सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देशका ठुलाबडाले के भने त प्रजाको बारेमा ?

 

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो । विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

नागरिक अधिकारको सम्मानका लागी निर्वाचन; राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले संविधानले व्यवस्था गरेअनुसारको आवधिक निर्वाचन मार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले इतिहाँसको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व बताउनुभएको छ ।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

प्रजातन्त्र दिवसमा उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो शुभकामना सन्देशमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गरेर निर्धारीत समयमा संविधानको पूर्ण कार्यान्वयनका साथै राजनीतिक स्थायित्व सहित देशलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

उपराष्ट्रपति पुनले संविधानबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवम दिगो आर्थिक विकास सहितको समृद्धिको मार्गमा द्रुत रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले आजको ऐतिहासिक दिनले राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि; प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।

सतसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ–“नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२÷६३ को दोस्रो जनआन्दोलन र मधेस, थारु, जनजाति लगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

यसैबीच, प्रधानमन्त्री प्रचण्डले सूचना, शिक्षा र मनोरञ्जनका सामग्रीसहित विविध सूचना र समाचारलाई अविछिन्न रुपले प्रवाह गरिरहेका आमसञ्चारमाध्यमले विकास तथा विस्तारसँगै आफूलाई संयमित, मर्यादित र विश्वसनीय बनाउने ध्यान अपेक्षा गरिएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति स्थापनाको ५६ औंँ वर्ष प्रवेशका उपलक्ष्यमा शुभकामना दिँदै सूचना र समाचार जनताको नैसर्गिक अधिकार भन्ने सर्वस्वीकार्य मान्यता अनुरुप जनताको सुसूचित हुन पाउने हकको सुनिश्चितताका लागि सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको आमसञ्चार क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय समाचार समिति (रासस) फैलँदो आमसञ्चार उद्योगका बीच सूचना र समाचारको मुहान एवम् बैंकका रुपमा स्थापित हुन सक्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसमा यस्तो छ पुर्वराजाको भनाई
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । पुर्व रानी कोमल शाहको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरि आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन् ।

वक्तव्यमा शाहले भनेका छन–‘प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक पद्धतीको अनेक रुप हुन सक्छन् । तर जुनसुकै नामका प्रणाली भएपनि प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्दछ ।’

पुर्वराजा शाहले वक्तव्यमा भनेका छन–‘राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हाम्रो आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्