सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लिम्पियाधुरामा भारतको खटनपटन कहिलेसम्म ?

सरकारले जेठ ५ गते लिम्पियाधुरासमेत समेटिएको नेपालको वास्तविक नक्सा मन्त्रिपरिषदबाट पारित ग¥यो । त्यसको दुई दिनपछि ७ गते भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले करिब ३७२ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको नयाँ नक्सा सार्वजनिक गरिन् ।

त्यसपछि संविधान संशोधन भयो र नेपालको आधिकारिक निशान छापमा समेत लिम्पियाधुरा समेटियो । लिम्पियाधुरा क्षेत्रका तीन गाउँ सांस्कृतिक रुपमा नेपालसँग जोडिन चाहिँ बाँकी नै छ ।

सरकारले लिम्पियाधुरा क्षेत्रलाई नेपालको प्रमाणित पार्ने दस्तावेज तयार पारिसकेको छ । महत्वपूर्ण पक्ष, त्यहाँको सांस्कृतिक पाटोबारे भने नेपालको राज्य संयन्त्र बेखबर छ ।

लिम्पियाधुरावारि कुटी गाउँभन्दा २६ किलोमिटर पूर्वको कालापानीमा भारतीय फौज बसेको दशकौं बितिसक्यो । भारतीय सुरक्षाकर्मीले नेपालीलाई त्यहाँभन्दा उत्तर–पश्चिम प्रवेश गर्न दिँदैैन । त्यो कारणले गर्दा नेपाली राज्य संयन्त्र कालापानी पश्चिमका ती तीन गाउँको रहन–सहनदेखि पर्यावरणीय अवस्थितिसम्मको कुरामा अनभिज्ञ छ ।

लिम्पियाधुरासमेत समेटिएको व्याँस गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकी कालापानी पारि जान भारतीय दूतावासको अनुमति चाहिने भएकाले सो क्षेत्रबारे जानकारी लिन कठिन भएको बताउँछन् ।

Limpiyadhura

सो क्षेत्रमा कति घर छन्, सांस्कृतिक पक्ष कस्तो छ ? भनेर बुझ्न बीचमा अवरोध रहेको उनी बताउँछन् । ‘गुञ्जी, नाभी र कुटी नेपाली भूभाग हो’, बुढाथोकीले भनेका छन्–‘अब नेपाल सरकारले त्यता जान भारतीय दूतावासको अनुमति नचाहिने व्यवस्था हुनु प¥यो ।’

केन्द्र सरकारले अब त्यहाँ पुग्न सकिने वातावरण छिट्टै बनाइदिनुपर्ने उनको माग छ । नत्र, जारी भएको नेपालको नयाँ नक्साको औचित्य नहुने उनी बताउँछन् । त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख मदनकुमार रिमाल राज्यले देशको सरहदभित्रको संस्कृति र परम्पराको जानकारी लिनुपर्ने बताउँछन् ।

‘पहिलो कुरा त गुञ्जी, नाभी र कुटीवासीले आफूहरू नेपाली भएको जानकारी नै पाएका छन् कि छैनन् भन्ने छ’, उनी भन्छन्, ‘पाँच दशकअघि नेपाली संस्कृतिअनुसार बाँचेका उनीहरूको संस्कृति अहिले कति बदलियो र उनीहरू अहिले कस्ता छन्, नेपाल राज्यले खोजखबर गर्नु प¥यो ।’

अब उनीहरूलाई नेपालसँग जोड्न अढाई सयवर्षअघि पृथ्वीनारायण शाहले लिएजस्तो सांस्कृतिक नीति लिनुपर्ने इतिहासकारहरूको मत छ । पृथ्वीनारायणले काठमाडौं जितेपछि सबैभन्दा पहिले कुमारीको दर्शन गरेका थिए ।

