सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ, कांग्रेसले घोषणापत्रमा स्थानीय सरकार

आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले आफूले पकिल्पना गरेको स्थानीय सरकार कस्तो हुनेछ भन्ने सार्बजनिक गरेको छ ।

आगामी १० वर्षमा नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने आफ्नो उद्देश्य रहेको भन्दै कांग्रेसले एक दशकसम्म बार्षिक ७ देखि १० प्रतिशतसम्म उच्च आर्थिक बृद्धिदर हाँसिल गर्न हरेक वर्ष ३ देखि ५ लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ ।

यसका लागि स्वेदशी र विदेशी लगानी परिचालन गर्ने कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । घोषणा पत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले भने, ‘यो प्रतिवद्धता पत्र मात्र होइन, कार्यान्वयन गर्न सक्ने संकल्प हो । यो हासिल गर्न सकिन्छ ।’

कांग्रेसले ‘युवा उद्यम चुनौती कोष’ कार्यान्वयनमा ल्याउने बताएको छ । युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउने कांग्रेसले बताएको छ ।

कांग्रेसका अनुसार यो कार्यक्रम अन्तरगत २५ प्रतिशत युवा उद्यमी आफैंले, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता हुनेछ ।

बैदेशिक रोजगारीमा रहेका वा फर्किएका युवाको सीप, दक्षता, पूँजी र विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै भविश्यमा निवृत्तिभरण सरह लाभांस पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार, रेमिट आवास जस्ता योजना स्थानीय तहमै कार्यान्वयन गर्ने कांग्रेसको प्रतिवद्धता छ ।

साथै विदेशमा रहेका नेपालीले गाउँ नगरका आयोजनामा लगानी गर्न चाहे स्थानीय र प्रदेश सरकारले पनि समपूरक कोष प्रदान गर्ने घोषणा पत्रमा छ । यसो गर्दा रेमिट्यान्सबाट एक रुपैयाँ आउँदा प्रदेश र स्थानीय सरकारले पनि एक–एक रुपैयाँ लगानी गर्नेछ ।

कृषक उद्यमीका लागि सुलभ ऋण, भूपयोग योजना, बाह्रै महिना सिंचाई, पशु बधशालाको निर्माण, कृषिबाली एवं पशुधन बीमा र किसान क्लब गठन गरिनेछ ।

सरकारी स्वामित्वमा रहने प्रशोधन केन्द्र स्थापनामा पूँजीगत अनुदान दिने, एक वार्ड एक हाट बजार, विद्युतको प्रसारण लाइन निर्माणमा अनुदान दिइने जस्ता प्रतिवद्धता पनि कांग्रेसले आफ्नो घोषणा पत्रमा समेटेको छ ।

कांग्रेसले महानगरहरुमा फ्लाइओभर, टनेल मार्ग र आकाशेपुलका साथै सम्भाव्य स्थलमा मोनो रेल निर्माण गर्ने योजना अघि सारेको छ । साथै अन्य स्थानीय तहलाई पनि पर्यटनको आकर्षण स्थलका रुपमा विकास गर्ने बताएको छ ।

स्थानीय सरकारहरुले विशिष्ट पर्यटन क्षेत्र पहिचान गर्ने, ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आयको आधार बनाउने, पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलमा लगानीकर्ता भित्र्याउने, परम्परागत भौतिक संरचनालाई मौलिक एवं वुटिकका आवासमा परिर्वतन गर्न प्रोत्साहन गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले केन्द्र र प्रदेशमाथिको निर्भरता घटाउँदै स्थानीय राजश्वको आधार फराकिलो बनाउने बताएको छ । ‘उद्यमीलाई दोहोर करको भार नपार्ने मात्र होइन, करको भार पनि न्यूनतम हुने गरी नीति ल्याइनेछ, उसले भनेको छ ।

