सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रचण्ड र केपीले देखाए सिटौलामाथी बैगुन

अनेक हल्ला र अड्कलबाजीका बाफजुद झापा क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य) को चुनावी समीकरणले पूर्णता पाएको छ । सो क्षेत्रका लागी नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् ।

सुरुमा कांग्रेसले लिङ्देनलाई समर्थन गर्दै सिटौलाको नाम समानुपातिकमा राखेको थियो । तर, सिटौलाले त्यसलाई अस्वीकार गरे र लिङ्देनलाई दिएको समर्थन फिर्ता लिँदै आफैं टिकट लिन सफल भए । तर, लिङ्देन पनि के कम ? अन्य ६ सिटको चुनावी तालमेललाई जोखिममा राखेर भए पनि उनी झापा ३ मै उम्मेदवार बने ।

अन्ततः राप्रपा नेता लिङ्देन वाम गठबन्धनको समेत समर्थन लिन सफल भएपछि झापा ३ को भिडन्त अँझ रोचक बनेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावको उम्मेदवारीमा देखिएको सबैभन्दा नाटकीय दृश्य सम्भवतः यो नै हो ।

आखिर सिटौला र लिङ्देन किन एकअर्कालाई स्वीकार गर्दैनन् ? यो बुझ्न ०४६ सालतिर फर्किनुपर्छ । कृष्णप्रसाद सिटौला झापा कांग्रेसका उदीयमान नेता थिए भने राजेन्द्र लिङ्देन कट्टर राजावादी । पञ्चायतविरुद्ध देशभर आन्दोलन चर्काउने क्रममा सिटौलाको योजनाअनुसार १३ चैत ०४६ मेची क्याम्पसमा पञ्चायतको पुत्ला जलाउने कार्यक्रम तय भयो ।

पञ्चायतविरुद्ध प्रदर्शनको तयारी हुँदै गर्दा पञ्चायतसमर्थित विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डल, जसलाई कांग्रेसहरु मण्डले भन्थे, को अवरोध रहृयो । उनीहरुको प्रहारबाट राम थापाको मृत्यु भयो भने मोहन महर्जन घाइते भए ।

‘यो घटना लिङ्देनकै योजनामा भएको थियो’ झापाका कांग्रेस नेता सुुधिर सिवाकोटी सम्झन्छन, ‘उनले त्यो बेला विद्यार्थी आन्दोलन दबाउन खोजेका थिए ।’

तर, लिङदेन अहिले पनि राम थापाको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्छन् । ‘आज पनि राजनीतिक रुपमा बाहेक त्यो घटनामा मेरो संलग्नता कसैले प्रमाणित गर्छ भने उसको घरमा नोकर बस्न तयार छु’ लिङ्देनले यसै भन्नेगरेका छन ।

यद्यपि आन्दोलन सफल भएपछि लिङ्देन केही समय जेल पनि परे । झिलझिलेका गंगा न्यौपाने लामो समय जेल बसे । तर, लिङ्देन छुटे । बहुदल आएपछि झापामा राजावादीहरु कमजोर भए । राष्ट्रिय राजनीतिमा कांग्रेस हावी भयो । राप्रपा र कांग्रेसका नेताहरु केन्द्रमा प्रजातान्त्रिक गठबन्धनका नाममा कुनैबेला नजिक पनि देखिए । तर, झापामा भने कहिल्यै कांग्रेस र राप्रपाको सम्बन्धमा सुधार आउन सकेन ।

बरु लिङ्देनले बेला–बेला सिटौलालाई चुनौती दिन प्रयास पनि गरे । तर, सफल भएनन् । ०५६ को आम चुनावबाट सिटौला झापा क्षेत्र नं. १ बाट चुनाव लडे । उनविरुद्ध राजेन्द्र लिङ्देन खडा भए । सिटौला सांसदमा विजयी हुँदा लिङदेन तेस्रो भए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भए । त्यहीबेला उनले आफ्नो प्रभाव केही विस्तार गरे । तर, ०६२/०६३ को आन्दोलन सफल भएपछि पनि लिङ्देन र सिटौलाको सम्बन्ध राम्रो रहेन । बरु जुहारी नै चल्यो ।

