¥यौं, एजेन्सीले यात्रुलाई ।’
सरकारले एउटै विमानमा सबै यात्रुको पीसीआर आएको भए मात्रै घर जान दिने, नभए होटल क्वारिन्टिमा बस्नुपर्ने निर्णय गरेको छ । पीसीआर गरेका यात्रु र नगरेका यात्रुलाई एउटै विमानमा ल्याउन नपाइने नियम पनि छ ।
तर, एक यात्रु पीसीआर नगराई विमान चढेपछि २१२ जना यात्रु नै काठमाडौंमा होटेल क्वारेन्टिनमा बस्नु परेको छ । अब होटलसहित उनीहरुको व्यवस्थापन खर्च एयरलाइन्सको थाप्लोमा आएको छ । ‘महामारीमा सरकारले बनाएको नियम त मान्नै प¥यो’, खड्का भन्छिन्, यो घटना हाम्रो लागि दुर्भाग्य भयो ।’
सरकारले आफ्ना नीति र प्रावधानबारे बेलैमा विदेशस्थित नियोगबाट नेपाली रहेका स्थानमा सूचित नगर्दा समेत अलमल र गल्ती हुने गरेको निगमको गुनासो छ । ‘महामारीको बेला छ, छिनछिनमा निर्णयहरु परिवर्तन हुन्छन्’, नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले भने, ‘तर, यात्रु साविकमा जस्तै सोचेर विमानस्थल आउँछन् ।’
लामो समयदेखि व्यापार गर्न नपाएपछि संसारभर एयरलाइन्सहरु घाटामा छन् । अर्कोतर्फ यस्ता घटनाका कारण एयरलाइन्सले समस्या भोग्नुपर्ने अवस्था छ । केही दिन अगाडि एयर अरेवियाले पनि यही समस्या भोग्यो । सरकारको निर्णय आउनु अगाडि नै टिकट काटेका यात्रुले सारजहाँबाट आरडिटी नेगेटिभ रिपोर्ट देखाएर काठमाडौं आए ।
उनीहरुलाई विमानस्थलमै रोकिदिएको भए दुई दर्जन नेपाली घर आउन पाउने थिएनन् । जहाज रित्तै उड्नुपर्ने थियो । काठमाडौं ल्याएर अहिले उनीहरुलाई कम्पनीले होटेल क्वारेन्टिनमा राखेको छ । गत शनिबार सिंगापुरबाट सिल्क एयर चढेर आएका केही यात्रुले ‘नक्कली रिर्पोट’ ल्याएको भन्दै सबै १ सय ८० जना यात्रुलाई विमानस्थलमा खटिएको सेनाले होटेल क्वारेन्टिनमा पठायो ।
तर, अष्ट्रेलियाबाट आएका यात्रुले आफुहरुले आधिकारिक अस्पतालबाटै परीक्षण गरी रिर्पोट ल्याएको भन्दै सक्कली रिर्पोट भएको दावी गरेका थिए । एक यात्रुका अनुसार उनीहरुको रिपोर्टमा अस्पतालले ‘पीसीआर नेगेटिभ’ लेखेको थिएन । सिधै ‘कोभिड नेगेटिभ’ लेखेको थियो ।
विमानस्थलमा यात्रुको व्यवस्थापनमा खटिएको नेपाली सेनाले पीसीआर नलेखेको रिर्पोट नक्कली भएको भन्दै उनीहरुलाई होटेल क्वारेन्टिनमा पठाएको थियो । तर, पछि एयरलाइन्सबाट पीसीआर सक्कली भएको प्रमाणित गरी चौथो दिनमा घर पठाइएको छ ।
नियमित उडान खोल्ने निर्णय गर्दा सरकारको प्रवक्ता अर्थ, सूचना तथा संचार मन्त्री युवराज खतिवडाले विदेशबाट आउने सबै नागरिक अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् ।
त्यसको दुई दिनपछि पर्यटनमन्त्री योगेश भट्टराईले पीसीआर नेगेटिभ भएका यात्रु सिधै घर जान पाउने तर एउटै जहाजमा परीक्षण भएका र नभएका यात्रु ल्याउन नपाउने विषय सार्वजनिक गरेका थिए । सोहीकारण अहिले यात्रुले जसरी पनि पीसीआर रिपोर्ट बनाउन थालेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्