सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘स्वीच थिच’ भनेपछी माथिल्लो मर्स्याङ्दी बल्ने

mathillo-marsyangdi-bhulbhule-lamjung

लमजुङ्गमा अवस्थीत माथिल्लो मस्र्याङ्दी जलबिधुत आयोजनाबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएको छ । काठमाण्डौको पाँचतारे हायात होटलबाट उर्जामन्त्रीले परियोजना स्थलका कर्मचारीलाई स्वीच थिच भनेपछी परियोजनाले नियमित बिजुली उत्पादन सुरु गर्नेछ ।

सोमबार उर्जामन्त्री जनार्दन शर्माले काठमाण्डौबाट आयोजना स्थलमा रहेका प्राबिधिकलाई स्वीच थिच्न निर्देशन दिएर बिद्युत उत्पादनको औपचारीक उदघाटन गर्दैहुनुहुन्छ । उर्जा मन्त्रालयका अधिकारीले भने–‘आयोजनास्थल जान मन्त्रीज्युको समय नभएकाले हायात होटलबाट स्वीच थिच्न निर्देशन दिएर उद्घाटन गर्ने तयारी छ ।’

आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणको दमौली प्रसारण लाइनमा जोडिने छ । बिद्युत प्राधिकरणले प्रसारण लाइन नबनाएपछी आयोजना स्वयंले ३० करोडको लागतमा मध्य मस्र्याङ्दीसम्मको २४ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको छ ।

दमौली सबस्टेशनमा विजुली पठाउन वान वे प्रसारण लाईन भएकाले आयोजनाले अहीले २५ मेगावाट विजुलीमात्रै पठाउने छ । विद्युत प्राधिकरणले टु वे प्रसारणलाइन बनाउने वित्तिकै आयोजनाको ५० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

लमजुङको भुलभुलेमा पावर हाउस रहेको मस्र्याङ्दी जलबिद्युत परियोजना नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले बनाएको हो । सिनो हाइड्रो सगरमाथालाई चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहले प्रवद्र्धन गरेका छन् ।

कुल १६ अर्ब रुपैयाँमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको सिनो हाइड्रो सगरमाथाले जनाएको छ । आयोजनामा सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र सिनो हाइड्रो सगरमाथाको १० प्रतिशत लगानी रहेको छ । आयोजनाका लागि आश्यक पर्ने ऋण एक्जिम बैंक अफ चाइनाबाट लिइएको हो ।

भूकम्प, भारतीय नाकाबन्दी आदी कारणले काम पछि धकेलिँदा पनि सिनो हाइड्रो सगरमाथाले तोकिएको समयमै आयोजना सम्पन्न गर्न सफल भएको छ । आयोजनाको निर्माण कार्य ०६९ सालमा सुरु भएको थियो । आयोजनाले ०७३ को असोज १ गतेबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

माथिल्लो मस्र्याङ्दी बाहेक आगामी पुससम्ममा कास्कीको माथिल्लो मादी आयोजनाबाट २५ मेगावाट, ताप्लेजुङको हेवाखोलाबाट १४.९ मेगावाट, मुस्ताङको थापा खोलाबाट १४ मेगावाट, ताप्लेजुङको माथिल्लो माई सी बाट १० मेगावाट र ललितपुरको तुमुङ थोस्मे खोलाबाट ६ मेगावाट गरी ७० मेगावाट विजुली थपिने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्