कस्तो छ गुञ्जी, कुटी र नाभीको रहन सहन ?
अहिले भारतको पिथौरागढ जिल्लाअन्तर्गत् भोगचलनमा रहेको यी गाउँहरूमध्ये गुञ्जी कुल १८८.९ हेक्टर क्षेत्रफलमा फैलिएको गाउँ हो । यो गाउँमा कुल १९४ घर परिवार छन् । सन् २०११ को भारतीय जनगणना अनुसार त्यहाँको जनसंख्या ३३५ छ ।

यात्रीहरूको लागि गुञ्जीमा अहिले खाना र आवासको व्यवस्था राम्रो छ । गुन्जी पुग्न जोकोहीले पनि धार्चुलामा रहेको सब डिभिजनल मेजिस्ट्रेटबाट ‘इनर लाइन पर्मिट’ लिनुपर्छ । यो पर्मिटका लागि भारत सरकारको आधिकारिक परिचयपत्र आवश्यक हुन्छ ।

गुञ्जीका मानिसहरू हरेक वर्ष हिउँद लागेपछि (नोभेम्बरमा) चार दिन हिँडेर छ महिनाका लागि तलछुवा भन्ने बेँसीमा झर्छन् । बर्खायाममा बस्ने ठाउँमा भारत सरकारले पानीको व्यवस्था गरेको छ । नजिकै कुटियाङ्दी खोला छ । कोही सोही खोलाबाट पानी बोकेर गुजारा गर्छन् ।

एक रिपोर्टअनुसार, गुञ्जीमा कतिपय घर दुईसय वर्ष पुरानासमेत छन् । त्यहाँका महिला चोली र बख्खु लगाउँछन् । पुरुषहरू ज्याकेट र बख्खु लगाउँछन् । गर्मीयाममा अधिकतम १० डिग्री सेल्यिस र हिउँदमा न्यूनतम माइनस २० डिग्रीसेल्सियससम्म तापक्रम हुने गुञ्जीमा एक सिजन मात्र राजमा, केराउ, उवा, जौ लगायतको उब्जनी हुन्छ ।

गुञ्जीबाट १७ किलोमिटर उत्तर–पश्चिममा पर्ने अर्को गाउँ कुटीमा अहिले करिब ११५ वटा प्राचीन शैलीका घर रहेको पिथौरागढ जिल्लाले गरेको जनगणना रिपोर्टमा उल्लेख छ । गुञ्जी र कुटीको रहनसहन–संस्कृति समान छ ।

कुटीलाई पिथौरागढ जिल्लाको धार्चुला ब्लक अन्तर्गतका ७३ गाउँमध्ये एक मान्ने गरिएको छ । कुटीबाट ३५ किलोमिटर पूर्वीदक्षिणी भेगमा पर्ने नाभी (भारतीय चलनमा नाभीदाग) को रहनसहन गुञ्जी र कुटीसँग मिल्छ ।

२०१८ सालको नेपालको जनगणनामा गुञ्जी, कुटी र नाभी क्षेत्रमा खटेका भैरव रिसालका अनुसार त्यसबेला ती तीन गाउँका मानिसको आवतजावत दार्चुला जिल्ला सदरमुकाम खलंगामा बाक्लै थियो ।

अहिले सरकारले ती भूमि नेपालकै हो भन्ने आधारमा गरेको तर्कलाई पुष्टि गर्न २०३५ सालसम्म नेपाललाई त्यहाँका स्थानीयले बुझाएको तिरो समेत एक हो । जसमा तिंकरका रतन बुढा, बुदीका पन्छयौरा बुढा, गव्र्याङका मोहनसिंह बुढा, गुञ्जीका हरिसिंह बुढा र नाभीका हरिकृष्ण बुढाको रसिद सरकारसँग सुरक्षित रहेको बुरा बाहिर आएको छ ।

यसले पनि सांस्कृतिक एवं जातजातिको हिसाबले पनि त्यहाँ रहेका बासिन्दाहरूको नेपालसँगै धेरै साइनो रहेको बताउन सकिन्छ । तर सरकारसँग अहिले त्यहाँ बसोबास गर्ने स्थानीयको विवरणसमेत नहुँदा पनि समस्या सिर्जना भएको इतिहासकारहरू बताउँछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्