करको प्रशासनिक प्रक्रिया सरल गर्ने, सम्पत्ति, व्यवसाय, विज्ञापन, घर बहाल, मनोरञ्जन कर जस्ता स्थानीय आम्दानीका स्रोतको अभिलेख राख्ने र सूचना प्रविधिको प्रयोग गरेर पारदर्शी बनाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन र नागरिक रिपोर्ट कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउने विधि अपनाइने उसले बताएको छ ।

प्रदेश र स्थानीय तहलाई ६०० अर्ब बजेट
कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा सोझै पठाउने प्रतिवद्धता जनाएको छ । यो आगामी आर्थिक वर्षमा नै करिव ६०० अर्ब हुने उसले बताएको छ । स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजना छनोट र निर्माण प्रभावकारी बनाउने, महत्वपूर्ण स्थानीय परियोजानामा बहुवर्षीय बजेटको प्रतिवद्धता गरिने समेत बताएको छ ।

उसले घोषणा पत्रमा नै स्थानीय सरकारले परियोजना सुरु गर्दा खोजिने आधार पेश गरेको छ, जसमा रणनीतिक, विकास, वित्तीय, प्राविधिक र व्यवस्थापकीय छन् ।

कांग्रेसले १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई ३ प्रतिशतभन्दा तल झार्ने कांग्रेसको संकल्प छ ।

कांग्रेसले कुनै पनि नेपाली नागरिक नछुट्ने गरी सामाजिक सुरक्षा कार्यक्रम बनाउने बताएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवीको न्यूनतम ज्याला निर्धारणमा स्थानीय सरकारले सहजीकरण गर्ने कांग्रेसको बाँचा छ ।

कांग्रेसले स्थानीय सरकारको ५ वर्षभित्र १५ देखि २४ वर्ष उमेर समूहका सबै नेपालीलाई साक्षर बनाउने बताएको छ । साथै माध्यामिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा बनाउने घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले १२ कक्षाको अन्तिम परीक्षामा सहभागी एक लाख युवालाई तरुण सीववृत्ति योजना अन्तरगत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाउने बाँचा गरेको छ । सामुदायिक आवासीय विद्यालय निर्माण गर्ने र त्यहाँ अति विपन्न वालवालिकाको सबै खर्च व्यहार्ने कांग्रेसको योजना छ ।

कांग्रेसले एक विपन्न परिवारः सीप सिकाई केन्द्रमा एक निःशुल्क अवसर, पुराना शिक्षकलाई स्वेच्छिक अवकास दिई नयाँ भर्ना गर्न शिक्षक रुपान्तरण योजना चलाउने बताएको छ । एक वार्ड–एक लाइव्रेरी, एक वार्ड–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्र, एक टोल–एक शिशु विकास केन्द्र, सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण जस्ता नारा पनि अघि सारेको छ ।

हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल
कांग्रेसले आफ्नो घोषणा पत्रमा प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल, नगरपालिकामा २५ देखि ५० शैयाको अस्पताल स्थापनाको प्रतिबद्धता जनाएको छ । निःशुल्क डायलासिस र महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय स्तरसम्म विस्तार गर्ने पनि उसको प्रतिवद्धता छ ।

कांग्रेसले सबै गाविसमा स्वास्थ्य संस्था स्थापना गर्ने र प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताएको छ । प्रत्येक नागरिकको स्वास्थ्य विमा, विशिष्ट चिकित्सा पर्यटन, एक विपन्न परिवारः पानीको एक निःशुल्क धारा, स्थानीय तहसम्म सुुत्केरी भएको २ वर्षसम्म पोषण कुपन नारा पनि दिएको छ ।

कांग्रेसले घोषणा पत्रमा सामाजिक सुरक्षामा उल्लेख्य बृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिवद्धता छ । साथै हरेक गाउँपालिकामा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने बताएको छ ।

१० वर्षभित्र शिशु मृत्यु दरलाई ५ वर्षभन्दा कम र मातृ मृत्युदरलाई प्रति एकलाखमा ५० भन्दा कममा झार्ने अठोट गरिएको घोषणा पत्रमा उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्