सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल आफैले नाप्ने भयो सगरमाथाको उचाई

भारतले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने दाबी गरिरहेका बेला नेपाल आफैले त्यसको सुरुवात गरेको छ । नापी बिभागले सगरमाथाको उचाई नाप्ने प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

नापी विभागका अनुसार त्यसका लागि कार्यविधि निर्माण भईरहेको छ । विभागका निर्देशक अनिल मरासिनीले भने–‘दशैंअघि नै कार्यविधि तयार भइसक्छ । त्यसमा अन्र्तराष्ट्रिय विज्ञको समेत सुझाव लिएर उचाइ नाप्ने काम सुरु गर्नेछौं ।’

विभागका अनुसार उचाइ नाप्ने प्रयोजनका लागि अहिले तल्लो भागमा रहेका राजमार्गको लेबलिङ सुरु गरिएको छ । ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म लेबलिङको काम भइरहेको छ ।

१२ वैशाख ०७२ को भूकम्पका कारण सडकको लेबलिङमा असर पुगे/नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको मरासिनीले जानकारी दिएका छन ।

विभागका अनुसार यसका लागि मूलतः तीन वटा विधि प्रयोग हुन्छन् । ‘डाइरेक्ट मेजरमेन्ट’ अन्र्तगत प्रत्यक्ष रुपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ ।

यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ, जसअनुसार निश्चित विन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य विन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ । हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो ।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जीपीएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । तर, त्यसले अन्र्तराष्ट्रिय मान्यता पाउन सकेन ।

विभागका अनुसार तीन वटै विधि प्रयोग गर्ने तयारी भइरहेको छ । एउटा मात्र विधि प्रयोग गर्दा विश्वसनीयता कम हुने भएकाले ‘हाइब्रिड’ पद्दति अपनाइने विभागको भनाइ छ ।

‘एउटा विधिबाट लिइएको नापलाई अन्य विधिबाट क्रसचेक गर्दै उचाइ नाप्ने योजना छ,’ निर्देशक मरासिनीले भने, ‘त्यसबाट सगरमाथाको उचाइको वैज्ञानिक विश्वसनीयता र अन्र्तराष्ट्रिय मान्यता पाउने विश्वास छ ।’

सगरमाथाको उचाइ नाप्न नेपाल आफैं सक्षम रहेको विभागको भनाइ छ । गत माघमा भारतले सगरमाथाको उचाइ नाप्न सर्वे टोली पठाउन लागेको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

‘अन्र्तराष्ट्रिय विज्ञको परामर्श सहयोग र आवश्यक प्रविधि अपनाउन सकिन्छ,’ मरासिनीले भने, ‘तर, उचाइ नाप्ने काम कुनै मुलुकलाई दिन मिल्दैन ।’

आफैं सक्षम रहेको अवस्थामा अरु मुलुकलाई यस्तो संवेदनशील विषयमा प्रवेश गर्न दिन नहुने ठम्याइ विभागको छ । यद्यपि, अहिलेसम्म कुनै पनि मुलुकबाट त्यससम्बन्धि औपचारिक प्रस्ताव नआएको मरासिनीले बताएका छन ।

विभागका अनुसार उक्त प्रयोजनका लागि बजेट अभाव छैन । अर्थ मन्त्रालयले त्यसको सुनिश्चितता दिइसकेको छ । उक्त प्रयोजनका लागि चालु आर्थिक वर्ष ०७४/७५ मा प्रारम्भीक चरणमा दुई करोड रुपैयाँ निकासा भइसकेको छ ।

उक्त विषयलाई विभागले आफ्नो वार्षिक कार्ययोजनामा समेत समावेश गरेको छ । यसअघि सन् २०११ मै त्यस सम्बन्धि कार्यक्रम विभागले तयार पारेको थियो, जुन बजेटको जोहो हुन नसकेर अगाडि बढ्न सकेको थिएन ।

उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्न करिब डेढ वर्ष लाग्ने अनुमान छ । पर्वतारोही प्रयोग गर्नुपर्ने र सगरमाथा आरोहणका लागि वर्षमा दुई सिजन मात्र उपयुक्त हुने भएकाले पनि समय लाग्ने विभागको भनाइ छ ।

त्यसमा पनि उचाइ नाप्न एक सिजन मात्रै बढी अनुकुल हुन्छ । सम्भावित प्रकोपले पनि यस्तो काममा प्रभाव पार्ने भएकाले तोकिएको समयसीमामै काम सम्पन्न गर्न सम्भव हुने यकिन गर्ने अवस्था नरहेको विभागको भनाइ छ ।

सन् १८५५ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको पत्ता लगाएको थियो । त्यतिबेला भारतमा बेलायती साम्राज्य कायम थियो ।

सर्वे अफ इन्डियाका तर्फबाट जर्ज एभरेस्टले उचाइ मापन गरेका थिए । सोही कारण उनकै नामबाट सगरमाथाको अंग्रेजी नामाकरण माउन्ट एभरेस्ट गरिएको हो ।

यसबीचमा, इटाली, नेसनल जोग्राफी लगायतले सर्वोच्च शिखरको उचाइ नापेको दाबी गरेका थिए । ती दाबीले पनि अन्र्तराष्ट्रिय मान्यता पाएका छैनन् ।

भूकम्प र जलवायु परिवर्तन लगायत कारणले सगरमाथाको उचाइमा घटबढ हुन सक्ने शंका गरिँदै आएको छ । सोही कारण मापनको तयारी थालिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्