जेठ १ गते दाहालको राजीनामा, अनि देउवा प्रधानमन्त्री
कांग्रेस–माओवादी गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गरी जेठ १ गते राजीनामा दिने भएका छन् ।
कांग्रेस र माओवादीबीच भएको पूर्व सहमतिअनुसार दाहालले स्थानीय निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको भनी कांग्रेस नेतृत्वलाई बचन दिएको स्रोतले बताएको छ ।
उनको राजीनामापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन । पछिल्लो समय प्रधानमन्त्री दाहाल पूर्वसहमति अनुसार सत्ता छाड्न तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठ्दै आएको छ ।
दाहालले राजीनामा दिए पनि संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गरी जेठ १५ गते नयाँ आर्थिक वर्षको वार्षिक बजेट पेस गर्न संवैधानिक र व्यवहारिक रूपमा सम्भव छ कि छैन भन्ने प्रश्न पनि रहेको छ ।
यी दुवै प्रश्नबीच प्रधानमन्त्री दाहालले जेठ १ गते नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरिदिने बचन कांग्रेसका नेताहरूलाई दिएको स्रोतको भनाइ छ ।
यसबीच प्रमुख प्रतिपक्षी एमालेले कांग्रेसलाई सत्ताबाहिर राखेमा माओवादी सरकारलाई नै समर्थन गरिदिने बचन समेत दिएको स्रोतको दाबी छ । माओवादी नेतृत्व भने संसदको निर्वाचनसम्म कांग्रेससँगको गठबन्धन कायम राख्न चाहन्छ ।
कांग्रेस र माओवादीबीच गत साउनमा भएको पाँचबुँदे गोप्य सहमतिअनुसार दाहाल नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो ।
त्यही सहमतिका आधारमा सरकार गठन गरेका दाहालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गराउने सर्तमा कांग्रेससँग एक महिना थप समय मागेका थिए ।
यसबीच संविधान संशोधन गरी मधेसी मोर्चालाई पनि सहभागी गराएर पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सके यही नै आफ्नो नेतृत्वको सबैभन्दा ठूलो उपलब्धि हुने दाहालको बुझाइ छ ।
त्यसपछि दोस्रो चरणको निर्वाचन अगावै वैशाख ३१ को परिणाम समेत नपर्खी देउवालाई सरकारको नेतृत्व सुम्पन तयार रहेको कांग्रेस नेतृत्वसँग दाहालले बताउँदै आएका छन ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले सहमतिका लागि एक साताको समय दिनुपर्छ । संसदमा रहेका दलहरूबीच सहमतिको अवस्था नभएकाले सात दिन बितेलगत्तै संसदबाट प्रधानमन्त्री निर्वाचित गराउने सहमति दुई दलबीच भएको छ ।
यसअनुसार जेठ १० गतेभित्र देउवालाई प्रधानमन्त्री निर्वाचित गरिनेछ । त्यसलगत्तै सरकारले नीति तथा कार्यक्रम पेस गर्ने र जेठ १५ गते देउवा नेतृत्वको सरकारले नै बजेट पेस गर्ने अहिलेसम्मको सहमति छ ।
यसका लागि सत्तारुढ दलहरूले सहमतिका आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गृहकार्य थालिसकेका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गठित कार्यदलले नीति तथा कार्यक्रम र बजेटमा गृहकार्य गरिरहेको छ ।
उक्त कार्यदलमा कांग्रेस तर्फबाट परराष्ट्रमन्त्री प्रकाशशरण महत, राप्रपा तर्फबाट आपूर्तिमन्त्री दिपक बोहोरा र नेकपा संयुक्तबाट जयदेव जोशी रहेको स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्