०६४ मा पूर्वमन्त्री स्व. रविन्द्रनाथ शर्मा बिर्तामोड जाँदा माओवादीले कालोमोसो दल्ने प्रयास गरे तर, सकेनन् । त्यसको बदलामा लिङ्देनमाथि कुटपिट भयो । आफूमाथि माओवादीले दुव्र्यवहार गर्दा तत्कालीन गृहमन्त्री सिटौलाले सुरक्षा नदिएको लिङ्देनको आरोप छ । उनी भन्छन–‘मानिसहरुले घेरा हालेर प्रहरी प्रशासनकै अगाडि कुट्दा पनि केही गर्दैन भने यसमा गृहमन्त्रीको संलग्नता नभएर कसको हुन्छ ?

०६४ को संविधानसभा चुनावमा सिटौला माओवादी नेता पूर्णसिंह राजबंशीसँग झापा ३ मा पराजित भए । आन्दोलनको रापतापपछि भएको चुनावमा लिङ्देन भने उठेनन् । तर, ०७० को संविधानसभामा लिङदेन फेरि कांग्रेस नेता सिटौलाविरुद्ध झापा ३ मा उम्मेदवार बने । सिटौलाले १४ हजार ३ सय ५५ मत ल्याउँदै सांसद बन्दा लिङ्देन दोस्रो भए ।

अहिले फेरि सिटौला र लिङ्देन आमने–सामने भएका छन् । वाम गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने क्रममा झण्डै सिटौला र लिङ्देन एक ठाउँमा उभिएका थिए । तर, यो न सिटौलालाई स्वीकार्य भयो, न कांग्रेसका कार्यकर्तालाई नै ।

लिङ्देन सुरुमा त कांग्रेससँगको तालमेलबाट खुसी नै थिए । तर, सिटौलाले त्यसलाई भत्काएपछि उनी पनि आफूलाई अपवित्र हुनबाट जोगाएको तर्क गरेका छन् । उनले भने, ‘यो पटक झण्डै एक ठाउँमा आएका थियौं । तर, अपवित्र हुनबाट जोगिएँ ।’

वामपन्थीले सघाउँदा लिङदेनको पल्ला भारी !

झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी, हल्दीबारी र कचनकबल गाउँपालिका पर्छन् । भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ नम्बर वडा र बिर्तामोडको वडा नं. १० पनि यहीँ समेटिएको छ । त्यसमध्ये हल्दीबारी र कचनकबल राप्रपाले जितेको छ भने बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।

यस निर्वाचन क्षेत्र अन्तरगत पर्ने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले बाह्रदशी गाउँपालिकामा जित हात पारेको थियो । त्यस्तै भद्रपुर नगरपालिकाको वडा नम्बर ५ र ८ कांग्रेसले जितेको थियो । राप्रपाले यस क्षेत्रभित्र पर्ने नगरपालिकाका कुनै पनि वडा जितेको थिएन । एमालेले बिर्तामोड १० सहित भद्रपुरका २, ३, ६ र ७ नम्बर वडा जितेको थियो । माओवादीले भद्रपुरको ४ नम्बर वडा जितेको थियो ।

स्थानीय निर्वाचनमा प्रमुख पदहरुमा खसेको मतलाई आधार मानेर हेर्ने हो भने झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले २० हजार २२ मत पाएको देखिन्छ । राप्रपाले भने १३ हजार ७५० अर्थात कांगे्रस भन्दा झण्डै ७ हजार कम मत पाएको देखिन्छ ।

आगामी चुनावमा सिटौला र लिङदेन एक्लाएक्लै भिड्ने हो भने स्थानीय चुनावको आँकडाले उनीहरुवीच ७ हजार मत तलमाथि पर्ने अनुमान लगाउन सकिन्छ । स्थानीय चुनावमा यस क्षेत्रमा एमालेले १५ हजार ५६२ मत पाएको थियो भने माओवादीले ८९९१ मत पाएको थियो । एमाले र माओवादीको मत जोड्दा २४ हजार ५५३ पुग्छ । वामपन्थीको यो मत राजेन्द्र लिङदेनलाई थपिने हो भने उनले ३७ हजारको हाराहारीमा मत पाउन सक्छन् । यो भनेको कांग्रेसको भन्दा करिब १७ हजार बढी हो ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा र कांग्रेस एक्लाएक्लै लडेको स्थितिमा वाम गठबन्धनले जित्ने सम्भावना बलियो देखिन्छ । कांग्रेस र राप्रपा मिलेरै चुनाव लडेका भए पनि उनीहरुको मत र वाम गठबन्धनको मत लगभग बराबरै हुने देखिन्छ । तर, कांग्रेस एकातिर र वाम–राप्रपा गठबन्धन अर्कातिर हुनासाथ सिटौलाको भन्दा लिङदेनको पल्ला भारी हुने देखिन्छ ।

संसदीय राजनीतिका माहिर खेलाडी कृष्णप्रसाद सिटौला २० हजार संगठित मतका आधारमा एक्लै चुनावी मैदानमा गए भने झापा ३ मा उनको स्थिति कमजोर हुने प्रष्ट देखिएको छ । यो अवस्थामा लिङदेनले सिटौलालाई हराए भने शायद पञ्चायतकालदेखिको उनको धोको पूरा हुनेछ ।

सिटौलाले प्रचण्ड र केपी ओलिलाई लगाएको गुनको बदला बैगुन

कांग्रेस नेता सिटौलालाई चुनाव हराउँदा राजेन्द्र लिङदेन पक्कै खुशी होलान, तर सिटौलाको यो पराजयले नेपाली कांग्रेसको सिंगै पार्टी जीवनमा असर पर्ने देखिन्छ । समानुपातिक सूचीमा नबसेर प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका सिटौला कांग्रेसभित्र तेस्रो धारका नेता हुन् । तर, उनी चुनावमै हारे भने कांग्रेसको राजनीतिमा देउवा र रामचन्द्र पौडेलको तुलनामा उनी छाँयामा पर्ने खतरा देखिन्छ ।

आखिर किन सिटौलाले झापा ३ मा खतरा मोल्न चाहे ? शायद उनले राजेन्द्र लिङदेनसँग चुनाव लड्नै लाग्दा यो सोचेका थिए कि वामपन्थीहरुले बेग्लै उम्मेदवार उठाउने छन् र लिङदेनलाई सघाउने छैनन् ।

त्यसो त राजनीतिमा स्थायी मित्रता र गुनको पैचों तिरिँदैन भन्ने झापा ३ मा देखिएको छ । एक समय प्रचण्डलाई कास्कीको सिकलेसबाट हेलिकोप्टर चढाएर सिंहदरबारसम्म ल्याउने उनै सिटौला थिए । एमालेमा पनि ‘युक्त भेटवाल प्रकरण’ मा सिटौलाले केपी ओलीलाईसमेत गुन लगाएको चर्चा झापामा चल्ने गरेकै छ । तर, अहिले उनै सिटौलाले वामपन्थीहरुको बज्रमुक्का सामना गर्नुपर्ने स्थिति आउँदा पक्कै पनि सिटौलाको चित्त दुःखेको हुनुपर्छ ।

झापामा कृष्ण सिटौला र केपी ओलीवीच चुनावका बेला जहिल्यै भद्र सहमति हुने गरेको चर्चा चल्ने गरको थियो । दुई वामपन्थी दलहरुले झापा ३ मा जान अन्कनाइरहेको स्थितिमा यसको फाइदा उठाउन सकिने कांग्रेस नेता सिटौलाले पक्कै पनि सोचेका थिए होला ।

आखिर जे भए पनि नेपाली कांग्रेसभित्र गगन थापा लगायतसँग मिलेर तेस्रो धारको नेतृत्व गरिरहेका सिटौलाका लागि यसपालिको चुनाव उनको राजनीतिक भविश्यसँग जोडिएको छ ।

अनलाइनखवरबाट साभार गरिएको

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS